फोहोरमैला संकलन र ढुवानी गर्न कामपाले जग्गा दिनुपर्ने

280
Shares

काठमाडौं ।

फोहोरमैला स्थानान्तरण गर्न काठमाडौं महानगरपालिकाले स्थान उपलब्ध गराउनुपर्ने भएको छ । कामपाले स्थानीय राजपत्र जारी गरी सो व्यवस्था गरेको हो । फोहोरमैला संकलन र ढुवानीसम्बन्धी कार्यविधि २०८१ मा फोहोरमैला संकलन तथा ढुवानीमा संलग्न पक्षको दायित्वअनुसार फोहोरमैला ढुवानी कार्यमा महानगरपालिकाले जग्गा उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

कार्यविधिको परिच्छेद ४ को बुँदा १४ को ‘ख’ मा कामपाले स्थानान्तरण केन्द्रका लागि भौतिक संरचना निर्माण गर्ने, फोहोरमैला ढुवानीमा प्रयोग रहेका सवारीसाधन तथा उपकरणहरू निर्देशक समितिले तोकेबमोजिम सेवा प्रदायकलाई उपलब्ध गराउने, अनुगमन गर्ने, सचेतना कार्यक्रम सञ्चालन गर्ने, घरधुरी तहमा फोहोरमैला संकलन गर्न सदस्यतता वितरण गर्न सहजीकरण गर्ने उल्लेख छ ।

त्यसै गरी फोहोरमैला संकलन तथा ढुवानी कार्यमा विद्युतीय माध्यमको प्रयोग गर्ने र अभिलेख राख्ने उल्लेख छ । कार्यविधिमा वडा समितिको दायित्वसमेत उल्लेख गरेको छ । वडा समितिले वडाक्षेत्रभित्रको फोहोर संकलन गर्ने समय र प्रक्रियाको बारेमा कामपाको वातावरण विभागबाट जानकारी लिई फोहोर उत्पादकलाई सूचित गर्ने, सेवा प्रदायकलाई फोहोरमैला संकलन र ढुवानी गर्न सहजीकरण गर्ने, नियमित अनुगमन गर्ने र सार्वजनिक स्थलहरूमा उत्पादन हुने फोहोरमैला संकलन र ढुवानी कार्यमा नियमित अनुगमन गर्ने उल्लेख छ ।

कार्यविधिमा सेवा प्रदायकको दायित्व, उत्पादकको दायित्व उल्लेख गरेको छ । फोहोर उत्पादकको दायित्वअन्तर्गत आफूले उत्पादन गरेको फोहोर घर परिसरभित्र वर्गीकरण गरी अरूलाई असर नपर्ने गरी छुट्टाछुट्टै राख्नुपर्ने, सम्भव भएसम्म फोहोरको उत्पादन घटाएर कुहिने फोहोरलाई मल बनाई बगैंचा, गमला, करेसाबारी, कौसीखेती र खेतबारीमा प्रयोग गर्नुपर्नेलगायत विषय उल्लेख छ ।

फोहोरमैला व्यववस्थापन गर्न मेयरको अध्यक्षतामा निर्देशक समिति गठन गर्न उल्लेख छ । फोहोरमैला संकलन तथा ढुवानीसम्बन्धी कार्यमा नीतिगत प्रबन्ध गर्न गठन हुने समितिको सदस्यमा उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र कामपा सहरी योजना आयोगको उपाध्यक्ष, विषयगत समितिका प्रमुख सदस्य रहने व्यवस्था छ । सदस्य सचिवमा वातावरण व्यवस्थापन विभागका प्रमुख रहने छ ।

समितिको बैठक प्रत्येक ३ महिनामा कम्तीमा एकपटक बस्नैपर्ने व्यवस्था गरेको छ । फोहोरमैला संकलन र ढुवानी गर्न नीतिगत प्रबन्ध मिलाउने, समग्र कार्यको अनुगमन गर्ने, स्थानान्तरण व्यवस्थापन समिति, वडा समिति, विभाग र सेवा प्रदायकलाई निर्देशन दिने, कार्यपालिकामा अर्धवार्षिक रूपमा प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले कार्यविधि जारी भएसँगै सबै विषय कार्यान्वयन भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘भर्खरै जारी भएको छ, कार्यान्वयन गराउन सरोकारवाला निकायलाई घच्घच्याइरहेका छौं ।’ कार्यविधि लागू भएसँगै फोहोरमैला व्यवस्थापकलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनैपर्ने, विभागले तोकेबमोजिमको पोशाक, नियमित स्वास्थ्य परीक्षण गरी व्यवसायजन्य स्वास्थ्य सुरक्षाका प्रबन्ध गर्नुपर्ने, स्वास्थ्य र दुर्घटना बिमा गर्नुपर्ने, मनोसामाजिक परामर्स र क्षमता अभिवृद्धिसम्बन्धी तालिम दिनुपर्ने व्यवस्था गरेको छ ।

फोहोरमैला संकलन र ढुवानी गर्न महानगरपालिकाले स्रोतमा वर्गीकरण गरी फोहोरको न्यूनीकरण, पुनः प्रयोग र विसर्जनको कार्यमा क्षेत्रगत आधारमा सार्वजनिक निजी साझेदारी, निजी क्षेत्रसँग सेवा खरिद, आय ठेक्का र अन्य प्रचलित कानुनले तोकेको ढाँचामा समुदायस्तरमा फोहोरमैलाको संकलन तथा ढुवानीका लागि कानुनी व्यवस्था गर्न कार्यविधि तयार गरेको हो ।

काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ७१ बमोजिम नगर कार्यपालिकाले यो फोहोरमैला संकलन र ढुवानीसम्बन्धी कार्यविधि–२०८१ तयार गरी राजपत्रमा प्रकाशित गरेको हो । कार्यविधिमा फोहोरमैलाको संकलन गर्नुपूर्व फोहोरलाई स्रोतमा वर्गीकरण गर्नुपर्ने उल्लेख छ । फोहोरलाई कुहिने, नकुहिने, स्यानिटरी, हानिकारक र पटके गरी ५ प्रकारमा विभाजन गरिएको छ । कार्यविधिमा फोहोरलाई स्रोतमै वर्गीकरण गर्नु प्रत्येक फोहोर उत्पादकको दायित्व हुने व्यवस्था गरेको छ ।

अलग–अलग वर्गीकरण गरी सेवा प्रदायकलाई उपलब्ध गराउनु फोहोर उत्पादकको दायित्व हुने, फोहोर उपलब्ध गराउने समय, संकलन बिन्दु र संकलन मार्ग, सेवा प्रदायकले फोहोर संकलन गर्ने सवारी साधन र सोभित्र वर्गीकृत फोहोरलाई अलग–अलग संकलन गर्ने भाग र कक्षको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

विभागले महानगरक्षेत्रबाट संकलन हुने फोहोर वर्गीकरण गरेर मात्रै ल्यान्डफिल साइट लैजाने गरेको जनाएको छ । विभागीय प्रमुख श्रेष्ठले कार्यविधि आएलगत्तै फोहोर ढुवानी र व्यवस्थापनमा कडाइ भइसकेको जानकारी दिनुभयो ।