विश्वमा सर्वाधिक लोकप्रिय खेल फुटबल


काठमाडौं ।

विश्वभरि कुन खेल बढी खेलिन्छ वा कुन खेलमा बढी रूचि भएकाको संख्या अधिक छ भनेर निश्चित रुपमा भन्न कठिन छ । तर, लामो समयदेखि खेलकुदलाई बिभिन्न माध्यम र स्रोतका आधारमा विश्लेषण गर्दै आईरहेको अमेरिकी सञ्चार संस्था बेस्ट डिप्लोम्याट्स टिमले केही साताअघि यही विषयमा अध्ययन गरेर एउटा रिपोर्ट तयार पारेको थियो।

जसमा विश्वभर अधिक रुचाईएका खेल र त्यसमा सहभागी हुनेहरुको संख्यालाई दशौं स्थानसम्म क्रमबद्ध रुपमा प्रस्तुत गरिएको छ।
—बेस्ट डिप्लोम्याट्स टिमको अध्ययन अनुसार उत्तर अमेरिकामा सकरबाट परिचित तथा विश्वभर सरल रुपमा बुझ्ने फुटबल खेललाई विश्वभर सर्वाधिक रुचाईएको खेलको रुपमा सूचीकृत गरिएको छ। फुटबल खेललाई विश्वभरि सर्वाधिक दर्शक भएको खेलको रुपमा समेत लिइएको छ।
—फुटबलमा दर्शकका साथसाथै खेल्नेहरुको जमात पनि अन्य खेलको तुलनामा अधिक रहेको जनाइएको छ । रमाइलोको लागि होस् वा प्रतिस्पर्धाका लागि, फुटबल खेल्ने र हेर्नेको संख्या अन्य खेलको तुलनामा अधिक रहेको उल्लेख गरिएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको एक तथ्यांकअनुसार विश्वभर खुट्टाले बल हानेर खेलिने ढाँचामा आधारित विभिन्न प्रारूपको फुटबल र फुटसलमा करिब २ सय ६५ मिलियन मान्छेहरु सक्रिय रहेको छ । जसमा करिब ५ मिलियन रेफ्रीहरु समेत सक्रिय छन् ।
–फुटबलमा विश्वभरी अनेकौं किर्तिमान बनेका छन् । फुटबलको उत्पत्ति चीन, ग्रीस, र रोममा प्राचीन सभ्यताहरूमा हुने रुडिमेन्टरी बल खेलहरूबाट भएको मानिन्छन । तथापि, यो खेलको आधुनिक स्वरुपको थालनी भने इङ्ल्याण्डमा १२औं शताब्दीतिर विकसित भएको थियो ।
—लण्डनमा सन १८६३ मा पहिलो पटक फुटबल संघ गठन भएसँगै संस्थागत विकासक्रमको थालनी भएको हो । त्यसपछि खेलमा हात प्रयोग गर्न प्रतिबन्ध गर्ने लगायत अन्य नियमहरूको पनि सुरुवात भएको थियो । यो खेल विश्वका प्रायः सबै देशले अपनाएका छन ।
–फुटबलको सर्वोच्च निकाय फिफामा विश्वभरिका २ सय ११ देशका पुरुष र १ सय २९ देशका महिला फुटबल टिम आबद्ध रहेका छन । फिफा विश्वकप सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो जसमा विश्वका अरबौं दर्शक आकर्षित हुने गर्दछ ।
फुटबलको लोकप्रियता विभिन्न संस्कृति अनुसार फरक स्थानमा भिन्न भिन्न छ। ल्याटिन अमेरिकामा फुटबललाई गर्वको प्रतीक मानिन्छ भने युरोपमा यसलाई उच्च स्तरको प्रतिस्पर्धाको रुपमा लिइन्छ। अफ्रिकामा भने फुटबल संस्कारलाई युरोपीय राष्ट्रहरूद्वारा बसालिएको थियो र यो खेल त्यहाँ एकदमै लोकप्रिय पनि छ ।

एसियामा पनि उत्तिकै लोकप्रिय यो खेलमा चीन, जापान, कोरिया तथा मध्य एसियाली र पश्चिम एसियाली राष्ट्रले आफ्नो प्रभुत्व बढाउन ठूलो आकारमा लगानी गरेको छ । फुटबलको लोकप्रियताको कारण धेरै हुन सक्छ । खेल्न सजिलो, खेल्नका लागि न्यूनतम उपकरण प्रयोग, जो कसैले पनि खेल्न सक्ने, उमेर, लिङ्ग वा आर्थिक स्थितिले पनि कुनै असर नपर्ने र सबैको सहज पहुँचले यो खेललाई सबैभन्दा लोकप्रिय बनाएको रिपोर्टमा उल्लेख छ ।
विश्वमा प्रमुख १० लोकप्रिय खेल :
१. फुटबल÷सकर
२. क्रिकेट
३. टेनिस
४. गल्फ
५. बास्केटबल
६. बेसबल
७. रग्बी
८. हकी
९. स्नूकर
१०. भलिबल