विमानस्थलमै गयो १८ को ज्यान

756
Shares

काठमाडौं ।

सी चेकका लागि पोखरा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको विमानको दायाँतर्फको इन्जिनले काम नगर्दा विमान दुर्घटना हुन पुगेको आशंका गरिएको छ ।

बिहान ११ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ जना एयरलाइन्सका कर्मचारी लिएर उडान भरेको केही सेकेन्डमा नै विमान विमानस्थलको दायाँपट्टि खस्दा विमानमा सवार पाइलटबाहेक सबैको मृत्यु भएको थियो । नियमित मर्मतका लागि पोखरा जाने क्रममा रहेको विमान काठमाडौं विमानस्थलमा नै दुर्घटना भएको विमानलाई नागरिक उड्डयन कार्यालयले उडान अनुमति दिएपछि मात्रै पोखरा जानका लागि उडान भरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता सुभाष झाले जानकारी दिनुभयो ।

२१ वर्ष ६ महिना पुरानो कल साइन सीआरजे २००–९ एन एएमई विमान देब्रेतर्फ मोडिएर दुर्घटना भएको भए ठूलो क्षति हुने सम्भावना थियो । विमान दाहिनेतर्फ मोडिएर एयर डाइनेस्टीको कन्टेनरमा ठोक्किएर भुइँमा बजारिएको थियो । विमान बजारिनासाथ आगलागी भएको थियो ।

विमानमा सवारमध्ये पाइलट मनिषरत्न शाक्यलाई भने घाइते अवस्थामा उद्धार गरी विमानस्थलनजिकै रहेको काठमाडौं मेडिकल कलेजमा उपचारका लागि पठाइएको थियो । उहाँको अवस्था खतरामुक्त रहेको पनि अस्पतालले जानकारी दिएको छ । मेरुदण्डमा चोट लागेकाले उहाँको बुधबार नै शल्यक्रिया गरिएको छ । उहाँ अहिले खतरामुक्त रहनुभएको अस्पतालले जानकारी दिएको छ ।

सौर्य एयरलाइन्सको आफ्नै विमान मर्मत गर्ने ह्याङ्गर नभएकाले सी चेकका लागि पोखरा विमानस्थलमा लाने क्रममा दुर्घटनमा परेको सो एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले जानकारी दिनुभयो । सो विमानको उडान अवधि अझै ६० घण्टा बाँकी रहँदै विमान कम्पनीले सी चेकका लागि विमान पोखरा लैजाने निर्णय गरेको थियो। विमानलाई पोखरा विमानस्थलमा रहेको ह्याङ्गरमा एक महिनाभित्र मर्मत गरिसक्ने गरी पोखरा विमानस्थलसँग अनुमति लिएको पनि एयरलाइन्सले जनाएको छ। ५० सिट क्षमताको उक्त विमान सन् २००३ मा क्यानडामा बनेको थियो । सो विमान सौर्य एयरलायन्सले किनबेचका क्रममा छैटौंपटक किनेको थियो ।

विमान दुर्घटना भएपछि घटनास्थल पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले विमान दुर्घटनाको कारण खोज्ने प्रयास गरेको भए पनि कारण भने पत्ता नलागेको विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता झाले जानकारी दिनुभयो । विमानमा सवार एकै परिवारका ३ जानको मृत्यु भएको एयरलाइन्सले जनाएको छ। जहाजमा सवार मनुराज शर्मा सोही विमानका प्राविधिक हुन् भने प्रिजा खतिवडा ऊर्जा मन्त्रालयकी कम्प्युटर अधिकृत हुन्। अधिराज शर्मा उनीहरूका छोरा हुन् ।

मृत्यु हुनेको नामावली
दुर्घटनामा परी सौर्य एयरलाइन्सका चिफ सेफ्टी अफिसर सागर आचार्य, सीए अश्विनकुमार निरौला, मेन्टिनेन्स म्यानेजर यज्ञप्रसाद पौड्याल, चिफ अफ क्वालिटी अफिसर दिलीप बर्मा, को–पाइलट सुशान्त कटुवाल, प्राविधिक कर्मचारी अमितमान महर्जन, मनुराज शर्मा, सुदीपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, उद्धव पुरी, सन्तोष महतो, पुण्यरत्न शाही र विदेशी नागरिक आरिफ रेर्डा, ऊर्जा मन्त्रालयकी कर्मचारी प्रिजा खतिवडा, उहाँका छोरा अधिराज शर्मा रहेका छन् ।

विमान दुर्घटना भएपछि विमानस्थलमा तैनाथ सुरक्षाकर्मी तत्कालै परिचालन भएर दुर्घटनामा परेको विमानको भग्नावशेषबाट विमानमा यात्रा गरिरहेका सोही विमानका व्यवस्थापक तथा प्राविधिक कर्मचारीको शव निकालेर थप परीक्षण तथा पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो । बुधबार अपराह्नपछि अस्पतालले पोस्टमार्टम शुरू गरेको थियो।

अस्पताल परिसरमा रुवावासी

अस्पताल परिसरमा पुगेका आफन्तहरू भाव विह्वल भएका थिए । उनीहरूलाई आफन्तको अन्तिमपटक भए पनि मुख हेर्ने इच्छा थियो तर अस्पताल प्रशासनले पोस्टमार्टमपछि मात्रै शव आफन्तको जिम्मा लगाउने बताएपछि त्यहाँको वातावरण कारुणिक बनेको थियो ।

आफन्तको मृत्युमा भावविह्वल बनेका इन्जिनियर उद्धव पुरीका एक आफन्तले विमान कम्पनीको लापरबाहीका कारण अकालमा १८ जनाले ज्यान गुमाएको दाबी गर्दै यस विषयमा सरकारले छानबिन गर्नुपर्ने माग गर्नुभएको थियो ।

विमानमा विमान कम्पनीका कार्यरत व्यक्तिभन्दा पनि बाहिरको मानिसलाई मर्मत गर्न लान लागिएको विमानमा किन हालेर लगियो भन्ने विषयमा पनि सरकारले छानबिन गर्नुपर्ने माग मृतकका आफन्तहरूले गरेका छन् । अस्पताल पुर्‍याइएका शवहरू जलेर चिन्न नसक्ने अवस्थामा रहेकाले उनीहरूको आफन्तको बयान तथा फिङ्गर प्रिन्टलगायतका विधि प्रयोग गरेर पोस्टमार्टम शुरू गरिएको अस्पतालको फरेन्सिक विभागले जनाएको छ ।

आफन्तको भीड बढ्दै गएपछि अस्पताल प्रशासनले सुरक्षा प्रबन्ध बलियो बनाएको थियो । फरेन्सिक विभागको शव गृहमा राखिएका आफन्तको शव हेर्न पाऊँ भन्दै बिन्ती गर्ने आफन्तको रोदनले त्यहाँ उपस्थित सबैलाई भावविह्वल बनाएको थियो ।
अस्पतालले १८ वटै शवको पोस्टमार्टम गर्न तीन दिन लाग्ने र त्यसपछि मात्रै शव आफन्तको जिम्मा लगाउने तयारी गरेको छ ।

जाँचबुझ आयोग गठन
सरकारले बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बैठकपछि जानकारी दिनुभयो ।

जाँचबुझ आयोगको सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहनुभएको छ भने नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल कार्यालयका अधिकृत मुकेश डंगोल सदस्य सचिवका रूपमा रहनुभएको छ । आयोगलाई ४५ दिनभित्र जाँचबुझ गरी प्रतिवेदन बुझाउन पनि निर्देशन दिइएको छ । मन्त्रिपरिषद्को बैठकले सो विमान दुर्घटनमा परी मृत्यु भएकाहरूको शोकमा आज बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको छ ।

पाइलट खतरामुक्त
पाइलट मनीषरत्न शाक्यलाई घाइते अवस्थामा घटना स्थलबाट नेपाली सेना र नेपाल प्रहरीको उद्धार टोलीले उद्धार गरी काठमाडौं मेडिकल कलेज लगी उपचार गराइरहेको छ । पाइलटको आँखामाथि गम्भीर चोट लाग्नुका साथै ढाडलगायत जिउमा समेत समस्या देखिएको छ । उहाँको मुखबाट पनि रगत बगेको देखिएकाले सिटी स्क्यान गर्दा टाउकोमा रगत जमेको देखिएपछि तत्काल एमआरआई गरी ढाड र पूरा शरीरको अवस्थाको पहिचानपछि सघन उपचार कक्ष (आईसीयू) मा राखी उपचार गर्ने अस्पतालले जनाएको छ ।

जहाज दुर्घटनामा परी मृत्यु भएका अन्य कर्मचारी तथा आफन्तको लाशसमेत नचिनिने अवस्था रहेको र त्यसको पोस्टमार्टम गरी परिवारलाई ३ दिनभित्र बुझाउन सकिने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले जनाएको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेल दुर्घटनाका एकमात्र जीवित घाइते क्याप्टेनको स्वास्थ्य अवस्था बुझ्न केएमसी अस्पताल पुग्नुभयो। अपराह्न पाँच बजे पुग्नुभएका मन्त्रीले अस्पताल प्रशासनसँग घाइतेको अवस्था बुझ्दै उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो। उहाँले अस्पतालमा रहेका क्याप्टेनका परिवारका सदस्यहरूसँग भेट गरी धैर्य रहन आग्रह गर्नुभयो।

दुर्घटना स्थलमा प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरको विमान दुर्घटना स्थल अवलोकनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणको उद्धार समन्वय केन्द्रमा पुगेर जानकारी लिनुभएको छ । प्रधानमन्त्री ओलीले घटना ज्यादै दुःखद, हृदयविदारक र अकल्पनीय भएको बताउँदै दुर्घटनामा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

उहाँले घाइते क्याप्टेनको स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ । प्रधानमन्त्री ओलीले यसबारे गर्नुपर्ने थप कामबारे सरकारले आवश्यक निर्णय लिने बताउँदै आगामी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन दिनुभएको छ ।

यसैबीच नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घटनाको छानबिनका लागि सरकारसँग माग गर्नुभएको छ । १८ जनाको मृत्यु हुने गरी भएको दुर्घटनाले राष्ट्रलाई गम्भीर क्षति पुर्‍याएको पनि अध्यक्ष प्रचण्डले बताउनुभएको छ। उहाँले विमान दुर्घटनाबाट राष्ट्रलाई गम्भीर क्षति पुग्नुका साथै देशले दक्ष प्राविधिक गुमाएको पनि उहाँले बताउनुभएको छ ।