बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा थापा नियुक्त


काठमाडौं ।

बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा किरण थापा नियुक्त भएका छन् । उनी गत प्रदेश सभा निर्वाचनमा भक्तपुर २ ९क० बाट नेकपा एमालेका तर्फबाट प्रदेशसभामा उम्मेवारी दिएका निर्वाचित सांसद हुन् । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच बनेको सात बुँदे सहमति पछि संघ संगै प्रदेशमा पनि नयाँ गठबन्धन भई नयाँ सरकार बनि रहेको छ ।

बहादुर सिंह लामा नेतृत्वको बागमती प्रदेश सरकारमा थापाले स्वास्थ्य मन्त्रीको रुपमा सपथ लिएपछि आजै स्वास्थ्य मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका छन् । यसैबीच नवनियुक्त स्वास्थ्यमन्त्री थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि एक लाख सहुलियत प्रदान गर्ने निर्णय गरेका छन् ।

आज पदबहाली गर्दै मन्त्री थापाले बागमती प्रदेशभित्रका विपन्न परिवारका क्यान्सरपीडितलाई प्रदेश सरकारले एक लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिए । मन्त्री थापाले भने, “विगतमा प्रदेश सरकारले विपन्न परिवारका क्यान्सरपीडितलाई ५० हजार सहयोग गर्ने गरेको थियो । अबदेखि एक लाख दिने निर्णय गरेको छु ।” उनले यसबापतको आर्थिक दायित्व भुक्तानीका लागि ११ करोड बजेट सुनिश्चित हुनुपर्ने भएकाले सो बजेटका व्यवस्थाका लागि नियमानुसार मन्त्रिपरिषदमा प्रस्ताव पेस गरिने बताए ।

त्यसैगरी, मानसिक एवम् नसर्ने प्रकृतिका रोगको रोकथाम तथा न्यूनीकरणका लागि जिल्लास्तरीय समन्वय समिति गठन गर्ने निर्णय गरेको जानकारी दिँदै स्वास्थ्यमन्त्री थापाले भने, “मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियानलाई अब बागमती प्रदेशका सबै पालिका तहमा पुर्याई जनचेतना अभिवृद्धि कार्यक्रममार्फत प्रदेशवासीको स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गरिनेछ ।”