फुटपाथ विस्तारका लागि प्रयोग गर्न ल्याइएको डोजर काठमाडौं महानगरपालिकाले हटायो


काठमाडौँ।

फुटपाथ विस्तारका लागि प्रयोग गर्न ल्याइएको डोजर काठमाडौं महानगरपालिकाले न्यूरोडबाट हटाएको छ । न्यूरोडमा फुटपाथ विस्तारका लागि प्रयोग गर्न ल्याइएको डोजर तीन दिनपछि जुद्धशालिकबाट महानगर फिर्ता भएकाे हाे ।

फुटपाथ विस्तार गर्न गएकाे डाेजर फिर्ता भएपछि फुटपाथ विस्तारको काम अलपत्र परेकाे छ । न्यूराेड क्षेत्रमा सडककाे बायाँ साइट खनेर राखिएकाे छ ।

गत बुधबारदेखि फुटपाथ विस्तारको काम सुरु भएको न्यूरोडमा स्थानीयको विरोध पछि काम अवरुद्ध भएको छ । तीनदिनदेखि काम अघि बढ्न नसकेपछि सडक खन्न लगि गएको डोजर आज बिहान ७ बजे स्थानीयकाे दबाबमा हटाइएको हो ।

शुक्रबारदेखि स्थानीयले फुटपाथको विरोध गर्दै अवरोध गरेका थिए । स्थानीयको अवरोधपछि काम अघि बढ्न सकेको थिएन । स्थानीयहरु शुक्रबार दिनभर आन्दोलनमा उत्रिएका थिए । मेयर बालेन साहको पुत्लासमेत पुत्ला दहन गरेको थियो ।

महानगरले स्थानीयसँग सहमति खोज्ने प्रयास गरेपनि सफल हुन सकेन ।

शनिबार पनि दिनभर स्थानीयले अवरोध गरेपछि काम अघि बढ्न सकेन । स्थानीयको चौतर्फी विरोधपछि महानगर आज (आइतबार ) विहानै उक्त ठाउँबाट डोजर हटाएको हो ।