पुस्तक चर्चा : मर्मस्पर्शी गद्य काव्य ‘परदेशी’

84
Shares

पूर्वीय संस्कृत साहित्यमा काव्य विधाका असंख्य कृतिहरु पाइन्छन् । पछिल्लो समय नेपाली भाषामा समेत काव्य रचना गर्ने क्रम बढ्दो छ । यसै क्रममा साहित्यकार एवं पत्रकार सनत गिरी ‘गाउँले’द्वारा लिखित ‘परदेशी’ लघुकाव्य हालै प्रकाशित भएको छ। सरल शब्दमा लेखिएको यो लघुकाव्यले हरेक नेपालीको मन छुने देखिन्छ । जति यो सरसर्ती बगेको छ, त्यति नै मर्मस्पर्शी पनि छ । सजिलै पाठकले बुझ्न र मनन गर्न सक्ने देखिन्छ यो कृति ।

यो ‘परदेशी’ लघु काव्य विदेशमा धन कमाएपछि स्वदेश फर्केर केही गरी आफ्नो कृति राख्न चाहने युवकको परिवेशमा आधारित रहेको छ । यस काव्यमा नायक अर्थात् मुख्य पात्रका रुपमा सञ्चय र नायिकाका रुपमा सजनीलाई स्थान दिइएको छ। कवि गिरीले परदेशीका स्वाभाविक मनोभावनालाई शब्दमा उतार्नुभएको छ यस कृतिमा।

उहाँले प्रेम, अनुराग र अन्तरमनका भावनासँगै जीवनकै भोगाइहरुलाई विषयवस्तु बनाएको पाइन्छ । परिवर्तन, सामाजिक एवं सांस्कृतिक परिवेश, प्राकृतिक विम्ब, आपत्–विपत्देखि जीवनका शाश्वत मूल्य–मान्यताका यथार्थ दृश्यलाई यस काव्यमा समाहित गरिएको छ । यसमा भनिएको छ–
विदेश जाने कुरालाई छाड,
यहीँ बसी रमाउँला
साहुको भारी बोकेर यहाँ
केही पैसा कमाउँला ।
विदेशमा गई श्रम गरी
दुःख नै गर्ने हो
गरिबलाई जहाँ गए पनि त्यस्तै
आँखा नै तर्ने हो ।

यो कृतिमा कोमलता र सरलता मात्र हैन, लेखन शैली सरल र आम पाठकले बुझ्न कठिनाइ नपर्ने देखिन्छ । देश र समाजलाई कविले गहिरोसँग बुझेको यस कृतिबाट स्पष्ट हुन्छ । कृति पठनीय मात्र छैन, मनोरञ्जन दिन पनि सफल छ । यस कृतिले नेपाली साहित्य क्षेत्रको काव्यिक फाँटमा एउटा इँटा थप्ने काम गरेको छ ।
कवि–मनहरु मनोभावना प्रकट गर्न र कल्पनाको आकाशमा सिर्जनाका शब्दहरु कोर्न स्वतन्त्र हुन्छन् नै । परिवेशका परिघटनालाई शब्दमा शैलीगत रुप दिएर तयार गर्नु पनि सिर्जनाकै स्वरुप हो । यसमा आमपाठकका लागि भावनाका शब्दहरुलाई समर्पण गरिएको छ, सम्बोधन गरिएको छ । शब्द संयोजनद्वारा आत्मीयताको प्रवाह गरिएका सिर्जनाहरु ज्यादा भेटिनुले यस कृतिको शीर्षकले सार्थकता वहन गर्न सकेको देखिन्छ ।
साहित्यमा सिर्जना र समर्पणको भाव गहिरो हुन्छ, जसलाई एउटा सर्जकले बगाइरहेको हुन्छ । ‘परदेशी’ लघुकाव्यभित्रका सिर्जनाहरुले भलै कारुणिकता र वियोगान्त भाव बढी बोकेको छ । तर पनि यो काव्य रमाइलो र संयोगान्तरुपमा अन्त्य भएको छ । अन्त्यमा भनिएको छ–
विदेश अब जान्न म त,
यहीँ बसी रमाउँला
कृषि उद्योग खोल्छु म त
ज्यावल समाउँला ।

वि.सं. २०३० मा काठमाडौँको दहचोकमा जन्मिएका सर्जक गिरी नेपाली पत्रकारिता क्षेत्रमा समेत परिचित व्यक्तित्व हुनुहुन्छ। यो कृतिबारे यसका लेखक गिरीले भन्नुभएको छ– एउटै कृतिले कविलाई अमर बनाउँछ, त्यसैले यो काव्यले मलाई सफल कविका रुपमा परिचय दिनेछ भन्ने मलाई लागेको छ।

कवि एवं गीतकार गाउँलेले यसअघि ‘तिम्रो लागि’ शीर्षकको गीत–गजल संग्रह प्रकाशित गरिसक्नुभएको छ । यो ‘परदेशी’ काव्य उहाँको दोस्रो कृति हो।