एक टिम भएर अगाडि बढ्न तयार


काठमाडौं ।

नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक टिम भएर अगाडि बढ्न तयार रहेको बताउनुभयो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष समेत रहेका मन्त्री चौधरीको सम्मानमा राखेपले बिहीबार आयोजना गरेको हो।

‘म मन्त्री भएको केही दिन मात्र भएको छ । छोटो अवधिमा पनि मैले खेलकुदलाई कसरी विकास गर्न सकिन्छ । योजनालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा राखेपका सदस्य–सचिव र सरोकारवालासँग बिहानदेखि बेलुकीसम्म छलफल गरिरहेको छु,’ मन्त्री चौधरीले भन्नुभयो– ‘खेलकुदलाई विकासको बाटोमा दोहोर्‍याउन सरोकारवालासँग एक टिम भएर अगाडि बढ्न तयार छु।’

मन्त्री चौधरीले वर्तमान सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले ३ सय दिनमा कीर्तिपुर क्रिकेट मैदानमा आवश्यक पूर्वाधार तयार गर्ने गरेको निर्णयका सम्बन्धमा सदस्य–सचिवसँग छलफल भइरहेको बताउनुभयो ।

मन्त्री चौधरीले १० औं राष्ट्रिय खेलकुदलगायत अन्य विषयमा चाँडै बोर्ड बैठक बसेर टुंग्याउने बताउनुभयो। उहाँले नेपाली खेलाडी मेहनती, लगनशील र संघष गर्न सक्ने भएको बताउँदैं छोटो तयारीबाट खेलाडीबाट ठूलो अपेक्षा गर्न नसकिने बताउनुभयो।

यसैबीच बिहीबारै सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा सदस्य–सचिव टंकलाल घिसिङले खेलकुद मन्त्री चौधरीलाई राखेपको कार्ययोजनाहरु विस्तृत रुपमा पनि प्रस्तुत गरेका थिए।