बंगलादेशबाट ३ सय ४० नेपाली विद्यार्थी स्वदेश फर्किए


भद्रपुर ।

बंगलादेशमा अध्ययनरत ३ सय ४० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । बंगलादेशमा चर्किएको आरक्षणसम्बन्धी आन्दोलनका कारण झापा पूर्वी नाका काँकडभिट्टा हुँदै विद्यार्थी स्वदेश फर्किएको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ।

बिहीबार ८५, शुक्रबार १ सय १४ र शनिबार १ सय ४१ विद्यार्थी काँकडभिट्टा नाका हुँदै नेपाल फर्किएको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले बताउनुभयो।

शनिबार ७५ जना छात्र र ६६ जना छात्रा नेपाल फर्किएको उहाँले जानकारी दिनुभयो । बंगलादेशबाट फर्किने अधिकांश झापा बाहिरका रहेको उहाँको भनाइ छ। फर्किनेहरु सबै सकुशल रहेको कार्यालय प्रमुख पनेरुले बताउनुभयो । काँकडभिट्टाबाट भारतीय भूमिमा प्रवेश गरी धेरै नेपाली विद्यार्थी स्थलमार्ग हुँदै बंगलादेश आउने जाने गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

अध्ययन गर्न जाने बेलामा अध्यागमन कार्यालयले नेपाली विद्यार्थीको विवरण राख्ने गरेको र त्यही विवरणलाई हेरेर फर्किनेहरुको तथ्यांक तयार गर्ने गरेको उहाँले बताउनुभयो।

पछिल्लो केही दिनमा उक्त नाकाबाट नेपाल भित्रिने विद्यार्थीको संख्या वृद्धि भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनुभयो। यसको समन्वय गरिरहेको उहाँको भनाइ छ।