नेपाल बौद्ध दर्शनको संबाहक : प्रधानमन्त्री ओली


काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बौद्ध दर्शनको संबाहक भएको बताउनुभएको छ । बुधबार राजधानीमा वाग्मती प्रदेशका पूर्वमन्त्री डा. अजयक्रान्ति शाक्यद्वारा लिखित –“ बुद्घको मौलिक दर्शन” पुस्तक सार्वजनिक गर्दै उहाँले नेपाल गौतम बुद्धको जन्मथलो मात्रै नभई बौद्ध दर्शनको सम्बाहक पनि भएको बताउनुभयो ।

उहाँले बिना ज्ञान बुद्धले घर, दरबार र परिवार नछोडेको टिप्पणी गर्दै भन्नुभयो –“बुद्धले विना ज्ञान सबै कुराको त्याग गर्नुभएको होइन । उहाँले नेपालसहित भारतका विभिन्न स्थानमा गएर तपस्या र ध्यान गरेर ज्ञान प्राप्त गर्नुभयो र उक्त ज्ञानको बिस्तार नेपालबाटै गर्नुभएको हो । ” प्रधानमन्त्री ओलीले बौद्ध दर्शन अन्ध विश्वासमा नभई वैज्ञानिक तथ्यमा आधारित भएको पनि जिकिर गर्नुभयो ।

पुस्तकका लेखक डा. शाक्यले बौद्ध दर्शनअनुसार जीवन भनेको के हो? हामी किन जन्मन्छौं अनि किन मछौं? चित्त र चेतना भनेका के हुन्? लगायतका विषयलाई सरल भाषामा सबैले बुझ्नेगरी यो पुस्तकमा चर्चा गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा भिक्षु कौडण्य महास्थवीरले संविधान संशोधनको चर्चा चलिरहेको उल्लेख गर्दै भन्नुभयो –“संविधान संशोधनमा धर्म निरपेक्षताको मर्मअनुसार बुद्ध जन्मभूमीमा बौद्ध धर्मको उचित संरक्षण गर्दै अग्रगामी भएर अघि बढ्न प्रधानमन्त्री र अन्य दलहरुले खुट्टा कमाउनु हुन्न भन्ने विश्वास लिएका छौं । ”

भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरले यो पुस्तक बौद्ध धर्ममा अभ्यास गरिने ध्यानसम्बन्धी पुस्तक भएको र यसको दोस्रो भागको रुपमा अको पुस्तक पनि छिट्टै प्रकाशित हुने जानकारी दिनुभयो ।