हामी एक चीन नीतिप्रति दृढ छौँ : उपाध्यक्ष घिमिरे


काठमाडौँ। 

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन नीतिप्रति दृढ रहेको बताएकी छन्। 
चीनको युनान प्रान्तको कुन्मिङमा आयोजित ८ औं चीन –दक्षिण एसिया प्रदर्शनीमा मंगलबार सम्बोधन गर्दै उपाध्यक्ष घिमिरेले नेपाल एक चीन नीतिप्रति सधैं दृढ रहेको बताइन्। 

नेपालमा पञ्चशिलको सिद्धान्तमा आधारित विदेश नीति संञ्चालनमा रही आएको बताउँदै उपाध्यक्ष घिमिरेले  चीन नेपालबीच दौत्य सम्बन्ध कायम भए पश्चात चीन नेपाल सम्बन्ध नयाँ उचाईमा पुगेको पनि बताइन् । व्यापार, सुरक्षा, सेवा, विकास र प्रविधीमा चीनले हाँसिल गरेका उपलब्धिहरुबाट नेपाल पनि पत्यक्ष वा परोक्षरुपमा लाभान्वित हुँदै आएको छ ।’ उनले भनिन्, हामी एक चीन नीति प्रति दृढ छौँ, आपसी व्यापार, लगानी, ज्ञान र सीप आदान–प्रदान यस प्रकारका प्रदर्शनीहरुबाट अझै विस्तार हुने कुरामा विश्वस्त छु ।’ उनले चीनले नेपालका बहुआयमिक क्षेत्रहरुमा महत्त्वपूर्ण सहयोग पु¥याउँदै आएको चर्चा गर्दैै  चीन हाम्रो एक महत्त्वपूर्ण व्यापार साझेदार मुलुकको रुपमा रहेको छ भनिन् । 

चीनले बिद्यतीय गाडी र ब्याट्री उत्पादनमा हासिल गरेको प्रगतिले पृथ्वीको तापक्रम स्थिर राख्न मद्दत पुगेको देखिन्छ भन्दै उपाध्यक्ष घिमिरेले चीनको यस प्रगतिले नेपालको यातायात क्षेत्र समेत लाभान्वित भएको बताइन्  । उनले नेपालमा आयात हुने अधिकांश विद्युतीय  गाडीहरु चीनियाँ रहेको जानकारी पनि गराइन् ।  चीनबाट वर्षेनी उल्लेख्य संख्यामा पर्यटकहरु नेपाल आइरहेको र  धेरै नेपालीहरु भाषा, सीप विकास र उच्च शिक्षाका लागि चीन गइरहेका कारण एक–अर्काको प्रविधि, सीप र संस्कृति लगाएतका विषयहरु जान्ने अवसर सिर्जना भएको भनाई उपाध्यक्ष घिमिरेको थियो । 

नेपालमा २०८० कात्तिक १७ गते बारेकोट केन्द्रविन्दु बनाई गएको बिनासकारी भुकम्पबाट प्रभावितहरुको  जनजीवनलाई पुर्ववत अवस्थामा फर्काउन चिनियाँ स्रोत र प्र्रविधीको हस्तान्तरण हुने विश्वास पनि उपाध्यक्ष घिमिरेले व्यक्त गरिन् । 

उनले काठमाडौँ – कुन्मिङको सिधा उडान सम्पर्कले यात्रामा छरितो बनाइ दुवै देशको संस्कृतीको आदान –प्रदान र पर्यटकीय गतिविधीमा सहजता थपेको चर्चा गर्दैैै लुम्बिनीस्थित गौतम बुद्ध विमानस्थल र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चीनसँग सिधा उडान स्थापना गर्न सक्दा दुई देश बीचको पर्या–पर्यटनको माध्यमबाट  आर्थिक तथा सामाजिक क्रियाकलाप अझ थप बलियो हुने विश्वास पनि व्यक्त गरिन् ।