कांग्रेस-एमालेबीचको ७ बुँदे सहमतिबारे प्रधानमन्त्रीले भोलि  संसद्‌बाट स्पष्ट पार्नुपर्छ : गगन थापा


 नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले  कांग्रेस र एमालेबीच भएको  सात बुँदे लिखित सहमति प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सांसदबाट  स्पष्ट पार्नुपर्ने  बताएका छन्। शनिवार ४२ औं बिपी स्मृति दिवसका सन्दर्भमा ओजित एक कार्यक्रममा थापाले भोलि विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सहमति संसदमा पढेर सुनाउनुपर्ने बताए ।

उनले भने, ‘नेपाली कांग्रेस पार्टीले नेकपा एमालेसँग एउटा समझदारी गरेको छ । त्यो समझदारीको आधारमा हामी सत्तामा छौं ।  भोलि प्रधानमन्त्रीले देशको नाममा सम्बोधन गर्दै हुनुहुन्छ । त्यसकारण अहिले धेरै कुरा भन्न उपयुक्त नहोला । किनकि उहाँले नै भन्नुहोला । भोलि हाम्रो समर्थनमा बन्ने प्रधानमन्त्रीले भोलि राष्ट्रको नाममा अथवा विश्वासको मत लिँदै गर्दा खेरी, संसद्‌मा आफ्नो विचार राख्दै गर्दा खेरी यति वटा बुँदामा नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा समझदारी भयो । सात बुँदाको बीचमा भनिरहेको छ । अब यो सात बुँदा के हो भन्ने बारे भोलि त्यहाँ पढेर सुनाउनुपर्छ भन्ने म ठान्दछु ।’

उनले त्यो सहमतिलाई कसरी अघि बढाउने भन्नेमा प्रधानमन्त्री ओली नै प्रमुख जिम्मेवार रहेको बताए । उनले कांग्रेसका कारण सत्ता गठबन्धनमा कुनै खटपट नआउने समेत दाबी गरे ।

महामन्त्री थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अन्य दललाई सधैँभरि झुक्क्याउन सक्छु भन्ने भ्रम र चकचकको कारणले नै कांग्रेस र एमालेले मिलेर सरकार बनाउनुपर्ने अवस्था आएको दाबी गरे ।