को हुन लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य?

462
Shares

बुटवल। 
चेतनारायण आचार्य अर्घाखाँची निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित सांसद हुन् । अर्घाखाँचीको साविक अर्घा गाविस वडा नम्बर ३ (हालको सन्धिखर्क ९) मा विसं. २०२५ जेठ २२ गते जन्मिएका आचार्यको राजनीति यात्रा २०३९ बाट सुरु भएको हो ।

बुवा टिकाराम तथा आमा तारादेवी आचार्यको कोखबाट माहिलो छोराको रुपमा जन्मिएका आचार्य विसं. २०३९ सालमा अनेरास्ववियुमा आबद्ध भएपछि उनको औपचारिक राजनीति यात्रा सुरु भएको हो । कानुन विषयमा स्नातक उत्तीर्ण गरेका उनी बाल्यकालदेखि नै वाक् कलामा अब्बल मानिन्थे ।

२०४७ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य पदमा निर्वाचित भएका उनी २०५४ सालमा एमाले अर्घाखाँचीको सचिव पदमा बहाल भए । लामो समय सचिव रहेर पार्टीमा काम गरेका आचार्य २०६९ देखी २०७८ सम्म जिल्ला कमिटीको अध्यक्ष भएर काम गरे । 

२०७२ सालमा प्राणघातक रोग क्यान्सरले उनलाई थला पा¥यो । जिवन–मरणकै स्थितीमा उनि उपचारका लागी भक्तपुर र केएमसी अस्पतालमा भर्ना भए । नेपालमा उपचार सम्भव नभएपछि  भारतको मेदान्त हस्पिटलमा भर्ना भए । केही निको भएपछि  उनी  रजहरको प्राकृतिक चिकित्सालयमा समेत करिब ३ महिना उपचार गराए । 

लामो समय रोगले च्याँप्दा उनी  फेरि  पुरानै अवस्थामा आउँछन् कि आउँदैनन् भन्ने  उनका घरपरिवार तथा शुभचिन्तकमा शंसय थियो । लामो उपचारमा समय व्यतित गरेका आचार्य क्यान्सर जस्तो भयानक रोगलाई पराजित गर्दै पुनः राजनितीमा सक्रिय रुपमा काम गर्न थाले । 

२०६४ को संविधान सभा निर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका उनी  माओवादीका टोप बहादुर रायमाझीसँग पराजित भएका थिए । 

देशमा सङ्घीय प्रणाली अनुसार भएको २०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी अर्घाखाँची क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भए । नेपाली कांग्रेसका उम्मेदवार विष्णु मुस्कानलाई १० हजार ६०४ मतान्तरले पराजित गर्दै उनी पहिलो पटक प्रदेश सभा सांसद बनेका थिए ।

२०७९ को निर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर १ (क) बाटै राष्ट्रिय जनमोर्चाका उम्मेदवार सागर केसीलाई ७४० मतान्तरले पराजित गर्दै उनी दोस्रो पटक विजयी भएका हुन् । शंकर पोखरेल मुख्यमन्त्री भएका बेला पहिलो पटक मन्त्री बनेका आचार्यले आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेका थिए । करिब एक महिना मात्र मन्त्री बनेका आचार्य दोस्रो पटक लीला गिरीको नेतृत्वमा खानेपानी तथा सहरी विकास मन्त्री बनेका थिए । 

दोस्रो कार्यकाल पनि लामो समय मन्त्री बन्न नपाएका आचार्य गत चैत्र २५ गते जोख बहादुर महराको नेतृत्वमा आन्तरिक मामिला तथा योजना मन्त्री बने । पछिल्लो समय करिब तीन  महिना मन्त्री सम्हालेका उनले चौथो पटक भने मुख्यमन्त्रीकै जिम्मेवारी प्राप्त गर्न सफल भएका छन् ।

हाल उनी  नेकपा एमालेका केन्द्रीय सदस्य तथा एमाले दाङ जिल्लाको इन्चार्जको जिम्मेवारीमा छन् ।