विलियम्समाथि बार्सिलोनाको नजर


एजेन्सी ।

स्पेनिस क्लब बार्सिलोनाले निको विलियम्सलाई अनुबन्ध गर्न प्रयास थालेको छ। स्पेनिस ला लिगा क्लब एथ्लेटिक बिल्बाओबाट खेल्दै आएका विलियम्समाथि धेरै क्लबहरुले नजर लगाएका छन।

नजर लगाउने क्लबहरुमध्ये स्पेनकै बार्सिलोना अग्रपंक्तिमा देखिएको अन्तर्राष्ट्रीय सञ्चारमाध्यमहरुले जनाएका छन। बिल्बाओमा विलियम्सको रिलिज क्लज ५८ मिलियन युरो मात्रै रहेको छ।

बार्सिलोनाले यो मूल्य तिरेर विलियम्सलाई अनुबन्ध गर्न तयारी थालेको बताइएको छ। बार्सिलोनाले विलियम्सका एजेन्टसँग छलफल अघि बढाएको बताईन्छ । विलियम्सलाई भित्र्याउन प्रिमियर लिगका केही क्लबहरुले पनि प्रयास गरिरहेका छन्।

युरो कप दौरान बार्सिलोनाका युवा खेलाडी लामिने यामल र विलियम्सको साझेदारी राम्रोसँग जमेको थियो । यो लय र प्रदर्शनबाट लोभिएको बार्सिलोनाले प्रिमियर लिग क्लबलाई पछि पार्दै विलियम्स भित्र्याउन सबैभन्दा अघि सरेको छ । युुरो कप दौरान विलियम्सले शानदार प्रदर्शन गरेका थिए।

स्पेनले इंग्ल्यान्डलाई २–१ ले हराएर चौथो पटक यूरोकप च्याम्पियन बन्दा विलियम्सले पनि एक गोल योगदान गरेका थिए। त्यसैकारण अहिले उनीमाथि धेरैले नजर लगाएका छन्। २२ वर्षका युवा विंगर अनुबन्धका लागि बार्सिलोना सबैभन्दा सजिलो अवस्थामा छ। किनभने, विलियम्सका धेरैजसो साथीहरू बार्सिलोनाबाटै खेल्छन्। लामिने यामल, पेड्रीजस्ता खेलाडीसँग विलियम्सले बार्सिलोनामा सँगै खेल्न सक्नेछन्।