सिन्धुलीमा अटो दुर्घटना हुँदा आमाको मृत्यु, छोरा-छोरी घाईते

0
Shares

सिन्धुली ।

मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिकामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाईते भएका छन् ।

अटो दुर्घटनामा परी कमलामाई नगरपालिका १३ का अन्दाजी ३५ बर्षकी मन्दिरा पौडेलको घटनास्थलमै मृत्यु भएको हो । मृतक मन्दिराका छोरा ११ बर्षका तिर्थ राज पौडेल र ९ बर्षकी छोरी सबिना पौडेल घाईते भएका छन् ।

गोलन्जोर गाउँपालिका वडा नं. ३, बन्दिजोर खोला स्थीत देउरालीटारबाट सिन्धुलीतर्फ जाँदै गरेको प्रदेश २–००१ ह १३७१ नम्बरको अटो गैरी गाउँबाट ग्वालटारतर्फ जाँदै गरेका पैदल यात्रीलाई ठक्कर दिई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनाका अन्य घाईतेहरुमा गोलन्जोर गाउँपालिका २ बित्तिजोरका अन्दाजी ६० बर्षका शरे बहादुर सार्की, गोलन्जोर गाउँपालिका ६ का अन्दाजी ४० बर्षकी राम माया गोले, गोलन्जोर गाउँपालिका ४ तिनकन्याका अन्दाजी ३३ बर्षका सन्तोष तामाङ, गोलन्जोर गाउँपालिका ६ का अन्दाजी २२ बर्षकी एकुमाया दमाई, गोलन्जोर गाउँपालिका ३ का अन्दाजी .६१ बर्षका लोक बहादुर काकी र अटो चालक सिन्धुली गोलन्जोर गाउँपालिका २ का अन्दाजी ५५ बर्षका भिम बहादुर ठकुरी रहेका सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिनुभयो ।

घाईतेहरुको स्थानिय सुनकोशी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चालक ठकुरी प्रहरीको नियन्त्रणमा रहेका छन् । अटो सडकबाट अन्दाजी ३० मिटर तल खसी दुर्घटना भएको हो ।