नेपाल भारतसँग ८२ रनले पराजित


काठमाडौं ।

नेपालको टी २० क्रिकेट महिला एसिया कपमा यात्रा समूह चरणबाटै सकिएको छ। मंगलबार समूहअन्तर्गत भारतविरुद्धको खेलमा ८२ रनले हारेपछि नेपालको यात्रा सकिएको हो ।

नेपालको तीन खेलमा २ अंक मात्रै रहेको र पाकिस्तानले यूएईविरुद्ध जित हासिल गरेपछि नेपाल सेमिफाइनलमा पुग्न वंचित भयो। नेपाले यूएईलाई हराएर प्रतियोगितामा विजयी शुरुआत गरेको थियो। तर, यसपछि नेपाल एसियाका पावरहाउस भारत र पाकिस्तानसँग पराजित भयो । यस समूहबाट भारत ६ अंक र पाकिस्तान ४ अंकसहित अन्तिम चारमा पुगेका छन् ।

नेपालले भारतले दिएको विशाल लक्ष्य १ सय ७९ रनको जवाफमा ९ विकेट गुमाएर ९६ रन मात्रै बनाउनसक्यो । नेपालका कोही पनि ब्याटरले उल्लेखनीय ब्याटिङ गर्न सकिनन् । जसमा, ओपनर सीता रानामगरले बनाएको १८ रन नै व्यक्तिगत सर्वाधिक योगदान साबित भएको थियो ।

यस्तै, विन्दु रावलले नटआउट हुँदैं १७ रन बनाइन् भने रुबिना क्षेत्रीले १५ रन जोडिन् । कप्तान इन्दु बर्माले १४ रन बनाइन् भने ओपनर सम्झना खड्का ७ रनमै आउट भएकी थिइन् । अन्यमा कविता कुँवरले ६ रन, पूजा महतो २ रन, डली भट्ट ५ रन, काजल श्रेष्ठ ३ रन र शबनम राईले १ रन बनाए । कविता जोशी भने शून्यमा आउट भइन् ।

यसअघि भारतले दाम्बुलामा टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ७८ रन बनाएको थियो । टोलीका लागि ओपनरद्वप शेफाली वर्माले सर्वाधिक ८१ रन र दयालन हेमलताले ४७ रन बनाए। उनीहरुले पहिलो विकेटका लागि १ सय २२ रनको साझेदारी गरेर नेपाललाई दबाबमा राखेका थिए।

यस्तै जेमिमाह रोड्रिगेज १५ बलमा ५ चौका सहित २८ रन बनाउँदै अविजित रहिन्। ऋचा घोष ६ रनमा नटआउट रहिन् । सजीवन सजनाले १० रन बनाएकी थिइन्। नेपालका लागि सिता रानामगरले दुबै ओपनरलाई आउट गरे भने कविता जोशीले एक विकेट लिइन्।