भुटानमा नेपाललाई ८ स्वर्ण


काठमाडौं ।

नेपालले भुटानको थिम्पुमा आयोजना भइरहेको आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा ८ स्वर्ण जितेको छ। 

प्रतियोगिताको पहिलो दिन बिहीबार सिनियर महिला एकल कातातर्फ एलिसा रास्कोटी मगर, पुरुष एकल कातामा स्वोनिम मानन्धर, महिला २१ वर्षतर्फ सन्जु देशार र पुरुष क्याडेटतर्फ रेहान जावेदले नेपाललाई स्वर्ण दिलाए। एलिसा र स्वोनिमले फाइनलमा भारतका खेलाडीलाई पराजित गरेका थिए ।

त्यसैगरि सन्जुले फाइनलमा भुटानकी खेलाडी र रेहानले भारतकी खेलाडीलाई पराजित गरी नेपाललाई स्वर्ण पदक दिलाए। त्यस्तै, सिनियर महिला र पुरुष टिम काता, जुनियर महिला तथा पुरुष टिम कातामा नेपालले स्वर्ण पदक जितेको छ।

त्यसैगरि जुनियर पुरुष कातातर्फ भने नेपालका अमृत थोकर भारतसँग पराजित हुन पुगे। जुनियरतर्फ महिला एकल कातामा फाइनलमा श्रीलङ्कासँग पराजित भएर रेनिशा रिमालले रजत पदकमा चित्त बुझाइन्।