खोटाङमा १ सय २४ फरार प्रतिवादी पक्राउ

308
Shares

खोटाङ ।

साउन–५, जिल्ला प्रहरी कार्यालय खोटाङले एक वर्ष अवधिमा १ सय २४ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

२०८० साउन–१ देखि २०८१ असार–३१ गतेसम्म जिल्ला अदालत खोटाङले दोषी ठहर गरेका फरार प्रतिवादीलाई पक्राउ गरी उनीहरुबाट १ सय १३ वर्ष ११ महिना सात दिन कैद, आठ लाख २३ हजार ४ सय ६१ जरिवाना तथा दुई लाख ३२ हजार ७ सय ८६ रुपैंयाँ क्षतिपूर्ति असुल गरेको हो ।

पक्राउ परेकामध्ये महिना दिनदेखि १४ वर्षसम्म कैद भुक्तान गर्न बाँकी प्रतिवादीहरु रहेका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताउनुभयो । गत वर्ष अदालतले २ सय १२ जना फरार प्रतिवादीको सूची उपलब्ध गराएको थियो । विवरण अनुसार ८८ जना फरार रहेको देखिन्छ ।

यसमा कतिपयको मृत्यु भइसकेको छ भने, कतिपयले पुनरावेदन गरिरहेका छन् । केही व्यक्तिमात्र फरार रहेको र उनीहरुको पनि खोजी भइरहेको प्रनाउ खड्काको भनाई छ । फरार प्रतिवादी पक्राउ पर्नेमा सबैभन्दा बढी जघन्य प्रकृतिका मुद्धामा अदालतबाट दोषी ठहर भएका व्यक्ति रहेको प्रहरीले जनाएको छ । यसअघि आर्थिक वर्ष २०७८/७९ मा तीन तथा आर्थिक वर्ष २०७९/८० मा छ जना फरार प्रतिवादी पक्राउ परेका थिए ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय खोटाङमा वर्ष दिनको अवधिमा २ सय १५ वटा घटना दर्ता भएको पाइएको छ । उक्त विवरण अनुसार सबैभन्दा बढी झुण्डी आत्महत्याका ३८ वटा घटना दर्ता भएको देखिएको छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस वर्ष जिल्लामा जबरजस्ती करणीका घटना दर्तामा वृद्धि भएको देखिएको छ । वि.सं. २०८० साउन–१ गतेदेखि २०८१ असार–३१ गतेसम्म २७ वटा जबरजस्ती करणीका घटना दर्ता भएको पाइएको हो ।