त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न भारतीय टोली परिचालन


चितवन।

नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोजी गर्न आजदेखि भारतीय टोली पनि परिचालन भएको छ । भारतीय नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली आजबाट खोजतलासका लागि घटनास्थल आइपुगेको हो ।

सुनौली नाका हुँदै नेपाल भित्रिएको टोली आज चितवन आइपुगेको हो ।

खोजतलासमा परिचालिन हुनुअघि भारतीय टोलीले जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका अधिकारीहरुसँग छलफल गरेको थियो । छलफलपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले टोलीमा रहेका १२ जनामध्ये चार जना गोताखोर रहेको बताए । आज टोलीले विपद् व्यवस्थापन शिक्षालय कुरिनटारका उद्धारमा खटिएकासँग छलफल गरेपछि काम सुरु गर्ने उनले बताए।

गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रु बेपत्ता भएका थिए । उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ बेपत्ता भएका थिए । आजसम्म २५ जनाको शव फेला पारिएको छ भने १७ जनाको सनाखत भएको छ।