प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । नेपाली कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएर ३१ गते पद तथा गोपनीयताको शपथ लिनुभएका ओलीले आइतबार सदनबाट विश्वासको मत लिने तयारी गर्नुभएको हो ।

प्रधानमन्त्रीमा दाबी गर्दा कांग्रेस र एमालेका १६६ सांसदको समर्थन थियो । पछि सरकार गठनमा अशोक राई नेतृत्वको जसपा र महन्त ठाकुर नेतृत्वको लोसपा सहभागी भएपछि सरकारलाई १७७ सांसदको समर्थन छ । यीबाहेक जनमत नाउपा र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि विश्वासको मत दिन सक्ने आँकलन गरिएको छ ।

सरकार बाहिर रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने भएको छ । आफूहरूले अघि सारेको संविधान संशोधनको मुद्दामा सघाउन तयार रहेको बताउँदै अहिले विश्वासको मत दिने आधार तयार नभएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनुभयो ।

त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षी गठबन्धनमा रहेका रास्वपा, नेकपा एकीकृत समाजवादीले समेत विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने बताएका छन्। बाँकी साना दल र स्वतन्त्र सांसदहरूले प्रधानमन्त्रीलाई मत दिने नदिने केही निर्णय लिएका छैनन्।

संसद्को सबैभन्दा ठूलो दल कांग्रेसका ८८ दोस्रो दल उमालेका ७८ जसपाका ७ लोसपाका ४ सांसद प्रधानमन्त्रीको पक्षमा रहँदा १७७ मत कायम रहँदा उहाँको विपक्षमा माओवादी ३२, रास्वपा २१, राप्रपा १४, नेकपा एस १०, जनमोर्चा १,नेमकिपा १ सहित ७९ सांसद विपक्षमा प्रस्ट उभिने अवस्थामा देखिएका छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमत पुर्‍याउन १३८ मत आवश्यक पर्नेमा प्रधानमन्त्री ओलीको पक्षमा हालसम्म १७७ मत देखिएकाले उहाँले सदनबाट स्पष्ट बहुमत जुटाउने अवस्था छ। नेकपा एमाले र नेपाली कांग्रेससहित सरकारमा भएका दलहरूले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।