प्रधानमन्त्री ओलीलाई एमालेले बुझायाे ३१ बुँदे सुझावपत्र (पूर्णपाठ)


काठमाडौं ।

नेकपा एमालेले आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गर्नुपर्ने कामको सूचीसहित सुझावपत्र बुझाएको छ । एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीलाई भेट गरी आज सुझावपत्र बुझाएको हो ।

सुझावपत्रमा सरकारले तत्कालै चाल्नुपर्ने कदम र आगामी तीन बर्षभित्र गर्ने कामको सूची रहेको छ । सुझावपत्रमा झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राका क्रममा प्राप्त भएका सुझावदेखि जनतामा कायम रहेको निरासा चिर्न तथा आर्थिक क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले गर्नुपर्ने कामलाई समेटिएको छ ।

कांग्रेससँगको सहमतिपछि अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभन्दा डेढ साता अगावै एमालेले गत असार २१ गते ओली नेतृत्वको सरकारले आगामी ३ बर्षभित्र गर्नुपर्ने कामको बिषयमा सुझाव दिन उपमहासचिप प्रदीप ज्ञवालीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलले ३३ वटै बिभागसँग सरकारले गर्नुपर्ने कामको बिषयमा सुझावसहित प्रतिवेदन मागेको थियो । सोही प्रतिवेदनको आधारमा एमालेले सरकारलाई सुझावपत्र दिएको हो । सुझावपत्र महासचिव पोखरेल र उपमहासचिव एवं कार्यदल संयोजक ज्ञवालीले आज बुझाउनु भएको हो ।

एमाले उपमहासचिव ज्ञवालीले पार्टीका २८ वटा विभागका सुझाव समेटेर प्रधानमन्त्रीलाई सुझावपत्र बुझाइएको बताउनु भयो । ज्ञवालीका अनुसार असार २१ गते बसेको पार्टी केन्द्रीय विभागहरूको बैठकले दिएको सुझावका आधारमा प्रधानमन्त्रीलाई १० ठोस कार्यक्रमसहित ३१ बुँदे सुझाव बुझाइएको छ । उक्त बैठकले सात दिनको समय सीमा तोकेर प्रधानमन्त्रीलाई सुझाव दिन विभागहरूलाई निर्देशन दिएको थियो ।

प्रतिनिधिमण्डले सुशासन, विकास निर्माणका कामलाई तीव्रता, रोजगारी सृजना, अर्थतन्त्र चलायमान बनाउँदै उच्च आर्थिक वृद्धिदर गर्ने विषय, सेवा प्रवाहमा सहजता, जटिल प्रशासनिक प्रक्रियालाई सहज बनाउने लगायत विषयलाई समेटेर सुझाव दिएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीकै निर्देशनमा एमालेले कार्यदल बनाएको थियो ।

कार्यदलको प्रतिवेदन बुझेपछि प्रधानमन्त्री ओलीले आफू पार्टी अध्यक्ष भएपनि अहिले सरकारका तर्फबाट एमालेको सुझावपत्र बुझेको बताउनु भयो । सुझावपत्र बुझ्दै प्रधानमन्त्री ओलीले एमालेले बुझाएको सुझावपत्र कार्यान्वयनमा जाने बताउनु भयो ।
‘एमालेले हामीलाई भन्न पनि पाउँछ । पोहोर साल यो दिएको थियो, यो चाहिँ तपाईंहरुले गर्नु भएन भन्न पाउँछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को ८ अठोट पूरा गर्नेगरी सरकार अगाडि बढेको जानकारी पनि दिनुभयो ।