राष्ट्रपतिद्वारा पेरिस ओलम्पिकमा खेल्ने खेलाडीहरूको बिदाई


काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले ३३औँ गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेको नेपाली खेलाडीहरूलाई विदाइ गरेकाे छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच राष्ट्रपति पौडेलले खेलाडीहरूलाई बिदाइ गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले खेलकुद भनेको राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताए ।

उनले हार र जित खेलको पाटो भएको बताउँदै ३३औँ गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी खेलाडीहरूले देशको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गरे । उहाँले दृढ सङ्कल्प र अठोटका साथ ओलम्पिकमा सहभागी हुन खेलाडीहरूलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, (‘आफ्नो नाभिदेखि बल लगाएर प्रतियोगितामा सहभागी हुनुहोस्, सफलता आफै आउँछ । हामी सबै नेपाली तपाईँहरूका साथमा छौ ।’

उहाँले ओलम्पिकमा नेपालको नयाँ रेकर्ड कायम गरेर फर्कनुहुनेछ भन्ने आफू आशावादी रहेको बताउनुभयो ।
सोही कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकको ‘सेभ द मिसन’ रहनु भएका राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टङ्कलाल घिसिङलाई नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गर्नुभएको थियो ।

खेलाडी बिदाइ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसहित ३३औँ ग्रीष्मकालीन पेरिस ओलम्पिकमा नेपालबाट प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियलहरूको सहभागिता रहको थियो ।

पेरिस ग्रीष्मकालीन ओलम्पिक ११ देखि २६ साउनसम्म फ्रान्सका विभिन्न १६ सहरमा आयोजना हुँदैछ । पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडीसहित २९ जना जाने निश्चित भएको छ । नेपालबाट खेलाडीभन्दा अफिसियल धेरै सहभागी हुने भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सहकार्य गर्दै सात खेलाडीसँगै चार प्रशिक्षक, आठ अफिसियल, एक डाक्टर, एनओसीबाट अध्यक्ष र महासचिवको टुंगो लागेको छ ।

यसबाहेक सेफ द मिसनका रूपमा राखेप सदस्यसचिव टंकलाल घिसिङ र नवनियुक्त खेलकुदमन्त्री तेजुलाल चौधरी पनि ओलम्पिकमा जाँदैछन् । नेपालले अहिलेसम्म ओलम्पिकमा पदक भने जित्न सकेको छैन ।

पेरिस ओलम्पिकमा खेल्ने नेपाली खेलाडीहरु:

१. स्यान्टु श्रेष्ठ (टेबलटेनिस)
२. सन्तोषी श्रेष्ठ (एथलेटिक्स)
३. डुवाना लामा (पौडी)
४. एलेक्जेन्डर शाह (पौडी)
५. प्रिन्स दाहाल (ब्याडमिन्टन)
६. सुस्मिता नेपाल (सुटिङ)
७. मनिता श्रेष्ठ प्रधान (जुडो)

प्रशिक्षक
१. राजेन्द्र कपाली (टेबलटेनिस)
२. देवु थापा (जुडो)
३. कान्तिकुमारी महतो (एथ्लेटिक्स)
४. नयना शाक्य (पौडी)