ओलम्पिक गोल्ड मेसिन माइकल फेल्प्स


एजेन्सी ।

ओलम्पिक कुनैपनि खेलाडीको लागि स्वर्ग हो । जहाँ पुग्न हरेक खेलाडीले कडा मेहनत गरेको हुन्छ । अझ त्यसमाथि पनि ओलम्पिक पदक जित्नु र कीर्तिमान बनाउनु भनेको सपनाले मूर्तता पाउनु हो।

पदक जित्नु भनेको बर्षौको मेहनत र साधनाको प्रतिफल हो। ओलम्पिक खेलकुदले पहिलो देखि ३२औ संस्करणसम्म यात्रा गर्दा हजारौ खेलाडीहरुले पदकमा नाम लेखाइसकेका छन्।

ती हजारौ पदक विजेतामध्ये तुलनात्मक रुपमा विश्व कीर्तिमान र ओलम्पिक कीर्तिमान बनाउनेको संख्या भने निश्चित मात्र छ। खेलसंख्या र त्यसका इभेन्ट्सहरु नै कीर्तिमानको आधार पनि हो। ओलम्पिकमा कयौं कीर्तिमानहरु पनि बन्ने र तोड्ने क्रमले पनि निरन्तरता नै पाईरहेको छ।

सन् १९८५ मा जन्मेका माइकल फेल्प्स त्यस्तै किर्तिमानीमा एक चर्चित खेलाडी हुन् । पौडीका राजा र स्वर्ण पदक मेसिनबाट परिचित अमेरिकी कीर्तिमानी फेल्प्सले आफ्नो ओलम्पिक स्वर्ण पदक संख्या २३ पुर्‍याएर खेलबाट विश्राम लिएको आठ वर्ष भइसकेको छ । उनी ओलम्पिक इतिहासमा नै अहिलेसम्मका सर्वाधिक स्वर्ण पदक जित्ने खेलाडी हुन।

चार ओलम्पिकमा गरी उनले आफ्नो स्वर्ण संख्या २३ पुर्‍याएका छन्। हुनत उनले सन २०१२ को लन्डन ओलम्पिकको समापन पश्चात नै खेलबाट सन्यास लिएर पनि पुनः खेलमा पुनरागमन गरेका थिए। जुन उनलाई निक्कै फाप्यो पनि । सन २०१६ को रियो डे जेनेरियोमा भएको ओलम्पिकमा थप पाँच स्वर्ण जितेपछि उनले खेलबाट संन्यास लिएका थिए।

फेल्प्सले रियो ओलम्पिकको ४ गुणा १०० मिटर मिड्ले रिलेमा उनको २३औ स्वर्ण जितेका थिए। फेल्प्ससहितको अमेरिकी टिमले तीन मिनेट २७.९५ सेकेण्डमा निर्धारित दुरी पुरा गरेर ओलम्पिकमा कीर्तिमान समेत बनायो।

उनले तीन रजत र दुई ओलम्पिक कांस्य पदक पनि जितेका छन्। ट्रयाक एण्ड फिल्डका अल ओएरटर र कार्ल लुइस पछि एउटै इभेन्ट्समा चार पटक जित्ने फेल्प्स तेस्रो अमेरिकी ओलम्पियन हुन। निःसन्देह फेल्प्स सबैभन्दा सफल ओलम्पियन हुन।
सन २०१४ फेल्प्सका लागि सबैभन्दा चुनौतीपूर्ण रहेको थियो।

मादक पदार्थ सेवन र गलत ड्राइभिङ्गको कारण युएस स्विमिंगको निलम्बनमा परेका कारण खेल करियर अन्धकारमा धकेलिएको थियो । यसका बावजूद पनि बानी सुधार गरी २०१५ मा पौडीमा पुनरागमन गरेका फेल्प्सले त्यसको एक वर्षपछि दुर्लभ इतिहास रच्न सफल भए।
फेल्प्सका रोचक कुरा
—ओलम्पिकमा अहिलेसम्मै सर्वाधिक २३ स्वर्ण पदक जित्ने एकमात्र खेलाडी ।
—२००० सिड्नी ओलम्पिकमा १५ वर्षको उमेरमा आफ्नो पहिलो ओलम्पिक खेलेको ।
—२००० देखि २०१६ सम्मका ओलम्पिकमा कूल २८ पदक जितेको ।
—विशेष रूपमा पौडीको बटरफ्लाई स्ट्रोकमा निपुण ।
—एउटै ओलम्पिकमा एकैपटक सबैभन्दा बढी स्वर्ण पदक जित्ने रेकर्ड (बेइजिंग २००८ मा ८ स्वर्ण पदक) बनाएको ।
— व्यक्तिगत स्पर्धामा सबैभन्दा बढी ओलम्पिक पदक जित्ने रेकर्ड (१३ स्वर्ण पदक) बनाएको ।
—२०१२ लण्डन ओलम्पिकपछि खेलबाट संन्यास घोषणा गरेको ।
—पछि संन्यास फिर्ता लिएर २०१६ रियो ओलम्पिकमा स्वर्णसंख्या २३ पुर्‍याएको ।