१०८ वर्ष पुरानो कोपा अमेरिका



काठमाडौं ।

विश्व फुटबलमा दक्षिण अमेरिका छुटाउन नमिल्ने नामको रुपमा परिचित छ । फिफा विश्वकपको २२औं संस्करण सम्पन्न भइसक्दा १० पटक दक्षिण अमेरिकी राष्ट्रले उपाधि आफ्नो पोल्टामा पारिसकेका छन ।

अझ त्यसमाथि पनि विश्वकप सर्वाधिक पाँच पटक जित्ने टोलीको रुपमा ब्राजिलले कायम गरेको कीर्तिमानले फुटबलको पावर हाउसको रुपमा परिचित युरोपलाई पनि माथ दिएको छ दक्षिण अमेरिकाले । वास्तवमा १५औं शताब्दीतिरबाट स्पेनिस र पोर्चुगिजहरुले उपनिवेश कायम गरेको भएपनि १९औं शताब्दीतिर मात्र दक्षिण अमेरिकामा फुटबलले प्रवेश पाएको देखिन्छ । इतिहासलाई पल्टाउने हो भने ब्रिटिश संस्कृतिको प्रवेशसँगै दक्षिण अमेरिकाले फुटबललाई अपनाएको देखिन्छ ।

पेले होस् वा म्याराडोना, मेसी होस् वा नेयमार, दक्षिण अमेरिकाको माटोबाट बल दोहर्‍याउन सुरु गरेका थिए यी हस्तीहरुले। यिनीहरुको नाम बिना दक्षिण अमेरिकी फुटबल नै अपूरो हुन्छ। अझ यूरोपियन क्लब फुटबलको इतिहास र आधुनिक परिवेशलाई नियाल्ने हो भने दक्षिण अमेरिकी फुटबलरहरुको नाम बिना अधुरै हुन्छ।

वास्तवमा यिनै कारणहरुले गर्दा पनि दक्षिण अमेरिकी फुटबलको वजनलाई अवमूल्यन गर्न सान्दर्भिक नहोला । अनि धेरै अर्थमा महत्वपूर्ण पनि बनेको छ दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिताको महत्व । महादेशीय फुटबल प्रतियोगिताको कुरा गर्नुपर्दा दक्षिण अमेरिकी फुटबल प्रतियोगिता विश्वकै ज्येष्ठ फुटबल प्रतियोगिता समेत हो । दक्षिण अमेरिकी महादेशीय फुटबल पर्व अर्थात कोपा अमेरिकाको इतिहासले १०८ वर्ष पूरा गरेको छ । सन् १९१६ मा पहिलो पटक आयोजना गरिएको यस प्रतियोगिताले एक शताब्दी लामो यात्रा तय गर्दा ४८औं संस्करण पार गरिसकेको छ ।

सुरुवातमा यसलाई स्पेनिस एण्ड पोर्चुगिज फोर अमेरिका कपबाट सम्बोधन गरिन्थ्यो । त्यसपछि साउथ अमेरिकन फुटबल च्याम्पियनशिप हुँदै कोपा अमेरिका कप फुटबल प्रतियोगिताको नाम धारण गरेकोहो । सुरुवातमा वार्षिक रुपमा आयोजना भएता पनि केही समय पश्चात दुई देखि बढीमा चार वर्षको अन्तरालमा एक पटक आयोजना हुँदै आएको छ । अहिले यो प्रतियोगितामा दक्षिण अमेरिकी राष्ट्रहरु मात्र सम्मिलित छैनन । दुई दशकयता कोपा अमेरिकामा अन्य महादेशीय राष्ट्रहरुले पनि सहभागिता जनाउँदै आएका छन् ।

अर्जेन्टिना कोपा अमेरिकाको बादशाह कहलिएको छ । प्रतियोगिताको सर्वाधिक विजेता अर्जेन्टिना अहिलेसम्म १६ पटक कोपा अमेरिका च्याम्पियन बनेको छ । अर्जेन्टिनाले पछिल्लो पटक सन २०२४ को जुलाई २४ मा १६औं पटक उपाधि कब्जा गर्न सफल भयो । कोपा अमेरिका सर्वाधिक जित्नेहरुको दोस्रो र तेस्रो स्थानमा क्रमशः उरुग्वे र ब्राजिलको नाम आउंछ । उरुग्वेले अहिलेसम्म १५ पटक उपाधि चुमेका छन् भने ब्राजिलले ९ पटक जितेको छ । प्रतियोगितामा सहभागी दक्षिण अमेरिकी राष्ट्र मध्ये इक्वेडर र भेनेज्युएला मात्र अहिलेसम्म उपाधिविहीन छन् ।

रोचक तथ्यहरुः
विश्वकप जितेका डिएगो म्याराडोनाल कोपा जित्न नसकेको ।
पेले एकपटक मात्रै उत्कृष्ट खेलाडी (१९५९ )
लियोनेल मेसी २ पटक उत्कृष्ट खेलाडी (२०१५ र २०२१)
अर्जेन्टिनाले सर्वाधिक १६ पटक उपाधि जितेको
१९५९ वर्षमै दुई पटक प्रतियोगिता आयोजना भएको