बालेन्द्रको कामविरुद्ध सडकमा कार्यालय

350
Shares

काठमाडौं ।

उच्च अदालत पाटनको आदेशपछि जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको बाटोको क्षेत्रफल घटाएर फुटपाथ बढाउन थालेको विरोधमा वडाअध्यक्षले सडकमै कार्यालय सञ्चालन गरेका छन् ।

कामपा–२२ का अध्यक्ष चिनीकाजी महर्जनले फुटपाथ बढाएर सडकको क्षेत्रफल घटाउने निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्दै सडक छेउमा कार्यालय स्थापना गर्नुभएको छ । वडाअध्यक्ष महर्जनले स्थानीयवासीको सल्लाह र सहमतिविपरीत गरेको निर्णय मान्य नहुने उल्लेख गर्दै त्यसको विरुद्धमा बाध्य भएर सडकमै कार्यालय स्थापना गरेको जानकारी दिनुभयो ।

एमाले समर्थित वडाअध्यक्षसहित स्थानीयबासीले मेयर बालेन्द्र साहले गरेको निर्णयको चर्को विरोध भएको छ । तीन दिनदेखि सडकमा काम गर्न राखिएको डोजर फिर्ता भएको हो । बिहीबारबाट फुटपाथ बढाएर सडक घटाउन थालेपछि स्थानीयले सडकमै टेन्ट गाडेर आन्दोलनलाई तीव्र बनाएका थिए । कामपाले न्युरोड क्षेत्र फुटपाथ विस्तार गर्न आरोग्य–साइटेक जेभीलाई जेठ २ गतेबाट शुरू भएको ठेक्का चैतसम्म सम्पन्न गर्ने गरी स्वीकृत गरेको थियो । कामपाले २ करोड १८ लाखमा ठेक्का दिएको थियो । सो ठेक्का न्युरोड क्षेत्र वरपरको समेत पर्नेछ ।

कामपाले काम स्थगित गर्ने संकेत नदेखेपछि स्थानीयसहितका वडाअध्यक्षले न्युरोडको सडक साँघुरो बनाउन नहुने भन्दै फुटपाथ विस्तारको विरोध गरिरहेका छन् । अदालतको आदेशपछि शुरू भएको काठमाडौंको न्युरोडको फुटपाथ विस्तारको काममा स्थानीयले विरोध गरेका थिए ।

विरोधपछि कामपाले निर्माण सामग्री र सवारीसाधन फिर्ता लगेको थियो । डोजर फिर्ता भए पनि काम स्थगित नभएसम्म निरन्तर रूपमा आन्दोलन जारी रहने वडाअध्यक्ष महर्जनको भनाइ छ । वडाअध्यक्ष महर्जनले स्थानीयको रोजीरोटी खोसिने गरी भएको निर्णय मान्य नहुने बताउनुभयो ।

महर्जनसँगै कामपामा एमालेबाट प्रतिनिधित्व गर्ने सबै वडाअध्यक्षले विरोध गरेका थिए । कामपाका प्रवक्ता नवीन मानन्धरले सहमतिमै काम गर्नुपर्ने अवस्थामा आपसमा झगडा भइरहेकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘यस्तो विषयमा त मेयरले न्युरोड क्षेत्रका वडाअध्यक्षसँग सल्लाह गर्नुपथ्र्यो, हचुवाको भरमा आरोप प्रत्यारोपमा उत्रनु गलत हो ।’

महानगरले फुटपाथ विस्तारको निर्णय फिर्ता नलिएसम्म सडकमै बसेर काम गर्ने वडाध्यक्ष महर्जनको भनाइ छ । ‘फुटपाथ विस्तार निर्णय फिर्ता नलिन्जेलसम्म २२ वडाका सम्पूर्ण कामकाज धर्मपथ सडकखण्डको नेपाल बैंक जाने बाटोमा धर्नाका लागि बनाएको पालभित्रबाट सञ्चालन गर्नेछौं’ –अध्यक्ष महर्जनको भनाइ छ । वडाअध्यक्ष महर्जनसँगै कर्मचारीले समेत सडकबाटै काम जारी राखेका छन् ।

अधिकांश वडाअध्यक्षले मेयर साहले तानाशाही प्रवृत्ति देखाएको र उक्त कुरा स्वीकार हुन नसक्ने बताएका छन् । मेयर साहको सम्पदा सल्लाहकार यादवलाल कायस्थले सरोकारवाला स्थानीय जनताको सहमतिबेगर जबरजस्ती गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘फुटपाथ बढाएर बाटो घटाउनु थियो भने स्थानीय जनप्रतिनिधि, सरोकारलावा र स्थानीयवासीसँग कुरा गर्नु अपरिहार्य हुनेछ ।’
ट्राफिक प्रहरीले डोजर हटायो

काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले फुटपाथ निर्माण भइरहेको स्थानबाट आफूहरूले जोडर नहटाएको स्पष्ट पार्नुभएको छ । ‘ठेकेदारले पनि हटाएको होइन, हामीले त हटाउने कुरै भएन’ –उहाँले भन्नुभयो। उहाँका अनुसार ठेकेदारले काम गरिरहेको थियो । के कारणले हटाएको हो जानकारी भएन ।

कामपाले पहिलो चरणमा न्युरोड जुद्ध शालिकदेखि इन्द्रचोकसम्म फुटपाथ विस्तार शुरू गरेको थियो । कामपाले न्युरोड क्षेत्र फुटपाथ विस्तार गर्न आरोग्य–साइटेक जेभीलाई जेठ २ गतेबाट शुरू भएको ठेक्का चैतसम्म सम्पन्न गर्ने गरी स्वीकृत गरेको थियो । कामपाले २ करोड १८ लाखमा ठेक्का दिएको थियो । नगर प्रहरी प्रमुख पाण्डेले महानगरको निर्णय नभई आफूहरूले जोडर र सवारीसाधन फर्काउन नमिल्ने बताउनुभयो ।

उहाँका अनुसार ट्राफिक प्रहरीले जेब्रा क्रसमा सवारी राख्न हुँदैन भनिरहेको थियो, हामीले सो विषय वास्तै गरेनौं । सवारी आवागमनमा समस्या आएपछि ट्राफिक प्रहरीले हटाएको हुन सक्छ ।