क्याप्टेन शाक्यको स्थिति बुझ्न केएमसी अस्पतालमा


काठमाडौं ।

सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएको स्थलमा पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली घाइते पाईलटको स्वास्थ्य अवस्थाको जानकारी लिन काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल पुग्नै भै उपचारमा संलग्न चिकित्सक टोलीसँग पाईलटको अवस्था बारे जानकारी लिनुभयो ।

उहाँले घाईते पाईलटको उपचारमा कुनैपनि कमी नआओस भन्दै स्वास्थ्य लाभको कामना गरि फर्किनुभयो । दुर्घटनाको अवस्था बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित दुर्घटनास्थल पुग्नुभएको प्रम ओली घाइते पाइलटको अवस्था बुझ्न केएमसी पनि पुग्नुभएको हो ।
दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको छ । पाइलटको घाइते अवस्थामा उपचार भैरहेको छ । उहाँको स्वास्थ्य खतरा मुक्त रहेको चिकित्सकहरुले जानकारी गराए । घटना लगत्तै गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डेसहित उच्च अधिकारीहरू विमानस्थल पुगेका थिए । उद्दार र विमान दुर्घटनाको अवस्थाबारे बुझ्न प्रधानमन्त्री ओली पनि पुग्नुभएको थियो ।

बुधबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको जहाजमा चालक दलका २ सदस्य सहित १९ जना रहेकोमा १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले उल्लेख गरेको छ ।

प्राधिकरणका अनुसार सीआरजे ७ (रजिस्ट्रेसन–९एनएएमई) जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो । दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा १८ जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ । यस्तै पाइलट मनिषरत्न शाक्यलाई घाइते अवस्थामा घटना स्थलबाट नेपाली सेना र नेपाल प्रहरीको उद्धार टोलीले उद्धार गरि काठमाडौँ मेडिकल कलेज लगी उपचार गराईरहेकोछ ।

पाईलटको आँखा माथी गम्भीर चोल लाग्नुका साथै ढाड लगायत जिउमा समेत समस्या देखिएको र मुखबाट पनि रगत बगेको देखिएकाले सिटि स्क्यान गर्दा टाउँकोमा रगत जमेको देखिएकाले तत्काल एमआरआई गरि ढाड र पुरा शरिरको अवस्थाको पहिचान पछि सघन उपचार कक्ष (आईसीयु) मा राखी उपचार गर्ने अस्पतालले जनाएकोछ ।

जहाज दुर्घटनामा परि मृत्यु भएका अन्य कर्मचारी तथा आफन्तको लाश समेत नचिनिने अवस्था रहेको र त्यसको पोष्टमार्टम गरि परिवारलाई ३ दिन भित्र बुझाउँन सकिन त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगंजले जनाएकोछ । यता मृतकका आफन्तहरु त्रिवि शिक्षण अस्पताल प्राङ्गाणमा भावविहल अवस्थामा जम्मा भएका छन् । अघिकांशको लाश जलेर नचिनिने अवस्थामा पुगेकोछ ।

विमान दुर्घटनामा पर्दा क्याप्टेन शाक्य मात्रै बाच्न सफल भए । ‘जलन छैन, अनुहार, मेरुदण्ड सहित विभिन्न भागमा चोटपटक छ । अहिले मेरुदण्डको शल्यक्रिया गरिदैछ,’ अस्पताल स्रोतले भन्यो, ‘तर उहाँ अब खतरामुक्त हुनुहुन्छ ।’ स्वास्थ्य मन्त्री प्रदीप पौडेलले दुर्घटनाका एक मात्र जिवित घाईते क्याप्टेनको स्वास्थ्य अवस्था बुझ्न केएमसी अस्पताल पुग्नुभयो । अपरान्ह पाँच वजे पुग्नुभएको मन्त्रीले अस्पताल प्रशासनसंग घाईतेको अवस्था बुझ्दै उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो । उहाँले अस्पतालमा रहेका क्याप्टेनका परिवारका सदस्यहरुसंग भेट गरी धैर्य राख्न आग्रह गर्नुभयो ।

‘विमान चालक रहेका क्याप्टेन शाक्यका बुबा आमा र श्रीमतीलाई भेट गरी नआत्तिन र धैर्य राख्न अनुरोध गर्नु भएको छ । उहाँले घाइते क्याप्टेनको उपचारमा कुनै कसर बाँकी नराख्ने गरी आफूले अस्पताललाई निर्देशन दिईसकेको र घटनाको बारेमा सरकारले छानविन गरी सत्यतथ्य खोज्ने समेत बताउनु भएको छ,’ स्रोतले भन्यो ।