तपाईं एआईमा कतिको अभ्यस्त हुनुहुन्छ ?


आधुनिक युग कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल ईन्टेलिजेन्स (एआई) कै हो भन्दा फरक नपर्ला । विश्वमै यति छिटो रफ्तारमा एआईको विकास भइरहेको छ कि यसले समाजका विभिन्न क्षेत्रहरूमा व्यापक परिवर्तन ल्याउने सम्भावना छ । यसको प्रयोग स्वास्थ्य सेवा, शिक्षा, व्यवसाय र उद्योग, यातायातका साथै स्मार्ट सिटी व्यवस्थापनमा पनि प्रभावकारी हुने देखिएको छ । यसैका कारणले भविष्यमा धेरै पेशा संकटमा पर्ने र धेरैले रोजगारी गुमाउने अवस्था सिर्जना हुने देखिएको छ भने यसको उपयोगितालाई मनन गरेर समयमै योसँग अभ्यस्त हुँदै जाने हो भने यसले मानिसको दैनिकी र पेशागत जीवनमा महत्वपूर्ण सहयोगीको भूमिका निभाउने छ । यसैका कारण थुप्रै नयाँ रोजगारी पनि सिर्जना हुँदै जानेछ ।

के हो त एआई ?

कम्प्युटर प्रणाली वा रोबोटलाई मानिसले जस्तै सोच्न र काम गर्न सक्षम बनाउने प्रविधि हो एआई । एआई मेसिनले आफ्नै अनुभवबाट सिक्ने, समस्याहरू समाधान गर्ने र निर्णय लिनसक्ने क्षमता भएको प्रविधि हो । विभिन्न एआईमध्ये अहिले च्याट जीपीटी बढी प्रचलित छ ।

च्याट जीपीटीबारे सामान्य जानकारी

यो ओपन एआईले विकास गरेको एउटा भाषा मोडेल हो । जसले प्राकृतिक भाषा प्रशोधन (एनएलपी) को प्रविधि प्रयोग गरेर मानिसले जस्तै हामीले सोधेको कुराको जवाफ दिनसक्छ । यसले इन्पुटलाई बुझेर त्यसको आधारमा सान्दर्भिक जवाफ दिन्छ । यसले इन्डेक्सिङ र एल्गोरिदम प्रयोग गरेर इन्टरनेटमा सामग्री खोज्छ र सबैभन्दा सान्दभिक नतिजा देखाउँछ । यसलाई जीपीटी (जेनेरेटिभ प्रि–ट्रेन्ड ट्रान्सफर्मर) मोडेलको आधारमा निर्माण गरिएकोले अघिल्लो तथ्यांकबाट सिकेर नयाँ संवाद गर्न सक्छ । यसलाई लेख लेख्ने, भाषा अनुवाद गर्ने, प्रश्नोत्तर बनाउने जस्ता काममा प्रयोग गर्न सकिन्छ । यसलाई विभिन्न प्रकारका पाठ्यक्रम डाटाहरूमा प्रशिक्षण दिइएको हुनाले यसलाई विभिन्न विषयहरूको ज्ञान छ र यसले विभिन्न प्रकारका प्रश्नहरूको उत्तर दिन सक्छ ।

ईमेल, निबन्ध, कोडका साथै व्यापारिक योजना बनाउन पनि यसको प्रयोग गर्न सकिन्छ । अहिलेसम्म यसको नियमित संस्करण निःशुल्क प्रयोग गर्न सकिन्छ । तर, यसको एड्भान्स संस्करणको लागि भने महिनाको २० अमेरिकी डलर शुल्क तिर्नुपर्छ ।

च्याट जीपीटीमा जानलाई यो लिंकमा जानुहोस्, www.chatgpt.com