काठमाडौंका मेयर बालेन

उग्र फेसबुक स्ट्याटसका कारण बेलाबेलामा पर्छन् विवादमा

0
Shares

काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले कहिले आफ्नो कामले त कहिले उग्र अभिव्यक्तिका कारण बेलाबेलामा चर्चामा आउने गरेका छन्।

राजधानी काठमाडौंमा बग्ने टुकुचा खोला खुल्ला गर्ने काम होस् वा सुकुम्बासी बस्ती हटाएर वागमती कोरिडरलाई पूर्णता दिने, त्यस्तै फुटपाथ व्यवस्थित गर्ने होस् वा अन्डरग्राउन्ड पार्किङमा व्यापार गर्न नदिने, कपनको डुबान हटाउन धोबीखोला खोल्ने काम होस् वा भारतीय चलचित्र आदि पुरुषलाई काठमाडौंको सिनेमा हलमा निषेधित गर्ने र चुच्चे नक्सा आफ्नो कार्यकक्षमा राखेको विषयमा उनले ताली र गाली दुबै पाएका छन्।

पछिल्लो समय काठमाडौंको मुटुमा रहेको नयाँ सडकको पेटी विस्तार गर्ने कार्यका कारण फेरि एकपटक विवादमा फसेका उनै मेयर बालेनले सामाजिक सञ्जालमा व्यक्त गरेका केही अभिव्यक्तिहरू निकै विवादित पनि बनेका छन्।
यी हुन् पाँच विवादित फेसबुक स्ट्याटस
१. ‘को–को जुध्न आउने हो, आए हुन्छ’
७ जेठ २०८१ मा मेयर साहले सिंहदरबारलगायत सबै राजनीतिक दलका पार्टी कार्यालय र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिए। बन्चरेडाँडामा फोहोर लैजान अवरोध भएपछि फोहोर बोकेका गाडी कोटेश्वर क्षेत्रमा पार्किङ गरिएको थियो। तर, ट्राफिक प्रहरीले ती गाडीका चालकहरूलाई नियन्त्रणमा लिएको थियो। सोही घटनालाई लक्षित गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए –‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले। को–को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिँदैन।’
२. मन्त्रीलाई धुलो उपहार माया सम्झेर लिनुहोला
वि.सं. २०८० को जेठ १२ मा चक्रपथको कलंकी–महाराजगञ्ज सडक खण्ड निर्माण नहुँदा नागरिकले धुलोको प्रदूषण व्यहोर्नुपरेको भन्दै मेयर बालेनले महानगरको ब्रुमरले संकलन गरेको धुलो बबरमहलस्थित सडक विभाग र मीनभवनस्थित डिभिजन सडक कार्यालयको बाहिर थुपार्न लगाए। त्यसपछि उनले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पायक पर्ने ठाउँमा धुलो थुपारेको भन्दै फेसबुकमा लेखे– ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन। जबसम्म तपाईँ काम अगाडि बढाउनुहुन्न, हरेक दिन तपाईँलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु, माया सम्झेर स्विकार्नु होला।’
३. ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड’
२०८१ जेठ २० मा बालेनले गिरीबन्धुको टि–स्टेटको जग्गा हिनामिना प्रकरणलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कडा शब्दमा आलोचना गरे। उनले फेसबुकमा लेखेका छन्, ‘समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला। नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला। हुन त, पहिले पनि जेल बस्नु भएको हो।’ गिरीबन्धु चिया बगानको जग्गामा भएको नीतिगत भ्रष्टाचारमा ओलीको संलग्नता रहेको संकेत गर्दै भनेका छन– ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू, गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन।’
अभिव्यक्ति ४.
–सिंहदरबारमा आगो लगाइदिन्छु
वि.सं. २०८० भदौ १६ गते राति करिब ९ः३० बजे मेयर बालेनको फेसबुकमा उग्र स्टाटस आयो। फेसबुकमा उनले लेखे, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’ बालेनको उक्त स्टाटसपछि कतिपयले नशामा रहेको कारण त्यस्तो स्टाटस लेखेको टिप्पणी गरे भने कतिपयले सरकार र प्रहरीप्रतिको आक्रोशका रूपमा लिए। मेयर बालेन पत्नी सविना काफ्ले चढेको सरकारी नम्बर प्लेटको कार साँझ ८ बजेर ४० मिनेट जाँदा ललितपुरको बालकुमारी क्षेत्रबाट कोटेश्वरमा आइपुगेको थियो। त्यहाँचेकिङका क्रममा ट्राफिक प्रहरीले जाँचबुझ गर्दा आक्रोशित भई उनले उक्त स्ट्याटस लेखेका थिए।
५. प्रहरीले नै बाटो मिच्यो
वि.सं. २०७० चैत्र २५ मेयर बालेनले महानगरपालिकाभित्र फुटपाथ मिचेर बनाइएको भन्दै प्रहरी बिटहरूको तस्विर पनि सार्वजनिक गरे। उनले सार्वजनिक अभिव्यक्ति दिँदै भने, ‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ। त्यो संरचना प्रहरी आफैँले हटाउनुहोला। नत्र समतामूलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ।’