भीमेश्वरको शिलामा पसिना !

4.2k
Shares

दोलखा।

प्रसिद्ध दोलखा भीमेश्वर मन्दिरको शिलामा शनिवार दिउँसो दुुई घण्टा पसिना आएको छ । शनिवार दिउँसो १ः४७ बाट शीलाको बाँयापट्टी पसिना आउन सुरु भएकोमा ३ः५१ बजे रोकिएको दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष सुुरेश श्रेष्ठले बताए । 

शिलामा पसिना आएपछि ठूलो संख्यामा स्थानीय भक्तजनहरु भेला भएका थिए । उनीहरुले ठूलो आवाजमा घण्टा, नगरा बजाएका थिए भने मन्दिरका पुजारी तथा समितिका मानिसले शीलाको पसिना कपासले पुछेका थिए । त्यसैगरी परम्परा अनुसार तान्त्रिक विधिबाट शिलामा पूजासमेत गरिएको कोषाध्यक्ष श्रेष्ठले बताए । 

शिलामा पसिना आएपछि तान्त्रिक विधिबाट पूजा  नगरी पसिना रोकिँदैन भन्ने विश्वास रहेको छ । शनिवार पनि भीमेश्वर मन्दिरमा तान्त्रिक विधिबाट पूजा गरेपछि पसिना आउन रोकिएको थियो । भीमेश्वरको शिलामा दायाँ पट्टी पसिना आउँदा राष्ट्रप्रमुलाई असर गर्ने र बाँया पट्टी पसिना आउँदा जनतालाई असर गर्ने जनविश्वास रहदै आएको छ । शिलामा पसिना आउँदा शुभ या अशुभ दुबै खाले प्रभाव पर्न सक्ने स्थानीय जेष्ठ नागरिकहरुको भनाई छ । शिलामा आएको पसिना पुछेको कपास साथमा राख्दा रोगव्याधी नलाग्ने, यात्रा सफल हुने, मनोकाङ्क्षा पुरा हुने जनविश्वास समेत रहेको छ । 

शिलामा पसिना आएपछि उक्त पसिना पुछेको कपास राष्ट्र प्रमुखकोमा पठाउने र राष्ट्रप्रमुखको तर्फबाट क्षमापुजा गर्ने प्रचलन समेत रहेको छ । 
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ दोलखा बजारमा रहेको प्रसिद्ध भीमेश्वरको शिलामा अहिलेसम्म २१ पटक पसिना आईसकेको स्थानियको भनाई छ । पछिल्लो पटक २०७८ बैशाख २५ गते भीमेश्वरको शिलामा पसिना आएको समितिका अध्यक्ष भरत श्रेष्ठले बताए । भीमेश्वरको शिलामा १९९०, २००७, २०२८, २०४५, २०६३, २०७१, २०७४ मा पनि पसिना आएको स्थानीय जेष्ठ सदस्यहरुले बताए ।