पुस्तक चर्चा : बाहिर–बाहिर अग्निज्वाला भित्र-भित्र शीतलता

2.26k
Shares

सामाजिक, सांस्कृतिक एवम् राजनीतिकरूपमा संसारभर फरकरूपमा देखा परेको राज्य हो उत्तरकोरिया । शासकीय प्रणालीभन्दा शासकीय व्यवहार र स्वरूपले उत्तरकोरिया संसारभर आफ्नो पहिचानको आफैँ प्रचार गरिरहेको छ । आज यस शृङ्खलामा कवि रामप्रसाद ज्ञवालीद्वारा रचित यात्रा महाकाव्य स्वप्नदृष्टिमा वर्णन गरिएको उत्तरकोरियाको सामाजिक, सांस्कृतिक पक्षलाई केलाउने प्रयास गरिएको छ ।

प्रथमतः कवि ज्ञवालीको सिर्जनाको कुरा गरौँ । प्रस्तुत यात्रा महाकाव्यको भूमिकामा डा. महादेव अवस्थीले २६ पृष्ठ लामो मन्तव्य राख्नुभएको छ । जसमा स्वप्नदृष्टिलाई नेपाली साहित्यमा चर्चामा रहेका लोकप्रिय अरू सातवटा महाकाव्यसँग ६ वटा मापक तत्वद्वारा मापन गरिएको छ । मापनमा स्वप्नदृष्टि समान हुन आउने रोचक प्रसंग राखिएको छ। यस विषयमा म धेरै भन्न चाहन्न। कवि ज्ञवालीभित्र भाषाशिल्प, काव्यिक चिन्तन, सामाजिक प्रवृत्तिको यथार्थ मूल्यांकन गर्न सक्ने अथाह क्षमता अवश्य नै छ। उनी नेपाली महाकाव्य जगत्का वर्तमान समयमा एक महारथी नै हुन्।

तथापि सातवटा महाकाव्यअन्तर्गत देवकोटाको शाकुन्तल र प्रमिथस, बालकृष्ण समको चिसो चुल्हो तथा लेखनाथ पौड्यालको तरुण–तपसीसँगसँगै आदर्श–राघव, रामायण र मृत्युञ्जय महाकाव्यसँग सर्गबद्धता, आख्यानयोजना, भावविधान, लयविधान, भाषाशैली र शिल्प गरी ६ वटा मापक तत्वद्वारा आपसमा तुलना गरिएको छ । शाकुन्तल त देवकोटाको मौलिक कृति पटक्कै होइन । यो शकुन्तलामाथिको भावानुवाद हो।

तथापि शाकुन्तलभित्रको स्वैरकल्पना समानको कल्पनशीलता मैले कुनै नेपाली महाकाव्यमा भेटेको छैन र त्यस प्रकारको स्वैरकल्पना ज्ञवालीको स्वप्नदृष्टिभित्र पनि भेटिएन। अब थप कुरा स्वप्नदृष्टिकै गरौँ । वि.सं. २०४२ मा कविताबाट साहित्य यात्रा आरम्भ गर्नुभएका ज्ञवालीको पहिलो महाकाव्य औँसीका फूलहरू (२०५३) हो । यसको २१ वर्षपछि उनको स्वप्नदृष्टि (२०७४) प्रकाशन भएको थियो । यसैले स्वप्नदृष्टि भाषाशिल्पगतरूपले निखारिएको महाकाव्य हो । व्याकरण, रस, भावविधान, गुण–दोषका मामलामा दख्खल राख्ने ज्ञवाली नेपाली महाकाव्य क्षेत्रमा धरोहरका रूपमा स्थापित छन् । प्रस्तुत स्वप्नदृष्टि महाकाव्यको पहिलो सर्गमै कवि ज्ञवालीले भनेका छन्–

‘मान्छेको जिन्दगी मैले कवितामा कहाँ भरेँ
‘निम्छरा’ कविता लेखी दम्भ मात्रै ठूलो गरेँ । (पृष्ठ–४२)

यसबाट के स्पष्ट हुन्छ भने, साहित्यमा ज्ञवाली कत्ति पनि बनावटी छैनन् । बरू उनी आत्मस्वीकारोक्तिका साथ प्रस्तुत भएका छन् । वर्तमान परिवेशमा आम मानव मन–मस्तिष्कमा निराशापनले स्थान बनाउनु, हामी साहित्यकारको सिर्जनाले त्यस निराशालाई मेटाउन नसक्नु हामीले सिर्जना गरेको साहित्य कमजोर बन्नु हो । यस प्रकारले आत्मसमीक्षा गर्न सक्नु पनि महानता नै हो । यसर्थ ज्ञवाली आफ्नो सिर्जनाप्रति सचेत छन् ।

काव्य चिन्तन र चित्रणमा चलाख ज्ञवालीले कोरियाली जनताको स्वअनुशासनका विषयलाई लिएर बेलाबेलामा आफैँलाई प्रश्न गरेका छन् । उनी त्यहाँको विकास देखेर चकमन्न प्रभासमा हराएका छन् । कोरियामा गगनचुम्बी महलहरूका भित्री र बाहिरी सजावट मात्रले होइन, सडकभरिका कलाकारिताले समेत त्यहाँको छुट्टै पहिचान दिलाएको छ । उसो त यस यात्राकाव्यमा कविको चीन भ्रमणको विषयले पनि स्थान पाएको छ । तिब्बतमा देवकोटाको शालिकसँगको साक्षात्कारले कवि हृदयमा एउटा सुनौलो बिहानी ल्याइदिएको छ । चीन र तिब्बतीयन संस्कृतिका पनि थुप्रै विषयहरू काव्यमा समेटिएका छन् । तथापि म विशेष

कोरियाको अग्निरेखातर्फ प्रवेश गर्दछु ।
शत्रुबाट सयौँपल्ट बन्दा पनि छिया–छिया
आत्माभिमानका साथ बाँच्छ सायद ’कोरिया’ । (पृष्ठ १३५)

प्रस्तुत श्लोकबाट बुझ्न सकिन्छ कि उत्तरकोरिया कति सहनशील छ ? उसले कति दुःख सहेको छ । सहन गर्ने क्षमताको विकास उसमा कसरी भएको हो ? सहन र प्रतिकार गर्ने विषयमा कोरियाली संस्कृति कस्तो छ ? यी विविध प्रश्नहरूको जवाफ यसै काव्यभित्र छ । जसबाट प्रस्ट हुन्छ, कोरियाले राष्ट्र निर्माणको संकल्प हरक्षण बोकेको छ ।

विश्व साम्राज्यवादको अग्निरेखाभित्र मुर्मुरिएको कोरियाले पछिल्लो तीन दशकमा जसरी आफूलाई विश्वको शक्तिशाली राष्ट्र बनाएको छ, यस्तो राष्ट्र निर्माणमा सम्पूर्ण कोरियाली जनताको पसिना मुछिएको छ । देश एउटा शासक वा प्रशासनिक अधिकारीले बनाएर बन्ने कुरा होइन । यो कोरा शब्दको भाषणले बन्दैन । मेहनतले सिञ्चिएर बौद्धिकताको प्रस्फुटनमा संस्कृतिको मिलनसँग उन्नतिको धागो जोडिएपछि देश महान् बन्छ ।

त्यहाँको बस्ती विकासको कुरा गर्ने हो भने, नेपालमा जस्तो घरैमाथि घर खप्टिएका छैनन् । बरू त्यहाँ सबै घरहरूका बीचमा समान तरहको जमिन खुल्ला छ, जसले वातावरणीय सन्तुलन कायम गरेको छ। बाहिरीबाट हेर्दा उत्तरकोरियालाई आणविक हतियारले भरिपूर्ण देश भनेर संज्ञा दिइन्छ तर त्यहाँ हतियारभन्दा बढी सहनशीलताले स्थान पाएको देखिन्छ। समाचारमाध्यममा आएको उत्तरकोरिया र वास्तविक उत्तरकोरियाबीचमा कतिसम्मको अन्तर छ भन्ने कुरा यो काव्य पढेपछि थाहा पाइन्छ।
कविका अनुसार त्यहाँ कोही नाङ्गो देखिन्न । धनी र गरिबबीचको खाडल नाङ्गा आँखाले देख्नै सकिन्न। त्यहाँ स्वअनुशासनको महत्व छ। कोही उन्मत्त छैन, कोही निराश छैन। सब समान छन् । यसर्थ प्रजातन्त्रको सबलरूपमा सामाजिक एवम् व्यावहारिक अभ्यास त कोरियामा पो भएको छ। राजनीतिक संस्कृति पनि कोरियामा हाम्रो भन्दा धेरै फरक छ । काव्यमा लेखिएको छ–
अधिकारीसँगै बस्थे मञ्चमा ‘किम जोङ उन्’
जयकार थियो चर्को चाहन्थे उनैले सुनून् । (पृष्ठ १४३)

यसबाट के बुझिन्छ भने, उत्तरकोरियाली शासक किम जोङ उन् मञ्च तथा सभा–सम्मेलनमा साधारण तवरले आऊ–जाऊ गर्दछन् । उनी जनतासँगै साधारण बनेर हिँड्छन् । उनको हिँडाइमा कुनै रवाफ छैन । उनी नागरिकसँग खेतबारी, लेकबेसी मज्जाले गर्दछन् । उनलाई नागरिकसँग कुनै भय छैन । उनी प्रशासनिक अधिकारीहरूजस्तै नागरिकसँग फेस टु फेस कुराकानी गर्दछन् । खानपिन गर्दछन् । त्यहाँ कानुनतः पाउने सेवा–सुविधामा बाहेक दैनिक जीवनयापनमा शासक र शासितबीच खासै भिन्नता देखिँदैन । किमको जुन हदसम्मको जयजयकार मञ्चहरूमा हुन्छ त्यो असाधारण देखिन्छ ।

बाहिरी शक्तिहरूले जसरी उत्तरकोरियालाई चारैतिरबाट घेरेर परिबन्दमा राख्ने कोशिश गरेका छन्, यसले भित्रीरूपमा कुनै प्रभाव पार्न सकेको छैन । नागरिक चैनसँग खेलिरहेका छन् । विश्व साम्राज्यवादको अग्निरेखाभित्र मुर्मुरिएको कोरियाले पछिल्लो तीन दशकमा जसरी आफूलाई विश्वको शक्तिशाली राष्ट्र बनाएको छ, यस्तो राष्ट्र निर्माणमा सम्पूर्ण कोरियाली जनताको पसिना मुछिएको छ । देश एउटा शासक वा प्रशासनिक अधिकारीले बनाएर बन्ने कुरा होइन । यो कोरा शब्दको भाषणले बन्दैन । मेहनतले सिञ्चिएर बौद्धिकताको प्रस्फुटनमा संस्कृतिको मिलनसँग उन्नतिको धागो जोडिएपछि देश महान् बन्छ । गर्व गर्नयुक्त शोभायमान बन्छ । देश समृद्ध बन्नमा संस्कृतिको ठूलो योगदान रहन्छ । त्यो कुरा उत्तरकोरियाले प्रस्ट्याएको छ । बाहिरी आक्रमणहरूलाई सहन गर्दै आफ्नो भित्री शक्ति मात्र नभई देश निर्माणको सबल संस्कृति निर्माण गरेको उत्तरकोरियाले आज आफूलाई जुन स्तरमा पुर्‍याएको छ, यो ज्यादै प्रशंसनीय छ ।

समग्रमा स्वप्नदृष्टि महाकाव्य एउटा आशा जगाउन सक्ने यात्राकाव्य हो । प्रस्तुत काव्यको शीर्षक कविको स्वप्नबाट लिइए तापनि यसले प्रतिकात्मक भूमिका खेलेको छ, जुन सुन्दर पक्ष हो । काव्यका विषयमा धेरथोर बोलिसकेपछि म एउटा विषय के थप्न चाहन्छु भने, ज्ञवालीमा असाधारण काव्यिक क्षमता छ । उनी संस्कृत काव्यबाट बहुत प्रभावित देखिन्छन् । त्यो उनको रस लेपनमा पनि देखिन्छ । तथापि जुन किसिमको चिन्ता, चिन्तन र चित्रण काव्यमा छ, त्यो तरहको चैतन्यानन्द पटक्कै छैन । उनी तटस्थ छन् । तर आफ्नो बौद्धिकताको भरपूर प्रयोग गर्न चुकेका छन्।

आत्मस्वीकारोक्तिका साथ याचना गर्न तयार छन् । यद्यपि काव्यको सामथ्र्य देखाउन तयार छैनन् । उनी आफूलाई प्रश्न गर्छन् तर स्वैरकल्पनासँग इतिहास जोड्न सकिरहेका छैनन् । ज्ञवालीको यो यात्रा महाकाव्यमा मोहछुट छ । उनको लेखनमा जुन किसिमको तटस्थताभित्रको इमानले स्थान पाएको छ, यो विरलै काव्यमा पाइन्छ ।