अफ्रिकामा औलो फैलियो, तत्काल कडा कदम नचाले लाखौँको जीवन खतरामा पर्ने चेतावनी


काठमाडौँ।

अफ्रिकामा औषधि -प्रतिरोधी औलो फैलिइरहँदा तत्काल र कडा कदम नचाले लाखौँ मानिसहरूको जीवन खतरामा पर्ने भन्दै वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
औलोविरुद्ध प्रयोग गरिने ‘आर्टिमिजिनिन’ नामक औषधिको असरलाई औलोका परजीवीहरूले मत्थर पार्न सक्ने कुरा अहिले पूर्वी अफ्रिकामा स्थापित भइसएको छ।
तीन वर्षको अवधिमा औषधिलाई परजीवीले प्रतिरोध गर्ने मात्रा केही क्षेत्रमा १ प्रतिशतबाट बढेर २० प्रतिशतभन्दा बढी पुगेको छ।
औलोविरोधी औषधिको प्रभाव कम भएको बेला अफ्रिकामा पछिल्लो पटक औलो फैलिँदा त्यसले बालबालिकाको मृत्यु हुने अवस्था तीन गुनाले बढाएको थियो।
औलोबारेका १० देशका २८ अग्रणी वैज्ञानिकहरूले यसबारे कदम चाल्न ‘साइन्स’ जर्नलमा आह्वान गरेका छन्।

कसरी हुन्छ प्रतिरोध

आर्टिमिजिनिनले औलोका परजीवीहरू मार्छ र औलो उपचारका लागि यो एउटा सबैभन्दा महत्त्वपूर्ण औषधि हो।
आर्टिमिजिनिनको असर प्रतिरोध गर्ने औलोका परजीवीहरू अफ्रिकामा पहिलो पटक रुवान्डामा र त्यसपछि युगान्डा र एरिट्रेयामा छुट्टाछुट्टै विकसित भएका हुन्।
यी प्रतिरोधी परजीवीहरू देखा परेका देशभित्रै र सीमाभरि पनि फैलिएका छन्।

अहिले ईथिओपिआ, एरिट्रेया, रुवान्डा, युगान्डा र तान्जानियामा १० प्रतिशतभन्दा बढी औलोका घटनाहरू यस्तै परजीवीको प्रतिरोधका कारण उत्पन्न भएका छन्।
“औलोविरोधी उपचार बढ्दो रूपमा अप्रभावकारी भइरहँदा लाखौँ मानिसको ज्यान जानुअघिनै कदम चाल्नुपर्छ,” नाइजिरियाको यूनिभर्सिटी अफ इलोरिनको बालचिकित्सा विभागका प्राध्यापक ओलुगबेङ्गा मोकुवलुले भने।

फैलँदो प्रभाव

सन् २०१६ मा प्रतिरोधी परजीवीको प्रकार उत्तरी युगान्डामा मुस्किलले भेटिन्थ्यो। सन् २०१९ मा कैयौँ क्षेत्रमा परीक्षण गरिएका २० प्रतिशतभन्दा बढी परजीवीहरू प्रतिरोधी पाइयो।

वैज्ञानिकहरूको समूहले यस्ता प्रतिरोधी परजीवीहरू थप फैलिँदा ‘रोक्न नसकिने’ हुने बताए।
थाईल्यान्डस्थित महिडोल अक्स्फर्ड ट्रपिकल मेडिसन रिसर्च यूनिटका डाक्टर मेहुल धोर्डाले त्यो कति छिटो हुन्छ भन्ने अझै स्पष्ट नभएको बताए।
यद्यपि दक्षिणपूर्वी एशियामा पनि आर्टिमिजिनिनमा आधारित उपचार विफल हुन थालिसकेको छ।
‘पहिलो पटक पत्ता लागेको समयदेखि अत्यधिक व्यापक हुन १० देखि १५ वर्ष लाग्यो,’ उनले भने।

थप सुझाव

कीटनाशक झुल र घरघरमा लामखुट्टे मार्न छर्कन सकिने लामो समय काम गर्ने स्प्रेको प्रयोग विस्तार गर्ने

आर्टिमिजिनिन-प्रतिरोधी औलो भएका क्षेत्रमा औलोका विरुद्ध विकसित नयाँ खोपहरू बालबालिकाका लागि मात्रै नभई सबै उमेर समूहका मानिसका लागि प्रयोग गर्ने

मानिसहरूले घरनजिकै उपचार सेवा पाऊन् भन्नका लागि सामुदायिक स्वास्थ्य अधिकारीहरूलाई सहयोग गर्ने

प्रतिरोधी औलोको प्रकार फैलिएकोसम्बन्धी तथ्याङ्क विस्तार गर्ने किनभने अब निकै ढिलो हुनसक्छ

“आर्टिमिजिनिन-प्रतिरोधी परजीवी फैलिरहेको अफ्रिकामा औलो नियन्त्रण र उन्मूलन कार्यक्रमका लागि दूरदर्शी हुन र पैसा जुटाउन हामीले दाताहरूलाई आह्वान गरेका छौँ। खास गरी एड्स, क्षयरोग र औलोबारे काम गर्ने ग्लोबल फन्ड र अमेरिकी सरकारको ‘प्रेसिडेन्टस् मलेरिया इनिशटिभुलाई हामीले आह्वान गरेका हौँ,” तान्जानियास्थित स्वास्थ्य मन्त्रालयका रोग निरोधी निर्देशक टुली कपोलोग्वीले भने।-बीबीसी