यस्ता छन् सरकारी सेवाका पदहरू, सरकारमा कसले के काम गर्छन् ?


काठमाडौं।

सरकारी सेवा वा निजामती सेवा (सिभिल सर्भिस) धेरैको लागि आकर्षणको विषय बन्ने गरेको छ । सरकारी सेवामा प्रवेश गरेर हाकिम बन्ने चाहना धेरैको हुन्छ । तर, यसका लागि लोकसेवाको परीक्षा उत्तीर्ण गरेर अब्बल बन्नुपर्छ । लोकसेवाको लिखित र अन्तर्वार्ता दुवै परीक्षामा उत्तीर्ण हुन सकेमात्रै सरकारी सेवामा सहज प्रवेश पाइन्छ ।

कुनै पनि सरकारी काम लिएर सरकारी निकायमा जाँदा एउटै ड्रेस कोर्डमा सजिएका सरकारी कर्मचारीहरू फरक फरक कुर्सीमा फरक फरक जिम्मेवारी लिएर काम गरिरहेको देखिन्छन् । जन्मदर्ता गर्न तथा कुनै सिफारिस लिन स्थानीय तहमा जानुस्, वा नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय जानुस्, जग्गा जमिनको काम लिएर नापी, मालपोत कार्यालय जानुस्, या लाइसेन्सको काम लिएर यातायात कार्यालय जानुस्, त्यहाँ तिनै सरकारी कर्मचारीहरू काममा व्यस्त भइरहेको देखिन्छ । अहिले त धेरै सरकारी कार्यालयमा युवा पुस्ताका कर्मचारीहरू देखिने गर्छन् ।

राष्ट्र सेवकको उपाधि पाएका ती कर्मचारीहरूलाई सरकारले नै विभिन्न पद दिएर सो पदअनुसार फरक फरक फरक काम लगाएको हुन्छ । समग्रमा निजामती पदलाई दुई समूहमा विभाजन गरिएको छ । राजपत्रांकित र राजपत्र अनंकित । राजपत्रांकितभित्र शाखा अधिकृतदेखि मुख्य सचिवसम्मका कर्मचारी पर्ने गरेका छन् भने राजपत्र अनंकितभित्र खरिदार सुब्बा र बहिदारहरू पर्ने गरेका छन् । कार्यालय सहयोगी र सवारी चालकहरू सहयोगी कर्मचारीअन्तर्गत रहेका हुन्छन्।

यस्ता छन् कार्यालय सहयोगीदेखि मुख्य सचिवको जिम्मेवारी र अधिकार

मुख्य सचिव :

सरकारको प्रमुख प्रशासकीय प्रमुखको रूपमा काम गर्ने

सबै सचिवहरूको सुपरिवेक्षण, समन्वय र अनुगमन गर्ने

मन्त्रिपरिषद्को सचिवको रूपमा काम गर्ने

मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गराउने

सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने

सचिव:

सम्बन्धित मन्त्रालय, निकाय वा आयोगको प्रमुख प्रशासकीय पदाधिकारीको रूपमा काम गर्ने

मन्त्रीको प्रमुख सल्लाहकारको रूपमा काम गर्ने

सरकारले प्रतिपादन गर्नुपर्ने नीतिका सम्बन्धमा सम्बन्धित मन्त्रीलाई सघाउने, आवश्यक नीति बनाउने

आफू कार्यरत निकायको सुधारका लागि प्रभावकारी भूमिका खेल्ने

मन्त्रालय वा निकायका सबै कर्मचारीको हाकिम भई काम गर्ने

सरकारले स्वीकृत गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने

सहसचिव :

मन्त्रालयगत रूपमा आवश्यक पर्ने नीति र निर्णयको लागि सूचना, तथ्यांक, जानकारी र अवस्थाको विश्लेषण गरी निर्णय गर्ने

मन्त्रालयमा महाशाखा प्रमुख, विभागमा महानिर्देशक(डीजी) तथा विभागीय प्रमुखको भूमिकामा काम गर्ने

जिल्लामा सीडीओको भूमिकामा काम गर्ने

उपसचिव :

मन्त्रालयगतका नीति निर्माणका लागि सूचना तथा तथ्यांक संकलन र विश्लेषण गर्ने

कतिपय जिल्ला कार्यालयहरूमा प्रमुखको रूपमा काम गर्ने, मन्त्रालयमा शाखा प्रमुखको रूपमा काम गर्ने

शाखा अधिकृत :

नीति निर्णयका लागि सूचना संकलन र विश्लेषण गर्ने, टिप्पणी उठाउने

कतिपय सरकारी कार्यालयमा प्रमुख प्रशासनिक अधिकारीको रूपमा काम गर्ने

सुब्बा, खरिदार, बहिदार (ननगजेटेड)

अभिलेख व्यवस्थापन

–जिल्ला तहमा टिप्पणी उठान

–कार्यालयका चिठीपत्र ड्राफ्ट गर्ने

सवारी चालक :

कार्यालयको आवश्यकताअनुसार सवारी चलाउने

कार्यालय सहयोगी (पीएन)

कार्यालयमा सहयोगीको भूमिका निर्वाह गर्ने

चिया बनाउने, सरसफाइ गर्ने

विभिन्न चिट्ठीपत्रको दर्ता चलानी गर्ने

एक शाखाबाट अर्को शाखामा सूचना आदानप्रदान गर्ने