सडक जोगाउन स्थानीयको टेन्टमा बास, अस्तित्व जोगाउन वडाको साथ

658
Shares

काठमाडौं ।
न्युरोडको जुद्ध शालिकदेखि इन्द्रचोकको सडकको क्षेत्रफल घटाएर फुटपाथ बनाउने काठमाडौं महानगरपालिकाको निर्णयप्रति स्थानीय जनता आन्दोलित भएका छन् ।

बुधबारबाट सडक भत्काउन शुरू गरेलगत्तै बिहीबारदेखि स्थानीयले आन्दोलन शुरू गरेका थिए । आन्दोलनका कारण सो क्षेत्रमा यातायात आवागमनमा अवरोध भएको छ । स्थानीयले सडकमा टेन्ट गाडेरै बसेर विरोध जनाएका छन् । उनीहरूले काम नरोकेसम्म सडकको बास नछाड्ने जनाएका छन् । स्थानीयको साथमा एमालेका सबै वडाअध्यक्ष छन् भने नेपाली कांग्रेस निकट स्थानीय जनप्रतिनिधिले सहयोग गरेका छैनन् ।

उच्च अदालत पाटनको आदेशलगत्तै निर्माण कम्पनी सडक भत्काउन पुगेको थियो । त्यस बेला स्थानीयले अवरोध शुरू गरेपछि काम स्थगित भएको छ । काम शुरू गराउन पुगेका कामपा नगर प्रहरी र नेपाली प्रहरीले समेत काम गर्ने वातावरण बनाउन सकेका छैनन् । स्थानीयको दबाब ख्यालै नगरी मेयर बालेन्द्र साहका स्वकीय सचिव भूपदेव शाहले दिएको अभिव्यक्तिप्रति स्थानीय आक्रोशित भएका छन् । शाहले स्थानीयले निर्माण कार्यमा अवरोध गराउँदा सरकारले काम गर्न नदिएको आरोप लगाउनुभएको थियो ।

लगत्तै सरकारप्रति आक्रोशि जनाउँदै शाहले सरकार असफल भइसकेकोले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिनुभएको थियो । उहाँको अभिव्यक्ति अराजक भएको आरोप स्थानीयको छ । सचिवालयको नाममा शाहले प्रधानमन्त्रीको राजीनामा माग्न अराजकताको पराकाष्ठा भएको आरोप स्थानीयको छ । यसअघि मेयर बालेनले स्थानीयसँग छलफल नगरी नीति तथा कार्यक्रममा न्युरोडलाई सवारी निषेधित क्षेत्र बनाउने योजनाअघि बढाएदेखि नै मेयर र कोर क्षेत्रका वडा अध्यक्षबीच तिक्तता बढेको थियो ।

कोरक्षेत्रका प्रतिनिधित्व गर्ने वडा नं १७, १८, २२, २३, २५ का वडाअध्यक्षले मेयर साहले पुरानो व्यापारिक क्षेत्रको अस्तित्व ध्वस्त गर्न लागेको आरोप लगाउँदै फुटपाथ विस्तार गरी सडक साँघुरा बनाउने कामको विरोध जनाएका थिए । मेयर साहले न्युरोड क्षेत्रलाई फ्रि भेहिकल जोन बनाउने भित्री उद्देश्यले सडकको क्षेत्रफल घटाउन थालेका हुन् ।

स्थानीयको चाहनाविपरीत बल प्रयोग गरेर फुटपाथ विस्तारको काम थालेको भन्दै उनीहरूले अवरोध गरेका जनाएका थिए । कामपा २२ का अध्यक्ष चिनीकाजी महर्जनले सडक साँघुरो पार्ने मेयरको योजनामा स्थानीयले स्वस्फूर्त विरोध गरेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘स्थानीयको पीरमर्कालाई समर्थन गर्न वडाअध्यक्षको हैसियतमा विरोधमा उत्रिएको हुँ पार्टीगत रुपमा होइन।’ उहाँले निर्दलीय नभई आफू एमालेसँग आबद्ध भएकाले आन्दोलनलाई एमालेकरण गरेको आरोप लाग्नेगरेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘न्युरोडको अस्तित्व सखाप पार्न खोज्दा हामी आन्दोलनमा उत्रिएका हौं, निर्णय फिर्ता नलिएसम्म टेन्ट राखेर सडकमै बास बस्नेछौं ।’ यो आन्दोलनमा कोरक्षेत्रका सबै जनप्रतिनिधि र अन्य वडाको हकमा एमालेबाट निर्वाचन जितेका अध्यक्ष र अन्य सबै जनप्रतिनिधिको समर्थन रहेको बताउनुभयो ।

स्थानीयले शनिबार सडक खन्न ल्याएको डोजर चलाउनै दिएनन् । यसअघि जेठ १२ गते फुटपाथ विस्तारका गर्न सो क्षेत्रमा सडक खनेको थियो । तर, केहीबेरमै सडक विभागको टोली आएर अनुमति नलिई सडक काट्न थालेको काम रोक्यो । यसलाई लिएर महानगर र सडक विभागबीच आरोप प्रत्यारोप भएको थियो । स्थानीयको कुरा नसुन्ने मेयरको विरुद्धमा स्थानीयले आन्दोलन जारी राख्ने बताएका छन् ।

मेयर साहका सम्पदा सल्लाहकार यादवलाल कायस्थले सबैको सहमतिमा काम हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘आन्दोलनमा कसले जित्छभन्दा पनि स्थानीयको साथ र सहयोगमा काम गर्नुपर्छ । हाल विस्तार गर्न लागेको सडकक्षेत्र वडानम्बर २४ मा पर्छ । कामपाले पहिलो चरणमा २४ बाट शुरू गरी २२, २३ वडाका सडकसमेत साँघुरो बनाउने योजना बनाएको छ । २२ का अध्यक्ष महर्जनले अहिले फुटपाथ साँघुरो भयो भन्दै बढाउने र पछि सयौं वर्ष पुरानो न्युरोड क्षेत्रलाई नो भेहिकल जोन बनाउने योजना नै हो भन्नुभयो ।

अधिकांश स्थानीयले न्युरोडको फुटपाथ विस्तारमा स्थानीयको राय लिन मेयर बालेनलाई आग्रह गरेका छन्् । तर, मेयर साहले हालसम्म वार्ता र संवादका लागि कसैलाई बोलाएको छैन । सो विषयमा मेयर साहले वडाका जनप्रतिनिधिसँग समेत संवाद नगरेको स्थानीयको गुनासो छ । न्युरोडक्षेत्र वडानम्बर २२ र २४ मा पर्छ । २२ का वडाध्यक्ष महर्जनले फुटपाथ विस्तारमा निरन्तर प्रश्न उठाउँदै आएका छन् ।