सिग्देलको जन्ममितिमा कुनै कैफियत नभएको सेनाको स्पष्टोक्ति

308
Shares

काठमाडौं ।

भाबी प्रधानसेनापतिका रूपमा हेरिएका रथी अशोकराज सिग्देलको जन्ममितिमा कुनै कैफियत नभएको नेपाली सेनाले प्रस्ट पारेको छ।

प्रधानसेनापतिका रूपमा हेरिएका रथी सिग्देलका बारेमा पछिल्लो समय किर्ते गरेर नागरिकता लिएको र उमेर हदका कारण अहिले नै अवकास पाउनुपर्ने भन्दै विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए। रथी सिग्देलको विषयमा आएको समाचारमा सत्यता नरहेको नेपाली सेनाले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिनुभयो ।

उहाँले रथी सिग्देल २०४० साल साउन २९ पहिलो नागरिकता लिँदा उमेर १७ वर्ष उल्लेख गरेर लिएको र २०५८ साल जेठ ८ गते जाजरकोट जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि लिँदा शुरूमा लिएको नागरिकतासँग कुनै फरक नपरेको जानकारी दिनुभयो ।

रथी सिग्देलको नागरिकताको विषयमा २०८० साल मंसिरमा उहाँको बढुवाका लागि फाइल उठाउने क्रममा नै उक्त मुद्दाको छिनोफोनो गरेकोमा अहिले आएर उहाँको नागरिकताको विषयमा प्रश्न उठाइनुले नेपाली सेनामाथि अनर्गल प्रचार गर्न खोजिएको प्रवक्ता केसीले जानकारी दिनुभयो ।

उहाँले लिएको नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरक परेको छैन। २०४० सालमा नागरिकता लिने बेलामा जन्ममिति उल्लेख नहुने र वर्ष मात्रै उल्लेख हुने भएकाले नेपालको कानुनले जुन प्रमाणपत्रमा जन्ममिति उल्लेख छ त्यही जन्ममितिलाई आधार बनाएर सबै प्रमाणपत्रमा एकरूपता गर्नु भन्ने उल्लेख भएकाले सोहीअनुरूप नागरिकता र प्रमाणपत्रमा उमेर कायम भएको जानकारी दिनुभयो ।

भूराजनीतिक हिसाबले नेपाल विश्वमा नै उच्च प्राथमितामा रहेको र नेपालले आफूमाथि आइपर्ने सुरक्षा चुनौतीको सामना गर्न मुलुक सक्षम रहेको सेनाले दाबी गरेको छ। नेपाली सेनाले यही सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विगत एक वर्षमा देशभर ४९ हजार ३ सय ५३ वटा सैनिक गस्ती गरेको नेपाली सेनाको युद्धकार्य निर्देशक सहायक रथी रमीन्द्र खत्रीले जानकारी दिनुभयो । उहाँले नेपाली सेना सधैं तयारी अवस्थामा रहने भएकाले जस्तोसुकै सुरक्षा चुनौती आए पनि त्यसलाई सामना गरेर अघि बढ्ने सामथ्र्य रहेको जानकारी दिनुभयो ।

नेपाली सेनाले एक वर्षभित्र गरेको कामका बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाको कल्याणकारी कोषमा ८२ अर्ब ८८ करोड ७४ लाख रहेको र सो कोषबाट १० लाख वहालवाला तथा पूर्व सैनिक र उनीहरूका परिवार लाभान्वित भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

त्यस्तै, विश्व शान्ति अभियानमा नेपालको ठूलो योदान रहेको भन्दै शान्ति कार्य निर्देशनालयका निर्देशक सहायक रथी प्रेमबहादुर पुनले १४ डिसेम्बर १९५५बाट नेपालले संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति सैनिक खटाएकोमा हालसम्म १ लाख ५२ हजार ८ सय १८ शान्ति सैनिकले सेवा गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘द्वन्द्वग्रस्त मुलुकमा शान्ति सैनिक खटाउने राष्ट्रमा नेपाल पहिलो रहेको र हाल नेपालको तर्फबाट विश्वका ११ वटा मिसनमा ६ हजार १ सय ३९ शान्ति सैनिक कार्यरत रहेका छन्।’

शान्ति स्थापनाका लागि विभिन्न मुलुकमा खटिने क्रममा ७३ जना शान्ति सैनिकले वीरगति प्राप्त गरेका छन् भने ६८ जना घाइते भएको पनि सहायक रथी गुरुङले जानकारी दिनुभयो।