अध्यागमन मुलुकको अनुहार हो : गृहमन्त्री लेखक


काठमाण्डौं।

गृहमन्त्री रमेश लेखकले अध्यागमन मुलुकको अनुहार भएको बताएका छन् ।
मंगलबार बिहान काठमाडौंस्थित अध्यागमन विभागको निरीक्षण गर्दै गृहमन्त्री लेखकले मुलुकभित्र प्रवेश गर्ने प्रत्येक मानिस सबै भन्दा पहिले नेपालीका रुपमा भेट्ने अध्यागमन कर्मचारीलाई भएको बताए ।

“तपाईहरुलाई भेट्ने बित्तिकै नेपाल कस्तो छ, नेपाली कस्ता छन् भन्ने कुरा त्यहीबाट प्राप्त हुन्छ,” उनले भने, “त्यो भाव र भावनाका साथ काम गर्नुस् ।”
देशभन्दा बाहिर जाने मानिसकहरुलाई पनि विदाई गर्ने अन्तिम नेपाली पनि अध्यागमनकै कर्मचारी भएको उनको भनाइ थियो । “अलि ‘स्मार्ट’ र ‘स्माइलिङ’ पनि हुनु प¥यो,” उनले भने, “गतल ढंगले मान्छे आउने र जाने कुरामा कर्मचारीको संलग्नतादेखि कारबाही गरे हुन्छ ।”

पछिल्लो समय मानव बेचबिखनका घटनाहरु बढिरहेको सुन्नमा आएको बताउँदै त्यसतर्फ कर्मचारीलाई सचेततापूर्वक खटिन गृहमन्त्री लेखकले निर्देशन दिए । “मानव बेचबिखन पूर्ण रुपमा रोकिनुपर्छ,” उनले भने, “अवाञ्छनीय गतिविधि स्वीकार्य छैन ।”

गृहमन्त्री लेखकले अध्यागमन सम्बन्धि विधयेक संशोधनका लागि एक महिनाभित्र मन्त्रालयमा प्रस्ताव पेश गर्न आग्रह समेत गरे ।
राम्रो कानुन बनाएर कानुन बमोजिम काम गर्दा मुलुकमा सुशासन कायम हुने उनले विश्वास व्यक्त गरे । “संशोधन गर्नुपर्ने कानुन, नियम र कार्यविधिी ल्याउनुस्,” उनले भने, “कानुन निर्माणको विषय मेरो धेरै बढी चाँसो, रुची र अनुभवको विषय भएकाले यसका लागि यो उपयुक्त समय हुन सक्छ ।”

१६ वर्षअघि श्रममन्त्री हुँदा आफूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘श्रम डेस्क’ राखिएको गृहमन्त्री लेखकले स्मरण गरे । उनले दार्चुलाको तिङ्कर र मुस्ताङ्गको कोरलामा अध्यागमन कार्यालय तत्काल स्थापनाका लागि प्रक्रियाअघि बढाउन निर्देशन दिए ।

त्यसैगरी कोरोनापछि नेपाल–भारतका नाकामा भारतीय पक्षबाट विदेशीहरुलाई आवागमनमा गरिएको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काउने विषयमा भारतीय पक्षसँग सकरात्मक छलफल भएको गृहमन्त्री लेखकको भनाइ थियो ।

सुदूरपश्चिम प्रदेशमा दक्षिण–उत्तर जोड्ने महाकाली करिडोर, दोधारा चादँनीमा सुख्खा बन्दरगाह निर्माणको योजनाअघि बढेको बताउँदै गृहमन्त्री लेखकले तिङ्करमा अध्यागमन कार्यालयको आवश्यकता औल्याए ।

यसैगरी कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले अन्तनिकाय बिच समन्वय हुनुपर्नेमा जोड दिए ।

अध्यागनमा कर्मचारीको क्षमता विकाससँगै भौतिक संरचना निर्माण क्रमशः हुँदै गइरहेको उनले बताए । गृह, पर्यटन लगायतका निकायबिच समन्वय र राम्रो व्यवहार हुनुपर्ने गृह सचिव अर्यालको भनाइ थियो ।

यस्तै अध्यागन विभागका महानिर्देशक केशहरि निरौलाले अध्यागनमले गरिरहेको काम कारबाही, आगामी योजना र चुनौतिका विषयमा जानकारी गराएका थिए।