परीक्षणबिनै भान्सामा पुग्छ तरकारी !

266
Shares

–गोडभेंडा, भेडे खोर्सानी, बोडी, भान्टामा अत्यधिक विषादी
–मुला, कटहर, स्कुसको जरा तथा फल, तरुल, पाकेको फर्सीमा विषादी हुँदैन
–तरकारी बजारबाट उपभोक्ताको भान्सामा पुगेपछि परीक्षण हुने
–विषादी तरकारीले ब्लडप्रेसर, सुगर, क्यान्सर, मुटुको रोग, दमजस्ता दीर्घ रोग लाग्ने

काठमाडौं ।
भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूल परीक्षणबिनै आउने गरेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारीको लापरबाही, जनशक्तिको अभाव तथा आर्थिक मिलेमतोका कारण परीक्षणबिनै तरकारी तथा फलफूल भित्रिने गरेको हो ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले भारतबाट नेपाल आउने १२ ओटा नाकामा परीक्षण गर्ने व्यवस्था भए पनि खान अयोग्य भई भारततिरै फिर्ता गरेको तथ्यांक नभएको बताउनुभयो । उहाँले नाकामा परीक्षण गर्न कर्मचारी अभाव भएका कारण केही समस्या रहेको स्वीकार गर्नुभयो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा ३० वर्षदेखि होलसेल तरकारी व्यापारी भगवानचन्द्र उप्रेतीले बजारमा स्याउ, आँप, केरा, करेला, भान्टा, काउली, बन्दा, भिन्डी, आलु, गोलभेंडा जस्ता तरकारी तथा फलफूलमा अत्यधिक विषादी प्रयोग हुने गरिएको बताउनुभयो । फलफूल तथा तरकारीमा विषादी रहेको थाहा पाएर आफूले नखाने गरेको उप्रेतीले बताउनुभयो । स्वदेश तथा विदेशमा उत्पादन गरेका सबैजसो तरकारी तथा फलफूलमा विषादी अत्यधिक प्रयोग गरिएको उहाँको भनाइ थियो ।

त्यसै गरी काठमाडौं शंखमूल बस्ने धीरज शाक्यले कालीमाटीबाट ५ किलो मालदह आँप किनेर ल्याई खाँदा पखाला लाग्ने, जिउ दुख्ने, पेट दुख्ने गरेको बताउनुभयो । उहाँले विषादीको प्रयोग भएको आँप खाएका कारण बिरामीजस्तो भएको बताउनुभयो ।
त्यसै गरी सर्लाही घर भई नयाँ बानेश्वर बस्ने सीता थापाले तीनकुनेमा रहेको तरकारी बजारबाट गोलभेडा ल्याई खाँदा वाकवाक लाग्ने, कब्जियत हुने, वान्ता होलाजस्तो हुने भएको बताउनुभयो । यस्ता थुप्रै उपभोक्तालाई समस्या हुने गरे पनि आफूलाई के कारणले भएको भन्ने थाहा नहुँदा समस्या लुकाएर बस्ने गरेका छन् ।

विषादी परीक्षण झारा टार्ने काम
उपत्यकाको सबैभन्दा ठूलो तरकारी बजारमा परीक्षणको नाममा झारा टार्ने काममात्र हुने गरेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको कार्यालय बन्द भएपछि बेलुका ठूला व्यापारीले तरकारी ल्याउने र बिहान ३ बजेदेखि ५ बजेसम्ममा कालीमाटीका होलसेल पसलबाट काठमाडौंका साना किराना पसलमा ७५ प्रतिशत तरकारी पुगी सक्ने गरेको पाइएको छ।

बजारमा तरकारी पुगिसकेपछि मात्र बिहान ८ बजेपछि समितिका कर्मचारी आई केही पसलको तरकारीको नमुना लिई परीक्षण गर्ने गरेको कालीमाटीका व्यापार गरिरहेका व्यापारीले नै बताएका छन् ।

यस विषयमा समितिका कार्यकारी निर्देशक महादेवप्रसाद पौडेलले पनि कार्यालयमा सीमित कर्मचारी र शुरूदेखि नै यसैअनुसार कार्य भइरहेको हुनाले बिहान मात्र परीक्षण गर्ने गरिएको बताउनुभयो । विभागले गत आर्थिक वर्षमा १ हजार ६ सय ३७ पटक विषादी परीक्षण भएकोमा खान नहुने १२ ओटा खान नहुने फेला पारेको जनाएको छ । यो परीक्षणअनुसारको एकदमै न्यून हो ।

बालाजु, बिर्तामोड, धरान, ढल्केबर, लालबन्दी, सिन्धुली, कावासोती, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत, अत्तरियालगायत २४ ओटा ठाउँमा सरकारी तरकारी बजार छन् । जसमा बिर्तामोड, धरान, लालबन्दी, पोखरा, बुटवल, सुर्खेतमा मात्र विषादी परीक्षण गरिने गरिएको छ ।

निजीमा परीक्षण नै हुँदैन

सरकारले सञ्चालन गरेको तरकारी बजारमा केही मात्रामा भए पनि परीक्षणको व्यवस्था गरे पनि निजी क्षेत्रले सञ्चालन गरेको तरकारी बजारमा विषादी परीक्षण नै हुँदैन । १ हजार ७ सयको हाराहारीमा सरकारी तथा निजी क्षेत्रले तरकारी बजार सञ्चालन गरेका छन् । उपत्यकामा मात्र सुन्दरीघाट, चाबहिल, जडीबुटी, सल्लाघारी, एकान्तकुना, बानेश्वर, तीनकुने, बल्खु, धुम्बाराही, लगनखेल, टुकुचा र बाइपासलगायत ठाउँमा निजी क्षेत्रले बजार सञ्चालन गरिरहेका छन् ।

सरकारी बजारमा तरकारी बेच्दा जोखिम हुने ठूला तरकारी व्यापारीले निजी बजारमा बेच्ने गरेका छन् । अहिलेको सरकारी संरचनाअनुसार मानौं बनेपामा उत्पादन भएको कुनै एक अत्यधिक विषादी मिसिएको तरकारी कालीमाटी नपुगी तीनकुनेको तरकारी बजारमा पुग्यो भने त्यसमा विषादी परीक्षण भए वा नभएको सर्वसाधारणले छुट्याउन सक्ने अवस्था हुँदैन । सर्वसाधारणले प्रयोग गर्ने तरकारी तथा फलफूलमा विषादी परीक्षण भएको कुनै प्रमाण नहुने भएकाले स्वदेशी तथा विदेशी तरकारी र फलफूल विष सेवन गरेभन्दा कम छैन ।

विषादीको मापदण्ड
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार ४५ प्रतिशतभन्दा धेरै मात्रामा विषादी अवशेष प्रयोग भएको तरकारी तथा फलफूल स्वास्थ्यका दृष्टिकोणले प्रयोग गर्न अयोग्य मानिन्छ ।

यस्तै, ३५ देखि ४५ प्रतिशतबीचको मात्रामा विषादी भेटिएको तरकारी तथा फलफूल केही दिन कुरेर मात्रै प्रयोग गर्न सकिने र शून्यदेखि ३५ प्रतिशतसम्म विषादी मिसाइएको तरकारी तथा फलफूल प्रयोग गर्न तथा बिक्री वतरणका लागि योग्य मानिने गरेको छ ।
विषादी प्रयोगको असर
रक्तचाप एउटा निश्चित उमेर पूरा भएपछि लाग्ने मानिन्थ्यो, अहिले २१–२२ वर्षका युवाहरू प्रेसरको औषधि खानुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीले बताएका छन् । सुगर नहुने पारिवारिक सदस्य भएको घर भेट्न गाह्रो छ।

क्यान्सर, मुटुको रोग, दम हुनका लागि मानिसले चुरोट खानुपरेन हरियो सागपात र फलफूल खाए भयो। बिरामी हुँदा खानुपर्ने फलफूल र तरकारीले नै रोग निम्त्याउने भएको छ।