सँगै सिटका पाइलट बाँच्दा को-पाइलट रहेनन्

18.7k
Shares

काठमाडौं ।

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको पाइलट बाँच्दा को–पाइलट बाँच्न सकेनन् । सँगै सिटमा रहेका पाइलट मनिषरत्न शाक्य घाइते हुँदा को–पाइलट सुशान्त कटवालको मृत्यु भएको हो । बुधबार बिहान ११ः११ बजे पोखराका लागि उडेको जहाज केही सकेन्डमै दुर्घटना भएको थियो ।

धावनमार्ग छाडेर पिकअप लिएको जहाज दाहिने मोडिँदै जमिनतिरै खसेर विमानस्थलको रनवेको पूर्वतर्फ रहेको हेलिकोप्टर मर्मत तथा पार्किङ क्षेत्रमा रोकिराखेको सी–कन्टेनरमा ठोक्किएर दुई टुक्रा भएको थियो ।

विमानको ककपिट कन्टेरमा अड्किएको थियो भने बाँकी भाग उछिट्टिएर सय मिटर टाढाको खाली जमिनमा पुगेको थियो। जमिन छुनासाथ विमानमा आगो दन्किसकेको विमानस्थलका यात्रु, सुरक्षाकर्मी र कर्मचारीले प्रत्यक्ष देखेको बताएका छन्। दुर्घटनास्थल नजिकै रहेको नेपाली सेनाको बम डिस्पोजल युनिटलेतत्काल घटनास्थलमा पुग्दा करिब सयमिटर टाढा रहेको कन्टेरमा अड्किएको ककपिट नजिकैबाट एक जना मान्छेले इसारा गरिरहेको सेनाको टोलीले देखेर उद्दार गरेको थियो।

जुन व्यक्ति पाइलट थिए । तर, उनको छेउमै रहेका को–पाइलट कटवाललाई सेनाको उक्त टोलीले समेत जोगाउन सकेन । नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीका अनुसार ककपिटबाहिर रगताम्मे अवस्थामा रहेका पाइलटलाई केही मिनेटमै सेनाको टोलीले उद्धार गर्न सफल भएको बताएको छ ।

बोल्न नसक्ने अवस्थामा अत्तालिइरहेका पाइलट शाक्यले ककपिटमा अरू दुई जना पनि रहेको इशारा गरे पनि आगो दन्किरहेकाले अरूको उद्धार गर्न असमर्थ भएको केसीले बताउनुभयो। आगो नियन्त्रणमा लिएर त्यहाँ रहेका दुई जनालाई बाहिर निकाल्दा उनीहरू भने जीवित नभएको केसीले जानकारी दिनुभयो।

तत्काल त्रिवि शिक्षण अस्पताल पठाइए पनि अस्पतालले मृत घोषणा गर्‍यो। साउथ अफ्रिकाबाट पाइलटको कोर्स सकेर साढे २ वर्षदेखि काम गर्न थालेका ओखलढुंगाको सुनकोशी गाउँपालिका–७ का को–पाइलट कटवाल २७ वर्षका हुनुहुन्थ्यो। उहाँ शिक्षण पेसा हुँदै उपसचिव भएर विभिन्न जिल्लाका शिक्षा कार्यालयमा नेतृत्व गर्दै अवकास हुनुभएका ओमबहादुर कटवालका एक्ला छोरा हुनुहुन्थ्यो।

नियमित मर्मत ‘सी चेक’ का लागि पोखरा प्रस्थान गरेको उक्त विमान पिकअप लिएको करिब आधा मिनेटमै ध्वस्त भएको थियो। सामान्यतया हरेक ५ हजार घण्टा उडानपछि वा एकदेखि डेढ वर्ष अवधिमा अनिवार्य सी–चेक गर्नुपर्ने प्राविधिकहरू बताउँछन् । यो स्वस्थ मानिसले निश्चित समयमा गर्ने ‘होल बडी चेकअप’जस्तै हो। विज्ञहरूका अनुसार जहाज परीक्षणका विभिन्न चरणलाई ए, बी र सी भन्दै वर्गीकरण गरिएको हुन्छ । सोही वर्गीकरणअनुसार सी चरणको चेकअप नै सी–चेक हो । सी–चेक पूर्ण परीक्षण र मर्मत हो ।

जहाँ जहाजको बाहिरी भाग, इन्धन, तरल पदार्थहरूको स्तर, टायर, ब्रेक, जहाजका विभिन्न आन्तरिक प्रणाली, उडान नियन्त्रण, इन्जिन, ल्यान्डिङ गियर, जहाजको संरचनात्मक उपकरण र विद्युतीय प्रणालीसमेतको परीक्षण र बिग्रिएको पाइएमा मर्मत गरिन्छ । सामान्यतया यस्तो परीक्षणका लागि एकदेखि चार सातासम्म लाग्छ। दुर्घटनामा परेको विमान यही जाँचका लागि प्राविधिक र कर्मचारीको टिम लिएर पोखराका लागि उडेको थियो । विमानको पार्टपुर्जा सबै खोल्नुपर्ने हुँदा प्राविधिक तथा कर्मचारीको जम्बो टोली सवार रहेको उड्डयन प्राधिकरणले जनाएको छ ।

हालसम्म नेपालमा भएका मुख्य दुर्घटनाहरू
–वि.सं. २०११ कालिङ एयरको विमान बाराको सिमरामा दुर्घटना, २ जनाको मृत्यु
–वि.सं. २०१२ इन्डियन एयरलाइन्सको विमान काठमाडौंमा दुर्घटना, १४ जनाको मृत्यु
–वि.सं. २०१४ इन्डियन एयरलाइन्सको विमान ललितपुरमा दुर्घटना, २० जनाको मृत्यु
–वि.सं. २०२६ नेपाल वायु सेवा निगमको विमान मकवानपुरमा दुर्घटना, ३५ जनाको मृत्यु
–वि.सं. २०२६ नेपाली सेनाको विमान काभ्रेको पाँचखालमा दुर्घटना, ३१ जनाको मृत्यु
–वि.सं. २०३८ नेपाल वायुसेवा निगमको विमान विराटनगरमा दुर्घटना, १० जनाको मृत्यु
–वि.सं. २०४९ थाइ एयरवेजको विमान दुर्घटना, ११३ जनाको मृत्यु
–वि.सं. २०४९ पाकिस्तान एयरलाइन्सको विमान ललितपुरमा दुर्घटना, १६७ जनाको मृत्यु
–वि.सं. २०५० एभरेस्ट एयरलाइन्सको विमान चितनमा दुर्घटना, १९ जनाको मृत्यु
–वि.सं. २०५५ लुम्बिनी एयरवेजको विमान घोरेपानीमा दुर्घटना, १८ जनाको मृत्यु
–वि.सं. २०५६ मा नेकोन एयरको विमान काठमाडौंमा दुर्घटना १५ जनाको मृत्यु
–वि.सं. २०५९ सांग्रिला एयरको विमान पोखरामा दुर्घटना १८ जनाको मृत्यु
–वि.सं. २०६३ तारा एयरको विमान जुम्लामा दुर्घटना ९ जनाको मृत्यु
–वि.सं. २०६३ श्री एयरलाइन्सको विमान ताप्लेजुङको घुन्सामा दुर्घटना २४ जनाको मृत्यु
–वि.सं. २०६७ तारा एयलाइन्सको विमान ओखलढुंगामा दुर्घटना २२ जनाको मृत्यु
–वि.सं. २०६७ अग्नि एयरको ड्रोनियर जहाज मकवानपुरमा दुर्घटना १४ जनाको मृत्यु
–वि.सं. २०६८ बुद्ध एयरको विमान ललितपुरमा दुर्घटना १९ जनाको मृत्यु
–वि.सं. २०६९ अग्नि एयरको विमान मुस्ताङमा दुर्घटना १५ जनाको मृत्यु
–वि.सं. २०६९ सीता एयरको विमान काठमाडौंमा दुर्घटना १९ जनाको मृत्यु
–वि.सं. २०७० नेपाल एयरलाइन्सको विमान अर्घाखाँचीमा दुर्घटना १८ जनाको मृत्यु
–वि.सं. २०७२ फागुनमा तारा एयरको विमान म्याग्दीमा दुर्घटना २३ जनाको मृत्यु
–वि.सं. २०७२ फागुनमा एयर काष्ठमण्डपको विमान कालिकोटमा दुर्घटना २ जनाको मृत्यु
–वि.सं. २०७४ जेठ गोमा एयरको विमान लुक्लामा दुर्घटना दुईजनाको मृत्यु
–वि.सं. २०७४ जेठ नेपाली सेनाको विमान बाजुरामा दुर्घटना एकजनाको मृत्यु
–वि.सं. २०७४ फागुन २८ गते, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना ५१ जनाको मृत्यु
–वि.सं. २०७५ जेठ ०२ गते, सिमिकोट पासमा मकालु एयरको विमान दुर्घटना दुईजनाको मृत्यु
–वि.सं. २०७५ भदौ २६ गते, नुवाकोटको मेधाङ–मैलुङपाखामा, अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना ६ जनाको मृत्यु
–वि.सं. २०७५ फागुन १५ गते, ताप्लेजुङको फुङलिङ नगरपालिका १० तारेढुंगा भीरमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु
–वि.सं २०७९ माघ १ गते काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना हुँदा ७२ यात्रुको मृत्यु
–२०७९ साल जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयर विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु
–२०८१ साउन ९ गते काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइसेन्सको विमान दुर्घटना हँुदा १८ जनाको मृत्यु, एक जना बाँच्न सफल