सत्तारुढ दलहरू प्रदेश सरकार गठनतिर केन्द्रित

728
Shares

जीवन शर्मा, काठमाडौं ।

संघीय सरकारका मुख्य सहयात्री दलहरू नेपाली कांग्रेस र नेकपा एमाले प्रदेश सरकार गठनमा केन्द्रित हुन थालेका छन्। सत्ता गठबन्धनपूर्ण दुई दलबीच भएको प्रदेश सरकार भागबण्डालाई केन्द्र भागमा राखेर दलहरूबीच प्रदेश सरकार गठनको तयारीमा जुटेका हुन्।

संघीय सरकारको गठबन्धन फेरिनासाथ प्रदेशमा पनि सरकार फेरिने विषय संघीयताको मर्मविपरीत भए पनि संघीय सत्ता गठबन्धनले सरकार बनाउने परम्पराले निरन्तरता पाएको हो।

गत असार १७ मा भएको संसद्का दुई ठूला दल कांग्रेस–एमालेबीच भएको सहमतिअनुसार संघीय सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरिसकेका छन्। सोही सरकारमा कांग्रेस, अशोक राई नेतृत्वको जसपा र महन्त ठाकुर नेतृत्वको लोसपा सरकारमा सहभागी छन् । प्रदेशमा पनि यिनै दलहरूबीच गठबन्धनमा सरकार बन्ने पक्का भएको छ । शीर्ष दलले सात बुँदामा सहमति गरेको दस्तावेजको मस्यौदा भने अझै सार्वजनिक गरेका छैनन् ।

तर, शीर्ष नेताको सहमतिमा शुरूको दुई वर्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्नेछ । दोस्रो चरणमा कांग्रेस सभापति देउवा नेतृत्वको सरकारले नै २०८४ को चुनाव गराउने भन्ने रहेको नेताहरूले दाबी गरेका छन् । त्यस्तै, एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व पाउनेछ भने कांग्रेसले वागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व पाउने सहमति भएको नेपाली कांग्रेसका एक पदाधिकारीले नेपाल समाचारपत्रलाई बताए।

‘दुई दलबीच भएको उक्त सहमति कार्यान्वयनको चरणमा छ’, ती पदाधिकारीले भने– ‘केन्द्रमा यो सहमति कार्यान्वयन भइसकेको छ अब हामी सोहीअनुसार प्रदेश सरकार बनाउने तयारीमा छौं । दुई ठूला दलबीच भएको राजनीतिक सहमतिले राजनीतिक स्थिरतासँगै मुलुकमा सुशासन, विकास र समृद्धिको बाटो तय सकिन्छ।’

दलबीच भएको प्रदेश भागबण्डालाई कार्यान्वयन गर्ने चरणमा रहेको नेताहरूले दाबी गरेका छन् । सोहीअनुसार बिहीबार मधेस प्रदेश सरकारलाई नेपाली कांग्रेसले समर्थन गर्दै सरकारमा सहभागी भएको छ। कांग्रेसले अर्थसहित चार मन्त्रालय लिएर सरकारमा सहभागी भएको कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिनुभयो।

कांग्रेसका जनार्दनसिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी, सुनिलकुमार यादव अर्थ, शेषनारायण यादव ऊर्जा, सिँचाइ तथा खानेपानी र कौशलकिशोर राय श्रम तथा यातायात मन्त्री बनेका छन्। संघमा कांग्रेस र एमालेबीच सत्ता गठबन्धन बनिरहँदा मधेसमा जनमतलाई दिने सहमति भएको थियो।

त्यसैअनुसार कांग्रेसले जनमत पार्टीका मुख्यमन्त्री सतिश सिंहलाई विश्वासको मत दिएको थियो। एमालेले पनि सिंहलाई नै समर्थन गरेको छ। मधेस प्रदेशको सरकारले पूर्णता पाएपश्चात् बाँकी ६ वटा प्रदेशमा कांग्रेस एमालेबीच सहमतिमा सरकार बन्ने र केही वर्ष दिगो सत्ता सहयात्रा हुने प्रदेशका नेताहरूले समेत विश्वास व्यक्त गरेका छन् ।

अहिले सबै प्रदेशमा अल्पमतको सरकारले काम गर्दै आएको छ। एमालेले नेतृत्व गरेका र उसको भागमा परेका प्रदेश सरकारमा कांग्रेसले विश्वासको मतसहित सहभागी हुने र कांग्रेसको भागमा परेका तीनवटा प्रदेशमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको तयारी भइरहेको नेकपा एमालेका केन्द्रीय सदस्य विशाल भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने, सोही दिन विश्वासको मत लिएपछि प्रदेश सरकार गठनको प्रक्रियालाई अघि बढाउने गृहकार्य भइरहेको छ।