१६ सयलाई उछिन्दै ‘टपर’ उपसचिव बने पर्शुराम

भन्छन्– सिकाइ, बुझाइ र लेखाइको प्रतिफल नै सफलता

784
Shares


काठमाडौं ।

लोकसेवा आयोगले आव २०८०/८१ मा लिएको नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गतको खुलातर्फको उपसचिवको परीक्षामा सहभागी भएका पर्शुराम पोखरेल प्रतिस्पर्धी १६ सयभन्दा बढीलाई उछिनेर ‘टपर’ उपसचिव बन्न सफल हुनुभएको छ ।

नेपाल सरकारको नीति निर्माण तहका लागि आवश्यक सूचना संकलन गर्ने, विश्लेषण गर्ने र नीति निर्माण तहमा रहनेहरूलाई मुख्य सहयोग गर्ने तथा विभिन्न कार्यालय प्रमुखको भूमिकामा समेत रहने उपसचिव पदमा पुग्न लोकसेवाको कठिन परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ । यसका लागि ठूलै मिहिनेत, परिश्रम र निरन्तरको लगाव चाहिन्छ । उपसचिव पोखरेलले नियमित अध्ययन र परिश्रम तथा सेवाप्रतिको उच्च आकांक्षाले सार्थकता पाएको बताउँदै भन्नुभयो– ‘सिकाइ, बुझाइ र लेखाइको प्रतिफल नै सफलता रहेछ ।’

गुल्मी रेसुङ्गा नगरपालिका–१४ मा बुबा टोपलाल पोखरेल र आमा डिल्ली कुमारीका कोखबाट जन्मिएका पर्शुराम सामान्य ग्रामीण किसान परिवारका सदस्य हुन् । एसएलसी पढ्दासम्म गाउँघरमा नै दुःखजिलो गर्ने र कृषि पेसामा संलग्न रहेर नै अध्ययन अघि बढाएको उहाँ बताउनुहुन्छ । ‘स्कुले जीवन कष्टकर नै थिए, ग्रामीण कृषक परिवारको हँु । घाँस, दाउरा कृषि पेशा गरेरै करिब १ घण्टा बढी उकालो ओरालो गर्दै पढेर एसएलसी गरेको हुँ तथापि ती दिनहरू औधि रमाइला र सम्झन लायक थिए’ –उहाँले बाल्यकाल र विद्यार्थी जीवनको स्मरण गर्नुभयो ।

टपर हुने गरी लोकसेवाको तयारी कसरी गर्नुभयो भन्ने प्रश्नमा उहाँले भन्नुभयो– ‘नियमित अध्ययन, लेखन र परीक्षाको दौडमा थिएँ, जसका लागि आवश्यक सामग्रीको संकलन तथ्य तथ्यांक सरकारी अध्ययन प्रतिवेदन पढ्ने, पत्रपत्रिका अध्ययन गर्ने, पढेका कुरालाई विश्लेषणसहितको अभ्यास गर्ने र सबै चरणका परीक्षालाई सन्तुलन गरी प्रस्तुत गर्न सकेकाले नै मैले प्रथम स्थान हासिल गर्न सकेको हुँजस्तो लाग्छ ।’

लोकसेवाको तयारी गर्दा पढाइ, काम र समयको व्यवस्थापन सबैभन्दा ठूलो चुनौती रहेको बताउँदै पोखरेलले समयको व्यवस्थापन गरी सबै प्रश्नको सन्तुलित उत्तर दिनसकेमा सफलता सहजै हात पर्न सक्ने अनुभव सुनाउनुभयो । उहाँले यसका लागि धेरै पुस्तक जम्मा गरेर पढ्नुभन्दा पनि विषवस्तुको सही छनोट गरी कार्यालय समयभन्दा बाँकी समयमा नियमित पढ्ने, लेख्ने र अभ्यास गरी परीक्षाको तयारी गर्नुका साथै आफ्नै सेवाभित्रका काम पनि परीक्षाका लागि दर्बिलो सामग्री हुन सक्ने भएकाले विशेष ध्यान दिने गरेको बताउनुभयो ।

जनप्रशासन, समाजशास्त्र, मानवशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उहाँले कानुनमा एलएलबीसमेत गर्नुभएको छ । लोकसेवाको परीक्षा निकै कठिन मानिन्छ त्यसमा पनि टपर हुनु त झनै कठिनको विषय हो । पोखरेलले लोकसेवाको तयारी गरेकाहरूलाई परीक्षामा सफल हुन महत्वपूर्ण टिप्स पनि दिनुभएको छ।

‘यत्ति नै हो र यो नै हो भन्ने त्यस्तो क्याप्सुल र सूत्र त छैन तर मेरो अनुभवमा सिकाइ, बुझाइ र लेखाइको प्रतिफल नै सफलता हो’ –पोखरेलले भन्नुभयो । यसै गरी सफल हुन नियमित अध्ययन र लेखाइ जरुरी रहने र त्यसले कन्फिडियन्स शक्ति बढाउने, लेखाइमा सन्तुलन र तथ्यपरक विश्लेषणसहितको प्रस्तुति नै सफल हुने आधार रहेको पोखरेलको अनुभव छ ।

निजामती प्रशासन कमजोर हुँदै गइरहेको औंल्याउँदै उहाँ कर्मचारीलाई रूपान्तरण र शुद्धीकरण गरी निजामती प्रशासनको साख उचो बनाउनुपर्ने बताउनुहुन्छ । संघीय शासन प्रणालीपश्चात् निजामाती प्रशासनमा थप चुनौती र व्यावसायिक निष्ठामाथि प्रश्न बढ्दै गएको उहाँको अनुभूति छ । राजनीतिक अस्थिरता, वृत्ति विकासमा असमानता, कर्मचारीबीचको विभेदजस्ता विषयले मनोबल कमजोर बनाएको उहाँको विश्लेषण छ ।

उपसचिव पोखरेलले राजनीति र प्रशासन एकअर्काका परिपूरक भएको र एकको अभावमा शासन व्यवस्था पूर्ण नहुने बताउँदै शासन व्यवस्थालाई प्रभावकारी बनाई नागरिक मैत्री बनाउन राजनीतिले प्रशासनलाई संरक्षण, अभिभावकत्व र मार्गदर्शन गर्ने र प्रशासनले राजनीतिप्रति सम्मान, आफ्नो व्यावसायिक कौशल र व्यावसायिक निष्ठा प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।

प्रशासन सुधारका लामो लामो प्रयास र बहस हुँदै आए पनि नेपालमा आशातीत रूपमा प्रशासको सुधार हुन नसकेको यी टपर उपसचिवको विश्लेषण छ । उहाँले भन्नुभयो– ‘प्रशासन सुधारका लागि नीतिगत स्पष्टता, प्रशासनिक कटिबद्धता, सहभागितामूलक नागरिक समाज, शासकीय सुधारका नवीन विधिको प्रयोग, दण्ड, सजायको व्यवस्था, सशक्त अनुगमन मूल्यांकन प्रणाली, नीति कानुनको पूर्ण कार्यान्वन र समयानुकूल पुनरावलोकन, संगठन संरचनामा आमूल परिवर्तन र परिमार्जन, कर्मचारीतन्त्रमा व्यावसायिक निष्ठासहितको निरन्तर सुधार गर्नु नै मुख्य सुधारका उपायहरू हुन् ।’

हाल नेपाल संघीयतामा रूपान्तरण भएसँगै प्रशासन सुधारमा संघ, प्रदेश र स्थानीय तह सबैमा सुधारसहितको खाका तयार गर्नुपर्ने उहाँको सुझाव छ ।