अन्नपूर्ण न्युरो अस्पतालमा रोबटिक सर्जरी

३ जनाको सफल शल्यक्रिया

770
Shares

काठमाडौं ।

काठमाडौंमा रहेको अन्नपूर्ण न्युरो अस्पतालले रोबटको सहयोगमा रोबटिक सर्जरी शुरु गरेको छ। एक सातामा ३ वटा सर्जरी रोबटको सहयोगमा गरेको सो अस्पतालका प्रमुख तथा वरिष्ठ न्युरो सर्जन डा. वसन्त पन्तले जानकारी दिनुभयो।

पत्रकार सम्मेलनमा डा. पन्तले दिनुभएको जानकारीअनुसार एक सातामा रोबटको सहयोगमा ३ जनाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको छ । शल्यक्रिया गरेकाहरूमा पहिलो बिरामी बे्रन ट्युमर, दोस्रो बिरामी सर्भाइकल समस्याको र तेस्रो ९ वर्षका बालकमा छारेरोगको समस्या रहेको थियो । तिनै जनाको शल्यक्रिया सफल भएको छ ।

रोबर्टको सहयोगमा शल्यक्रिया गर्दा चिकित्कहरूका लागि निकै सहज र समयको पनि वचत भएको डा. पन्तले बताउनुभयो । उहाँले चीनबाट रोबोटिक सर्जरी मेसिन भित्र्याइएको र यो मेसिन शल्यक्रियाका लागि नेपालमा पहिलो सहयोगी भएको बनाउनुभयो । मेसिनको नाम पनि उहाँले डा. रामु राखिएको बताउनुभयो ।

यो मेसिन भित्र्याउनु पहिला अमेरिकासँग पनि कुरा गरेको र अमेरिकाले ४ वटा भन्दा कम रोबट नेपालमा भित्र्याएर सर्भिस दिन नसक्ने बताएपछि चीनसँग सहकार्य गरी रोगबटको सहयोगमा गरेको शल्यक्रिया विधि सिक्नुका साथै तालिम लिएर आएको बताउनुभयो । साथै चीनको कम्पनीले ३ वर्ष सम्पूर्ण वारेन्टी लिएको र मेसिन ७ देखि ८ करोडको लगानीमा नेपाल भित्र्याएको १० वर्ष लाइफ ग्यारेन्टी रहेको जानकारी गराउनुभयो ।

रोबटको सहयोगमा काम गर्दा २ दिन लाग्ने शल्यक्रिया २ घण्टामै सकिएको र सरल तथा सहज भएको पनि उहाँले जानकारी गराउनुभयो । रोबटले शल्यक्रिया गर्दा पिन प्वाइन्टमा शून्य दशमलव छ मिलिमिटरको सानो घाउ बनाउँछ र शल्यक्रिया गरेको तेस्रो दिनमा बिरामी आफैँ खाना खान सक्ने भएको जानकारी गराउनुभयो । नेपालको न्युरो साइन्समा यस्ता रोबटले निकै राम्रो काम गर्ने डा. पन्तले बताउनुभयो ।

योभन्दा भिन्न खालको रोबटिक मेसिन केएमसीले पनि नेपालमा भित्र्याएको भए पनि मल्टिपरपोज काम गर्ने रोबट यो नै पहिलो भएको उहाँले दाबी गर्नुभयो । यो मेसिनको सहयोगमा जटिल खालका शल्यक्रिया तत्काल हुने र गम्भिरता कम हुनुका साथै बिरामीलाई छिटो उपचार गर्न सकिन्छ र थप जटिलता हुनबाट बचाउन सकिन्छ।

खर्चको हिसाबले पनि ओपन सर्जरी गर्नुभन्दा रोबटिक विधिबाट गर्दा प्रत्यक्ष २५ प्रतिशत खर्च बढ्ने भए पनि अस्पताल बसाइलगायतका अन्य खर्च कम हुने डा. पन्तले बताउनुभयो।