रघु विष्ट
नेपालको शेयर बजार सन् २०२१ को अगस्टमा उच्च अंकले वृद्धि भई नेप्से बजार पुँजीकरण रु. ४,४६८ अर्ब पुग्यो । सन् २०२४ जुन २४ मा आइपुग्दा घटेर रु. ३,२७६ अर्ब हुन पुग्यो। बजार पुँजीकरणको हिसाबले करिब रु. १,१९२ अर्ब गुम्न पुग्यो । तर यही बीचमा नेपाली शेयर बजारको मुख्य हिस्सा बैंकहरुको बजार पुँजीकरण २०२१ अगस्टमा रु. १६२७ अर्बबाट घटेर २०२४ जुन २४ मा आइपुग्दा रु. ८३९ अर्ब हुन पुग्यो। यो अवधिमा बैंकको बजार पुँजीकरण रकम रु. ७८८ अर्बले घट्यो । यसबाट के प्रस्ट हुन्छ भने, शेयर बजार घट्नुमा मुख्य भूमिका बैंकहरुको शेयर मूल्य घट्नु हो । किनकि नेप्सेले गुमाएको बजार पुँजीकरण रकम रु. १,१९२ अर्बको छ र बैंकले गुमाएको रु. ७८८ अर्ब छ । नेप्सेले गुमाएको बजार पुँजीकरण रकम रु. १,१९२ अर्बमध्ये बैंकहरुको कारणले ६६ प्रतिशत गुम्यो र बैंकबाहेकका अन्य क्षेत्रको कारणले ३४ प्रतिशत गुम्यो ।
बैंकहरुको आय दर घट्दै गएको छ। यसले समग्र अर्थंतन्त्र र पुँजी बजारमा गम्भीर असर पारेको छ । २०८० पुस मसान्तको आधारमा बैंक खोल्नेहरुको लगानी बैंकमा करिब ७०० अर्ब पुगिसकेको छ । कुल लगानी रु. ७०० अर्बलाई नेपालको जनसंख्याले विभाजित गर्दा प्रतिनेपाली लगानी रु. २४,००१ हुन जान्छ । यति ठूलो क्षेत्रको आय घट्दा अन्य क्षेत्रको शेयर मूल्य घट्नमा पनि सहयोग गरेको छ ।
बैंकहरुको औसत आय १३–१४ प्रतिशतबाट ७–८ प्रतिशत आइपुग्दा बैंकहरुले देशको जोखिमयुक्त आयोजनाहरुमा ऋण प्रवाह गर्न घटाउँदै लगेका छन् । यसले निजी क्षेत्रले अगाडि सार्ने जोखिमयुक्त आयोजनाहरुको लागि चाहिने ऋणको व्यवस्था नहुने सम्भावना बढेको छ र देशले तीव्र रफ्तारमा विकास गर्ने सम्भावना घट्दै गइरहेको छ । बैंकहरुको करअघिको आयमा ३० प्रतिशतको दरले कर लाग्छ।
यसबाट सरकारलाई बैंकबाट जति आयकर प्राप्त हुनुपर्ने हो त्योभन्दा आयकर रु. १५ अर्बले कम प्राप्त हुने देखिन्छ । बैंकहरुको आय (रिटर्न अन इक्युटी) ७–८ प्रतिशतमा सीमित हुँदा बैंकहरुका शेयरहोल्डरलाई कति बाँड्ने, कति कोषमा राख्ने ? बैंकहरुले नाफाबाट कोषमा राख्ने रकम कम भएमा ऋणको विस्तार गर्ने दर पनि कम हुन्छ । यसले अर्थतन्त्रको वृद्धिदर कम बनाउँछ ।
सन् २०१५/१६ को मौद्रिक नीतिमार्फत बैंकको शेयर पुँजीलाई ४ गुणा थप्ने नीति आयो । बैंकको नाफा आकर्षक नै भएर शेयरहोल्डरहरुले पुँजी थपे। पछिल्ला मौद्रिक नीतिहरुमार्फत व्याजदर अन्तर ५ प्रतिशतबाट ४ प्रतिशतमा ल्याइयो। आजको मितिमा बैंकहरुको ऋण करिब ४,५०० अर्ब छ। ४,५०० अर्बको १ प्रतिशत घटदा ४५ अर्ब करअघिको आय घट्छ। यसबाट हरेक बैंकको प्रतिवर्ष करपछिको औसत नाफा घट्ने नै भयो। यसको अलावा बैंकहरूले लिने कर्जाको सेवा शुल्क, अग्रिम भुक्तानीलगायत विभिन्न शुल्क आदिमा कटौती गर्दा बैंकहरुको आयमा थप घट्न थाल्यो। थप पुँजीअनुसार व्यापार बढाउन र ग्रामीण क्षेत्रमा पहुँच पुर्याउने नीतिअनुसार बैंकहरुले व्यापकरुपमा शाखा विस्तार गर्दा कर्मचारी र सञ्चालन खर्चमा वृद्धि हुन पुग्यो। बैंकहरुको नाफाको रकम अर्बमा भए पनि कमाइको दर कमजोर हुन पुग्यो । बैंकको नाफा आकर्षक हुन छोड्यो । फलस्वरूप आयदर वि.सं. २०८० चैतको तथ्यांकअनुसार करिब ८ प्रतिशतमा आइपुगेको छ । यसको असर शेयरहोल्डरको आयमा र बैंकको शेयर मूल्यमा पर्न थाल्यो । बैंकको संस्थापक शेयर रु. १०० मा पनि बिक्री हुन छाड्यो ।
भारतको वाणिज्य बैंकहरुको २०२३ को औसत आयदर १२.९३ प्रतिशत छ । डिसेम्बर २०२३ को औसत ऋणको ब्याजदर करिब ९.३२ प्रतिशत छ । सन् २०२३ मा भारतमा वाणिज्य बैंकहरुको आयदर ती बैंकहरुको ऋणमा लिने ब्याजदरभन्दा १.३८ गुना बढी छ । चीनको बैंकहरुको पछिल्लो तथ्यांकअनुसार औसत आयदर ९.४३ प्रतिशत छ । त्यहाँका बैंकहरुले राम्रा ग्राहकलाई ऋणमा लिने ब्याजदर ३.४५ प्रतिशत छ । यसको अर्थ चीनमा वाणिज्य बैंकहरुको आयदर ती बैंकहरुको ऋणमा लिने ब्याजदरभन्दा २.७३ गुना बढी छ । नेपालका बैंकहरुको पुस २०८० को औसत आयदर करिब ८.८ प्रतिशत र बैंकहरुले ऋणमा लिने ब्याजदर ११.१ प्रतिशत छ । नेपालमा उल्टो स्थिति भइसक्यो । बैंकहरुले लिने औसत ऋणको ब्याजदरभन्दा बैंकहरुको औसत नाफा दर कम भयो ।
नेपालमा बैंकहरुको शेयर संख्या थप्ने कार्यमा राष्ट्र बैंक व्यवस्थापन, पत्रपत्रिका, शेयर लगानीकर्ता सबै लागेका छन् । भारतको स्टेट बैंक अफ इन्डियाको शेयर पुँजी नेपाली मूल्यमा करिब रु. १६ अर्ब मात्र छ र निक्षेप नेपाली मूल्यमा रु. ७२,४९९ अर्ब छ । तर हाम्रो ठूलो बैंक ग्लोबल आईएमई बैंकको शेयर पुँजी रु. ३६ अर्ब छ र कुल निक्षेप ४६२ अर्ब छ । स्टेट बैंक अफ इन्डियाको कुल निक्षेप ग्लोबल आईएमई बैंकको भन्दा १५६ गुना बढी छ तर स्टेट बैंक अफ इन्डियाको शेयर पुँजी ग्लोबल आईएमई बैंकको आधाभन्दा पनि कम छ । अब शेयर मूल्य पनि हेरौँ । सन् २०२४ जुन २४ मा भारतीय स्टेट बैंक अफ इन्डियाको नेपाली मूल्यमा रु. १.६० (एक रुपियाँ साठी पैसा) मूल्यको शेयरको बजार मूल्य नेपाली मूल्यमा रु. १,३३३ छ । जबकि नेपालको ठूलो बैंक ग्लोबल आईएमईको मिति २०२४ जुन २४ मा रु. १०० नेपाली मूल्यको शेयरको बजार मूल्य रु. १७५ छ । शेयर पुँजी थप्दै जाने, आयदर घट्दै जाने भएमा नेपाली बैंकको शेयरको मूल्य के होला ?
देशको बैंक नामको गाउँलाई कमजोर बनाएर उद्योग र व्यापार नामको गाउँलाई बलियो बनाउन सकिएला ? रु. ७०० अर्ब पुँजी लगानी गर्नेको आय कमजोर बनाएर देशका उद्योगी र व्यापारीले उत्पादन गरेको वस्तु तथा सेवाको माग बढ्ला ? बैंकको शेयरमा लगानी गर्ने लाखौँ नेपालीलाई वस्तु तथा सेवा किन्न नसक्ने बनाउँदा उद्योगी र व्यापारीको सामान बिक्ला ? बैंकको शेयरमा प्रतिनेपाली औसत शेयर पुँजीमा लगानी नै करिब रु. २४,००१ भएको बैकिङ क्षेत्रलाई कमजोर बनाउँदा अर्थतन्त्रको वस्तु तथा सेवाको मागको स्थिति कस्तो होला ? यी प्रश्नहरुले उत्तर मागिरहेका छन् । बैंकहरुले न्यूनतम कमाउनुपर्ने आयदर (पुँजीको अवसर लागत) भन्दा पनि कम आय आर्जन गर्ने र यसैको कारणले उद्योग, व्यापार क्षेत्रको यदि आय बढ्न गएमा समग्र अर्थतन्त्रमा के फरक पर्दछ त ? यसको मतलब बैंकको लागतमा ऋणीहरुको आय बढेको मात्र हुन्छ । बैंकले लिएको जोखिमको मूल्य खोइ ?
बैंकहरुको आय सुधार्नु नेपालमा राष्ट्रिय बाध्यता बनेको छ । नेपाल राष्ट्र बैंकले हाम्रो अर्थ व्यवस्थाको अवस्था हेरेर बैंकको औसतमा आदर्श नाफा दर कतिभन्दा माथि हुनुपर्दछ, त्यो थाहा पाउनुपर्दछ । यस्तोमा बैंकको औसतमा आदर्श नाफा दर औसत ऋणको ब्याजदर, सेवा शुल्क आदिको लागतभन्दा कम्तीमा ४–५ प्रतिशत माथि हुनुपर्दछ । त्यसो गर्दा राष्ट्र बैंकलाई मौद्रिक नीति बनाउन सजिलो हुन्छ । उद्योगी–व्यापारी ऋणीहरुले पनि बैंकको विरोध गरिरहनुपर्दैन । यसको लागि राष्ट्र बैंकले ब्याजदर अन्तर र बैंकको सेवा शुल्कहरुलाई विश्लेषण गरेर सच्याउनुपर्दछ । उद्योगी, व्यापारी र नीति निर्माताहरुले पनि यसमा साथ दिनुपर्दछ । बैंक प्रवद्र्धनमा भूमिका खेल्नुपर्दछ । सरकारले बैंकको लागि लाग्ने ३० प्रतिशतको उच्च नाफा करको दरलाई अन्य उद्योग व्यवसायसरह २५ प्रतिशत घटाएर पनि बैंकलाई न्याय दिनुपर्दछ । कमजोर नाफा भएको क्षेत्रलाई किन उच्च कर ? नेपालमा बैंकको प्रतिशेयर आम्दानीको सट्टा वित्तीय प्रतिवेदनमा आयदर (रिटर्न अन् इक्युटी) को प्रयोग गर्नुपर्दछ । यसो गर्दा बैंकको आयको दर सबैलाई जानकारी हुन्छ र बैंकको विरोध हुन पनि बन्द हुन्छ । बैंक पनि नाफाको लागि निजी क्षेत्रबाट जोखिम मोलेर खोलिएको सेवा उद्योग हो। यसलाई राष्ट्र बैंक, सरकार, उद्योगी, व्यापारी सबैको सहयोग र समन्वयमा प्रवद्र्धन गरी समग्र राष्ट्रिय हित मजबुत गर्नुपर्दछ।
बैंकले न्याय पाए समग्र बैंकको शेयर पुँजीकरंणमा भएको रु. ७८८ अर्बको नोक्सानी उठ्छ र पुँजीबजारको भलो हुन्छ। लाखौँ लगानीकर्ताको खर्च क्षमता बढ्छ र अर्थतन्त्र चलायमान हुन्छ । त्यस्तै बैंकको शेयर थप्दै गएर बैंकलाई पुँजीको भारले थिच्ने बनाउने कार्यमा बैंकका ठूला लगानीकर्ता, राष्ट्र बैंक, धितोपत्र बोर्डजस्ता निकायले ध्यान दिनुपर्छ । बैंकहरुले पनि निक्षेपको ब्याज दर असन्तुलन हुने गरी बढाउन भने हुँदैन । बैंक देश विकासको लागि जग हो । बैंकबाट आज जनताले कति फाइदा पाइरहेका छन् भन्ने पक्षलाई राष्ट्र बैंक, उद्योगी र व्यापारीले निरन्तर प्रचार गर्नुपर्छ । खास गरी उद्योगी, व्यापारीको प्रभाव ठूलो छ । बैंकप्रतिको सकारात्मक प्रचार गरेर, ऋण तिर्ने अभियान चलाएर बैंकलाई बलियो बनाउन भूमिका खेल्नुपर्छ । बैंकको कमजोर आयदरले नेपालको शेयर बजारको रौनक नै हरायो । त्यसैले यसलाई जोगाउन ढिलो नगरौँ ।
प्रतिक्रिया