३३औं समर ओलम्पिक आजबाट

266
Shares

काठमाडौं ।

विश्व खेलकुदको महाकुम्भ अर्थात् ओलम्पिक गेम्सको ३३औं संस्करणको औपचारिक उद्घाटन नेपाली समयअनुसार शुक्रबार राति हुृँदैंछ । फ्रान्सको राजधानी पेरिसस्थित सेन्ट डेनिसअवस्थित स्टेट डि फ्रान्स स्टेडियममा नेपाली समयअनुसार पौने १२ बजेबाट ओलम्पिकको औपचारिक उद्घाटनका कार्यक्रमहरु सुरु हुनेछ।

१ सय वर्षपछि पुनःपेरिसमा नै ओलम्पिकको आयोजना हुन लागेको हो । योसँगै पेरिस समर ओलम्पिक तीन पटक आयोजना गर्ने लन्डनपछिको दोस्रो सहर बनेको छ । यसअघि सन १९०० र १९२४ मा गरी पेरिसले दुई पटक ओलम्पिक आयोजना गरेको थियो ।

पेरिस ओलम्पिक खेलको नारा “मेड फर सेयरिङ्ग” राखिएको छ । अर्थात् यसले खुलापन, समावेशीता, र एकताको विचारलाई दर्शाउँछ, जसले खेल र सांस्कृतिक विनिमयको माध्यमबाट व्यक्तिहरूलाई एकत्रित तुल्याउने लक्ष्य लिएको छ । यसले खेल समुदायभित्रका अनुभव, भावना, र मूल्यहरू बाँड्नु पर्छ भन्ने विषयलाई महत्व दिइएको छ ।

पेरिस ओलम्पिकमा गोल्ड र सिल्भर गरी समान ३२४ मेडल रहेका छन् । त्यस्तै ३८५ ब्रन्ज मेडलसहित कुल १०३३ मेडलका लागि विश्वका २०६ राष्ट्रका १० हजारभन्दा बढी खेलाडीले विभिन्न ३२ खेलका ३२९ इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछन् । ओलम्पिकको इतिहासमा पहिलो पटक उद्घाटनका कार्यक्रमहरु स्टेडियमबाहिर गर्न लागिएको छ । स्टेडियमबाहिर शहरको विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमहरू, साहित्यिक प्रस्तुतिहरू, राष्ट्रिय नृत्य र अन्य कार्यक्रमहरू आयोजना गरिनेछन् ।

उद्घाटन समारोहमा हलिउड एक्टर, सिंगर र लिरिक लेडी गागा, सेलिन डियोन, दुआ लिपा, एरियाना ग्रान्डे, फ्रेन्च सिंगर आया नाकामुरालगायत अन्य नाम गोप्य राखिएका आर्टिस्टहरुले लाइभ स्टेज परफर्मेन्स गर्नेछन् ।

आयोजकले पेरिस ओलम्पिकको ओपनिङ सेरोमनी खेल इतिहासकै सबैभन्दा ठूलो हुने दावी गरेको छ । ओपनिङ सेरोमनी नदीमा गरिने बताइएको छ । जहाँ प्रत्येक राष्ट्रका प्रतिनिधित्वहरुको आगमन डुङ्गामार्फत् हुनेछ । ती डुङ्गामा बस्नेहरूलाई टेलिभिजन र अनलाइन दर्शकहरूले नजिकबाट हेर्न पर्याप्त क्यामेरा जडान गरिएको छ । कार्यक्रमहरु शेन नदीको पूर्वदेखि पश्चिमसम्मको ६ किलोमिटरको दूरीमा गरिनेछ । समारोह अस्टर्लित्ज पुलबाट शुरू हुनेछ । प्रदर्शनीले शहरको इले सेन्ट लुइ र इले द ला सिटी पार गर्नेछ । समारोहको अन्त्य ट्रोकाडेरोमा हुनेछ ।

ओपनिङ सेरोमनीमा विश्वका केही देशका नेताहरु पनि उपस्थित हुँदैछन् । फ्रान्सको परराष्ट्र मन्त्रालयले विश्वका १२० देशका राष्ट्रप्रमुखहरु ओपनिङ सेरोमनीमा उपस्थित हुनसक्ने जनायो । त्यस्तै, विभिन्न १६० देशका खेलमन्त्री उक्त सेरोमनीमा उपस्थित हुनेछन् । जसमा नेपालका खेलमन्त्री तेजुलाल चौधरीले पनि भाग लिनुहुने जनाएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण रसिया र बेलारूसका प्लेयर्स भने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झन्डामुनि मार्चपास गर्नेछन् । उक्त ओपनिङ सेरोमनीकोे मार्चपासमा नेपालको झण्डा भने टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रुपमा बोक्नेछन् ।

ओलम्पिकमा नेपाल
—नेपालले सन् १९६४ मा जापानको राजधानी टोकियोमा सम्पन्न १८औं समर ओलम्पिकमा औपचारिक रुपमा पहिलोपटक सहभागिता जनाएको हो।

—सन् १९६४ मा जापानको टोकियोमा भएको ओलम्पिकमा डेब्यु गरेको नेपालले १९६८ मा बाहेक लगातार प्रतिस्पर्धा गर्दै आएको छ । नेपालले ओलम्पिकमा सहभागिता जनाएको ६ दशक भइसकेको छ।

—नेपालले सन् १९५२ को हेलसिन्की ओलिम्पिकमा पहिलोपटक भाग लिएको अपुष्ट कुरा चर्चामा आउने गरेको छ । जसमा कृष्णबहादुर बर्मा र नरशमशेर जबराले सहभागिता जनाएको भनिन्छ।

—सन् १९६० को रोम ओलम्पिकमा पनि नेपालबाट एकजना पर्यवेक्षकलाई पठाइएको भनिन्छ । तर यी दुवै ओलम्पिकमा नेपाल सहभागी भएको कुरालाई पुष्टि गर्ने आधार भने भेटिँदैन।

—सन् १९६२ मा नेपालमा ओलम्पिक कमिटीको गठन भएको थियो । सन् १९६३ को नोभेम्बर १ मा अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । त्यसपछि ओलम्पिकमा नेपालको यात्रा सुरु भएको हो।

—सन् १९६४ मा टोकियोमा सम्पन्न भएको १८औं ओलम्पिकमा नेपालबाट ६ जना खेलाडीले सहभागिता जनाएका थिए । तीमध्ये नेपाली सेनाबाट म्याराथन धावकहरु भुपेन्द्रबहादुर सिलवाल र गंगाबहादुर थापा थिए।

—चार जना बक्सरहरू सबै ब्रिटिस सेनामा कार्यरत नेपालीहरु थिए। जसमा भीमबहादुर गुरुङ, नामिसिंह थापा, ओमप्रसाद पुन र रामप्रसाद गुरुङ थिए । उनीहरु हङकङबाट टोकियो गए र टोकियोबाट हङकङ नै फर्किएका थिए।

—त्यतिबेला ओलम्पिक प्रतियोगितामा नेपालले औपचारिक रुपमा पहिलोपटक सहभागिता जनाएको अवसरमा नेपाल सरकारले हुलाक टिकट समेत जारी गरेको थियो।

—अहिलेसम्म नेपालबाट करिब १०० खेलाडीले प्रतिस्पर्धा गरे पनि कुनै पदक जित्न नसकेको तथ्याङ्क रहेको छ । सन् १९६४ यता नेपालले अहिलेसम्म १३ पटक ओलम्पिकमा सहभागिता जनाइसकेको छ । आसन्न ओलम्पिक भने नेपालको १४औं सहभागिता हो।

—सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सोलमा सम्पन्न ओलम्पिकमा नेपालका विधान लामाले पदक जितेका थिए । तर, त्यो बेला तेक्वान्दोलाई प्रदर्शनी खेलमा राखिएकोले उनको पदकले मान्यता पाएन।

— त्यसयता सन् २००४ को एथेन्स ओलम्पिकमा नेपालबाट चर्चित तेक्वान्दो खेलाडी संगीना वैद्यले खुला प्रतिस्पर्धामार्फत छनोट भएर पहिलोपटक ओलम्पिक खेल्ने इतिहास रचेकी थिइन्।

—नेपालबाट सन् १९८८ को सोल ओलम्पिकमा सबैभन्दा बढी १८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यस्तै सन् १९७६ को मोन्ट्रेल ओलम्पिकमा भने एक जना मात्र सहभागी थिए ।

—नेपालका लागि ओलम्पिकमा सबैभन्दा बढी सहभागिता म्याराथन धावक वैकुण्ठ मानन्धरले गरे । उनले लगातार चार पटक ओलम्पिकमा प्रतिस्पर्धा गरे। उनले १९७६ मोन्ट्रेल ओलम्पिकदेखि १९८८ सोल ओलम्पिकसम्म प्रतिस्पर्धा गरेका थिए । सन् १९७६ ओलम्पिकमा सहभागी हुने उनी एक्लो नेपाली खेलाडी थिए।

—हरिबहादुर रोकाया तथा स्विमिङका प्रसिद्धजंग शाह र गौरिका सिंहले दुई–दुई पटक ओलम्पिकमा सहभागिता जनाए। यसमा अर्का स्विमर अलेक्जेण्डर शाहको नाम पनि पेरिस ओलम्पिकमा सहभागिता जनाउने भएपछि अटियो।

—हरिबहादुर सन् १९८८ को सोल ओलम्पिकमा एथ्लेटिक्सतर्फ मध्यम दूरीको ३ इभेन्ट्समा र सन् १९९२ को बार्सिलोना ओलम्पिकमा म्याराथनमा दौडिएका थिए।

—प्रसिद्धले २००८ को बेइजिङ र २०१२ को लन्डन ओलम्पिकमा सहभागिता जनाए भने गौरिकाले २०१६ को रियो र २०२१ को टोकियो ओलम्पिकमा भाग लिएका थिए। एलेक्जेण्डरले २०२१ टोकियो र २०२४ पेरिस ओलम्पिकमा सहभागिता जनाए।

यसपटक ७ नेपाली खेलाडी
पेरिस ओलम्पिकमा खेल्ने नेपालका ७ खेलाडी
प्रिन्स दाहाल (ब्याडमिन्टन)
सन्तोषी श्रेष्ठ (एथ्लेटिक्स)
अलेक्जेण्डर शाह (स्विमिङ)
डुवाना लामा (स्विमिङ)
मनिता श्रेष्ठ प्रधान (जुडो)
सुस्मिता नेपाल (शूटिङ)
श्यान्टू श्रेष्ठ (टेबलटेनिस)