जिरुडद्वारा संन्यासको घोषणा


एजेन्सी ।

फ्रान्सको राष्ट्रिय फुटबल टोलीका लागि सर्वाधिक गोल गरेका फरवार्ड ओलिभिएर जिरुडले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।

३७ वर्षीय जिरुडले यसअघि नै जर्मनीमा हुने युरोपियन च्याम्पियनसिप उनकोे अन्तिम प्रमुख प्रतियोगिता हुने बताएका थिए। इंग्लिस क्लब आर्सनल र चेल्सी तथा इटालियन क्लब एसी मिलानका पूर्व फरवार्डले राष्ट्रिय टोलीबाट नखेल्ने बताएका हुन्।

जिरुड फ्रान्सका सर्वाधिक गोलकर्ता हुन् । सन् २०२२ मा कतारमा भएको फिफा विश्वकपमा थिएरी हेनरीको कीर्तिमानलाई उछिनेर उनी देशका सर्वाधिक गोलकर्ता बनेका थिए। उनले फ्रान्सबाट १ सय ३७ खेलमा ५७ गोल गरेका छन्। हेनरीको ५१ गोल थियो । फ्रान्सका वर्तमान कप्तान केलियन एमबाप्पे तेस्रो स्थानमा छन्। उनले ८४ खेलमा ४८ गोल गरेका छन् ।

जिरुडको अन्तिम अन्तर्राष्ट्रिय खेल युरोकप २०२४ अन्तर्गत स्पेनविरुद्धको थियो। उनी उक्त सेमिफाइनल खेलको दोस्रो हाफमा मैदानमा आएका थिए। हाल जिरुड अमेरिकी मेजर लिग सकर क्लब एलए एफसीमा अनुबन्ध हुने भएका छन्। उनले जुलाई १८ मा आधिकारिक रुपमा एलए एफसीसँग सम्झौता गर्दैछन्।