म्याग्दीको तातोपानी कुण्डमा ‘सन्ध्याकालीन आरती’ सुरु

84
Shares

म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित रहेको तातोपानी कुण्डमा हिजो (सोमबार)देखि ‘सन्ध्याकालीन आरती सुरु भएको छ । प्राकृतिक चिकित्सालयको रुपमा विकसित हुँदै गैरहेको तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी, सर्वसाधारण तथा पर्यटकलाई लक्षित गरेर सन्ध्याकालीन आरती सञ्चालन गरिएको हो ।

साउन महिनाको पहिलो सोमबारका दिन तातोपानी कुण्ड परिसरमा रहेको शिवजीको मन्दिर अगाडि १०८ वटा दिप प्रज्ज्वलन गरी धार्मिक कार्यअन्तर्गत सन्ध्याकालीन आरती सुरु गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । आरतीवाचक रमेश खड्का र तीनजना कन्यासहित छ जना बटुकहरुमार्फत धार्मिक विधि, परम्पराअनुसार पूजाअर्चना गरी सन्ध्याकालीन आरतीको कार्यक्रम अगाडि बढाइएको हो ।

तातोपानी कुण्डमा स्नानको साथमा डुबुल्की मारेर रोग निको पार्न आउने खासगरी विभिन्न रोगीहरुलाई आध्यात्मिक चिन्तन र धार्मिक थेरापीमार्फत उपचारमा थप सहयोग पु¥याउने उद्देश्यले सन्ध्याकालीन आरतीको कार्यक्रम अगाडि सारिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले जानकारी दिनुभयो । उहाँले अब हरेक सोमबार साँझमा सन्ध्याकालीन आरतीको कार्यक्रम सञ्चालन गरिने बताउँदै आवश्यकताअनुसार नियमित रुपमा आरतीलाई आगामी दिनमा सञ्चालन गरिने बताउनुभयो ।

तातोपानी कुण्ड परिसरमा परापूर्वकालदेखि नै धजा, पताका बाँधेर पूजाअर्चना हुँदै आएको थियो । तातोपानी कुण्डमा जलकुण्डेश्वर महादेव समेत रहेको धार्मिक जनविश्वास रहेको छ । तातोपानी कुण्ड परिसर आसपासमा झण्डै आधा दर्जन तातोपानीका मुहान, कुवा र धाराहरु छन् । सन्ध्याकालीन आरती सुरुवातको कार्यक्रमले मानिसहरुमा धार्मिक आस्था र आध्यात्मिक चिन्तन बढ्ने अपेक्षा समेत गरिएको छ । तातोपानी कुण्डमा गरिने नियमित स्नानको साथै सन्ध्याकालीन आरतीमार्फत आध्यात्मिक चिन्तनले मन चोखो र शान्त भई मानव शरिरभित्र रहेका बिकारजन्य रोग तथा व्याधिहरु निको भएर जाने विश्वास लिइएको छ ।

कार्यक्रममा बेनी नगरपालिका–४, सिङ्गाका वडा अध्यक्ष अणबहादुर खड्का (भगवान), तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्का, निवर्तमान अध्यक्ष वीरेन्द्रमान शाक्य र एनआरएनए न्यूजिल्याण्डका अध्यक्ष लालबहादुर केसीले संयुक्त रुपमा दिप प्रज्ज्वलन गरी सन्ध्याकालीन आरतीको सुरुवात गर्नुभएको थियो । यसअघि कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले सन्ध्याकालीन आरती सुरुवातको कार्यक्रमले तातोपानी कुण्डको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने बताउनुभयो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सन्ध्याकालीन आरतीको कार्यक्रम बिरामी र भक्तजनहरूमा आध्यात्मिक चिन्तन, मनमा शान्ति र आनन्द महसुससँगै धार्मिक आस्थाको संरक्षणमा सहयोगी बन्ने बताउनुभयो ।

तातोपानी कुण्ड क्षेत्र धार्मिक दृष्टिकोणले समेत महत्वपूर्ण रहेकाले प्राकृतिक उपचारका लागि आउने बिरामीको उपचारसँगै सन्ध्याकालीन आरतीले तातोपानीको गौरव बढाउने स्थानीयले बताएका छन् । अबदेखि हरेक सोमबार तातोपानी कुण्डको आरती श्रवण तथा दीप प्रज्ज्वलनसहित धार्मिक कार्यमा समेत प्रत्यक्ष रुपमा सहभागी हुन पाइनेछ । प्रत्येक सोमबार साँझ करिब दुई घण्टा आरतीसँगै भजनकितर्न गरिनेछ । भगवान् शिवको पूजा आराधना गर्दै १ सय ८ दीप प्रज्ज्वलन, आरतीसहित विशेष पूजा गर्न पाइने सुविधाले कुण्डमा स्नान गर्न आउने बिरामीहरु समेत उत्साहित बनेका छन् ।

हिन्दु धर्ममा आरती, पूजा अर्चनाको एउटा नियमित परम्परा र विधि हो । बलिरहेका ज्योतिको आरती राखिएका थालीहरु आराध्य देवसमक्ष धार्मिक परम्परासहितको एक विशेष विधि, परम्परा र प्रक्रियाअनुसार शङ्ख ध्वनीसहित जगाउने गरिन्छ । विभिन्न देवीदेवताहरुको नाम र उनीहरुको पूजाआजाका लागि धूप, बत्ती र अगरबत्तीलगायत बालेर घुमाउने क्रिया नै आरती हो । आरतीको कार्यक्रम हिन्दु धर्मका सबैखाले धार्मिक कार्यहरुमा अनिवार्य रुपमा गरिँदै आएको छ ।

जमिन मूनिबाट ४८ डिग्री सेन्टिग्रेडको तापक्रममा विरेनुनको स्वादसहित निस्कने तातोपानी कुण्डमा स्नानसँगै डुबुल्की मारेपछि ग्याँस्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, घाउखटिरा, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्केको, मर्किएको, नसा च्यापिएको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोगहरु निको हुने जनविश्वास रहिआएको छ ।

२०४२ सालमा फेला पारिएको तातोपानीको मुहानलाई स्थानीयवासिन्दाले संरक्षण गरी कुण्डको रुप दिएर प्रचारप्रसार गरेपछि अहिले नेपालकै प्राकृतिक उपचार केन्द्रका रुपमा स्थापित भएको छ । तातोपानी कुण्डमा अहिले स्वदेश तथा विदेशबाट बिरामी, पर्यटक र सर्वसाधारणहरु पुग्ने गरेका छन् ।