भिसा प्रकरणमा उपसभामुख रानामगरले आर्थिक लेनदेन गरेको भेटिएन- रास्वपा


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले अमेरिकी भिसाका लागि आर्थिक लेनदेन गरेको नपाइएको बताएको छ।

पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले आइतबार एक विज्ञप्ति जारी गर्दै अनुसन्धानका क्रममा उपलब्ध तथ्य र प्रमाणले भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार नभेटिएको दाबी गरेका हुन्।

विज्ञप्तिमा यस प्रकरणमा सम्बन्धित भनिएका व्यक्तिहरूसँग रास्वपा उपसभापति डीपी अर्यालले गरेको अडियो रेकर्डिङ आफूहरूसँग सुरक्षित रहेको पनि झाले उल्लेख गरेका छन्।

रास्वपाले आफ्ना सारा आम्दानी र सम्पत्ति निस्वार्थ समाजसेवामा लगाएकी उपसभामुख रानामगर निष्कलङ्क रहेको पनि दाबी गरेको छ। रास्वपाबाट उपसभामुख बनेकी रानामगरले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि विवादमा मुछिएकी छन्।

यस प्रकरणमा उनी विरुद्ध संसद्को राज्य व्यवस्था समितिमा उजुरी समेत परिसकेको छ।