विश्वको भविष्य निर्धारण गर्ने ‘जेन जी’

252
Shares

स्मार्ट फोनको स्क्रिनमा औंलाहरू दौडाएर सामाजिक सञ्जालमा बस्सिन, सल्टी, डब्लु, स्न्याक भनेर कमेन्ट हान्ने र पढ्ने गरुन्जेलसम्म त संसारभर बस्ने मानिसहरूको ठूलो समुदाय आफ्ना साथी र शुभचिन्तक हुन् भनेजस्तो लाग्छ। भर्चुअल संसार नै वास्तविक संसार हो कि भन्ने भान पनि पर्न सक्छ। तर फोन बन्द गरेर सोच्दा भेट्ने सक्नेखालको कुनै साथी वा कसैको साथ पाइँदैन ।

यतिखेर छिमेकी र आफन्तलाई नचिन्ने मात्र होइन, घरमा के भइरहेको छ त्योसमेत पत्तो नपाउने, मानसिक तनाव र भावनात्मक विचलनमा परेका किशोरकिशोरीको एउटा ठूलो समूह हुर्किंदै छ, जो आफूलाई ‘जेन जी’ अर्थात् जेनेरेसन जेड भन्न रुचाउँछ। इन्टरनेटमा जुम गरिरहने पुस्ता भएकोले जुमर्सबाट जेड लिएर ‘जेन जी’ प्रचलनमा ल्याइएको हो।

विभिन्न विद्वानहरूले यो जेन जीको समयावधिलाई एकदुई वर्ष अघिपछि गरेर उल्लेख गरे तापनि अमेरिकी मनोवैज्ञानिक डा. जेन ट्वङ्गेले आफ्नो पुस्तक ‘जेनेरेसन’मा विभिन्न पुस्ताहरूको विभाजनको क्रममा सन् १९९५ देखि सन् २०१२ का बीच जन्मिएको पुस्तालाई ‘जेन जी’ भनेर उल्लेख गरेकी छन् ।

उनले सन् १९६५ देखि १९७९ को बीचको पुस्तालाई ‘जेन एक्स’, १९८० देखि १९९४ विचकोलाई ‘जेन वाई’ र २०१२ पछिको पुस्तालाई ‘जेन अल्फा’ भनेर उल्लेख गरेकी छन् । जेन जी पुस्ता जन्मिँदा नै विश्वमा इन्टरनेट र स्मार्ट फोन प्रचलनमा आइसकेको थियो । यो पुस्ता भनेको कलिलै अवस्थादेखि इन्टरनेट, स्मार्ट फोन र सामाजिक सञ्जाल प्रयोग गर्दै हुर्किएको पुस्ता हो।

अघिल्लो पुस्ताहरूभन्दा शिक्षित, प्रविधिमैत्री र जातीय एवं सांस्कृतिक रूपमा विविधतालाई रुचाउने यो पुस्ताको प्रकृति र वातावरणको संरक्षणमा पनि विशेष रुचि देखिएको छ।

अहिलेसम्मकै सबैभन्दा बढी साधनस्रोत पाएको यो पुस्तालाई सूचना सामग्रीहरूले थिचिएको पुस्ता पनि भनिन्छ।आवश्यक्ताभन्दा बढी सूचना र जानकारीले ‘मेन्टल ब्यान्डविथ मिसयुज’ भइरहेको र एकैपटक धेरै काम गर्ने ‘मल्टि टास्किङ’ प्रवृत्तिले यो पुस्ताको कार्य क्षमता अपेक्षित रूपमा उपयोग हुन नसकेको विज्ञहरूको भनाइ छ ।

जेन जीहरू दैनिक तीन चार घण्टासम्म इन्स्टाग्राम, फेसबुक, स्न्यापच्याट, टिकटक, ट्विटर, वा ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा बिताउँछन् । संसारको जानकारी औंलाको टुप्पामा भएर पनि कतिपय किशोरकिशोरीहरू आफ्नो लागि आवश्यक सामग्री छान्न नसकेर अल्मलिएको अवस्थामा छन् । एकपछि अर्को रिल्समा स्क्रोल गर्दै औंला घिसारिरहेका उनीहरूलाई कुनै बेला आफूले के खोजेको हो भन्ने आफैंलाई पनि थाहा हुँदैन । तर, सँगसँगै कतिपय भने कुनै एक विषयमा घोत्लिएर आफूलाई अब्बल बनाउने दौडमा लागिरहेको पनि हुन्छन् ।

सामाजिक सञ्जालमा अक्षरभन्दा दृश्यसँग बढी रमाउने यो पुस्ताको खाना, फेसन र जीवनशैली अघिल्लो पुस्ताभन्दा धेरै भिन्न हुँदै गएको छ । ठूलो नापको कपडा लाउनुलाई स्न्याक अर्थात् सुपर अट्र्याक्टिभ मान्छन् भन्ने अघिल्लो पुस्ताले जंक फुड भनेर पन्छाउँदै लगेको खानालाई बस्सिन अर्थात् एकदमै स्वादिष्ट मानेर खान रुचाउँछन् । हरेक नयाँ ठाउँ र खानाको स्वाद लिनुअघि फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नुलाई ऊ आफ्नो ‘डब्लु’ अर्थात् जित ठान्छ भने आफूबाहेक अरूले पोस्ट गरेमा त्यसमा ऊ ‘सल्टी’ अर्थात् ईर्ष्यालु हुन्छ ।

जातीय र लैंगिक समानताको पक्षधर जेन जीहरू धर्म र परम्पराप्रति त्यति गम्भीर छैनन् । अन्यायलाई सहन नसक्ने उनीहरू भ्रष्टाचार र अन्यायकाविरुद्ध क्रुद्ध भए पनि त्यसलाई चुनौती दिनेगरी राजनीतिमा भने आफैं अघि सरेका छैनन् । तर, मतदान अधिकारको उपयोग गरेर परम्परागत राज्य सत्तालाई चुनौती दिन सक्ने क्षमता भने उनीहरूले प्रदर्शन गरिसकेका छन् । अघिल्लो स्थानीय निकायको चुनावमा काठमाडौंको मेयर बालेन साहलाई जिताउन सशक्त भूमिका निर्वाह गरेर उनीहरूले यस्तो क्षमता प्रदर्शन गरेका हुन् ।

यिनीहरू असीमित अवसर भएको समाज परिवर्तनका संवाहक हुन् । उनीहरूको काम गर्ने, सुत्ने समय निश्चित हुँदैन । धेरै समय सामाजिक सञ्जाल र अरू सौखका विषयमा बिताएर अन्तिम समयमा काम फत्ते गर्ने आत्मविश्वास उनीहरूले लिएका हुन्छन् ।
जेन जी साधनस्रोत सम्पन्न, ऊर्जावान र प्रविधिमैत्री छन्, तर उनीहरू आफ्नो जीवनवृत्ति अर्थात् ‘क्यारियर’ र निजी सम्बन्ध अर्थात् ‘रिलेसनसिप’मा अस्थिर देखिन्छन् । नेपाली समाजको सन्दर्भमा भन्नु पर्दा कुमारी अवस्थामा विवाह गर्नुलाई धर्म मान्ने पुस्ता र फेरिफेरि ‘डेटिङ’मा जाने र ‘लिभिङ टुगेदर’लाई आवश्यकता ठान्ने पुस्ता सँगसँगै बाँचिरहेका छन् ।

जीवनभर एउटा कार्यालयमा काम गरेर पेन्सन खान रुचाउने पुस्ता र एउटै कार्यालयमा धेरै समय नटिक्ने र आफैंले रोजगारी सिर्जना गरेर कुनै कार्यमार्फत् समाजमा प्रभाव छोड्ने चाहना राख्ने पुस्तालाई एउटै कार्यालयमा सँगसँगै काम गर्न भने कठिनाइ परेको देखिन्छ।

जेन जीहरू घर वा कार्यालय बाहिरबाटै काम गर्न, सूचना आदानप्रदानका लागि सामाजिक सञ्जाल वा एसएमएसजस्ता डिजिटल कम्युनिकेसन प्लेटफर्म प्रयोग गर्न रुचाउँछन् भने अघिल्लो पुस्ता भेटेर वा फोनमा छलफल गर्न रुचाउँछन्। यसले दुई पुस्ताबीच असमझदारी सिर्जना भइरहेको छ । जेन जी काम र व्यक्तिगत जीवनलाई सन्तुलित गर्न चाहन्छ।

आफ्ना सौखहरू पूरा गर्ने, घुम्न रमाउने, फुर्सद लिएर आराम गर्न चान्छ तर परम्परागत शैलीका कार्यालयहरूमा उनीहरूको चाहनाअनुरूपको सन्तुलन प्रायः नहुने भएकोले कामप्रति वितृष्णा आउने र कतिपय बर्नआउट सिन्ड्रोमको शिकार हुने हुन्छन्। यस्तै गरी जेन जी पुस्ताले आफ्नो क्यारियरको वृद्धि र विकास छिटोछिटो होस्, काममा मोटिभेसन र वरियन्टेसन, कामको निरन्तर फिडब्याक, अध्ययनका अवसर तथा बढी पारिश्रमिक प्राप्त होस् भन्ने चाहना राखेका हुन्छन् । उनीहरू काममा विविधता तथा टिम वर्कमा बढी रुचि राख्छन्।

यस्तै, कारणहरूले गर्दा एकले अर्कोलाई बुझ्न नसक्दा कार्यालयमा मात्र होइन घरमा समेत दुई पुस्ता बीच समस्या परिरहेको छ भने दूरी पनि बढ्दो छ । आफ्नो भावना, विचार र उद्देश्य बुझाएर आफ्ना बाबुआमाको विश्वास जित्न नसक्नु यो पुस्ताको ठूलो कमजोरी हो ।

सामाजिक सञ्जालको भित्तामा देखिने जीवनलाई नै वास्तविक जीवन ठान्ने मौन प्रवृत्तिको यो पुस्ताले भाषा र बोल्ने कलामा पनि प्रशस्त कमजोरीहरू देखाउने गर्छ । आफ्नो अधिकांश सञ्चार अनलाइनबाट गर्ने यो पुस्ता बढी नै अन्तरमुखी छ र प्रत्यक्ष कुराकानीमा हडबडाउने प्रवृत्ति देखिन्छ । समाजिक सञ्जालको सही सदुपयोग गर्न नसक्दा उनीहरूले साइबर बुलिङ, ब्लाकमेलिङलगायत अनेक मानसिक समस्याको सामना गरिरहेका हुन्छन् ।

संगीत, सिनेमा, खेलकुद, राजनीति, व्यापार, दैनिक कार्य आदिलाई वास्तविक रूपमा ग्लोबल बनाउने जेन जी पुस्ताको भावना र विचारलाई अघिल्लो पुस्ताले पनि बुझ्न जरुरी छ । जेन एक्स, जेन वाइ र जेन जी पुस्ताबीच पुलको काम गर्ने र जेन जीलाई संबोधन गर्ने सामग्रीहरू पस्किने उद्देश्ले यस प्रकाशन गृहले नयाँ स्तम्भहरू पनि शुरू गरेको छ । किनकि विश्वको भविष्य निर्धारण गर्ने जिम्मेवारी यही पुस्ताको काँधमा हस्तान्तरण हुँदै छ ।