नवनियुक्त प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित


काठमाडौं ।

खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका ६७ जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकालले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।
२०८० कात्तिक ३ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०८१ असार ९ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ ६७ र खुलातर्फ २९ जना गरी कुल ९६ जना प्रहरी निरीक्षकहरू उत्तीर्ण भएका छन् ।

जसमा ९ जना महिला रहेका छन् । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८१ साउन ३ गतेको निर्णयले साउन ९ गतेदेखि लागू हुने गरी प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुन् । दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्ने क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ढकालले नवनियुक्त भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै आम नागरिकको केन्द्र विन्दुमा रहेर कर्तव्य निर्वाह गर्न निर्देशन दिनुभयो ।

आगामी दिनमा निष्ठावान्, इमानदार र जवाफदेही भई अझ बढी व्यावसायिकता प्रदर्शन गर्दै प्राप्त जिम्मेवारीलाई वहन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू एवम् प्रहरी अधिकृत तथा जवानहरू समेतको उपस्थिति रहेको थियो ।