रसिया र बेलारुसलाई घाटा हुने


एजेन्सी ।

पेरिस ओलम्पिक २०२४ मा रसिया र बेलारुस राष्ट्रका लागि पदक जोड्ने संभावना कम रहेको बताइएको छ। ओलम्पिकमा इनडिभिजुल न्युट्रल एथ्लेट्स (एआईएन) का रूपमा ती दुबै देशका खेलाडीले खेल्नेछन्।

उनीहरूका आ–आफ्ना राष्ट्रका झण्डा र राष्ट्रिय गानलाई वंचित गरिने बताइएको छ। यसैले रसियन र बेलारुसी खेलाडीले जित्ने पदकहरू राष्ट्रका लागि गणना गरिनेछैन।

यूक्रेनमाथि युृद्ध गरेको भन्दै रसियालाई केही वर्षदेखि अन्तर्राष्ट्रिय खेलकुदमा खेल्न प्रतिबन्ध लगाइएको हो। ती राष्ट्रका खेलाडीले खेल्नै परेपनि तटस्थ रूपमा खेल्नु पर्ने हुन्छ। रसियाले यूक्रेनमा हमला गरेकोमा बेलारुसले सघाएको हुँदा ती राष्ट्रलाई पनि प्रतिबन्ध लगाइएको हो ।

यसपटक केवल १५ खेलाडी
रसियाले ठूलो संख्यामा खेलाडीलाई ओलम्पिकमा भाग लिने गरेको हुन्छ । तर, यसपटक यस्तो हुने छैन । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले रसियाका लागि ३६ र बेलारुसका लागि २४ खेलाडीलाई खेल्न निमन्त्रणा दिइएको थियो । जसमा, १५ रसियन र १७ बेलारुसी खेलाडीले निमन्त्रणा स्विकार गरेका छन् ।

गत टोकियो ओलम्पिक २०२१ मा रसियन ओलम्पिक कमिटीले ३३५ खेलाडीलाई सहभागिता गराएको थियो । यस्तै, बेलारुसले १०१ खेलाडीलाई टोकियो ओलम्पिकमा पठाएको थियो । तर, टोकियोमा जितेको पदक रसिया र बेलारुसको खातामा भने जोडिएको थिएन । पदकको गणना ती देशका ओलम्पिक कमिटीमा गरिएको थियो ।

१९९६ देखि २०१६ सम्म
पहिले सोभियत संघले १९५२ देखि १९८८ को सोल ओलम्पिकसम्म सहभागिता जनाएको थियो । जबकी १९२० देखि १९४८ सम्म सोभियत संघले ओलम्पिकमा भाग लिएको थिएन। १९९० मा सोभियत संघ विघटन भएपछि रसिया छुट्टै राष्ट्र बन्यो । तर, १९९२ को बार्सिलोना ओलम्पिकमा विघटित सोभियत संघका राष्ट्रहरूले एकीकृत टिमको रूपमा भाग लिएको थियो।

रसियाले छुट्टै ओलम्पिकमा खेलेको १९९६ एटलान्टा ओलम्पिकदेखि हो । तर, यूक्रेनमाथि हमला गरेपछि रसियालाई विश्व खेलकुदबाट प्रतिबन्ध लगाइयो र रसियाको आधिकारिक ओलम्पिक सहभागिता २०१६ सम्म रह्यो।