यस वर्ष २१ सय निजामती कर्मचारी सेवाबाट बाहिरिँदै

784
Shares

गत वर्ष बाहिरिएका थिए २२ सय जना
–हालसम्म अवकाश हुनेको संख्या ६० हजार

काठमाडौं ।

चालू आर्थिक वर्ष २०८१/८२ मा निजामती क्षेत्रका विभिन्न तहमा रहेर ३० वर्षभन्दा बढी सेवा दिँदै आइरहेका २ हजार १ सय कर्मचारी सेवानिवृत्त हुने भएका छन् ।

राष्ट्रिय किताबखानाले किताबखानामा दर्ता भएका कर्मचारीको अनिवार्य अवकाश संख्या सम्बन्धमा तयार पारेको अनुमानित विवरणमा यस वर्ष २ हजार १ सय कर्मचारी अनिवार्य अवकाशमा जान लागेको देखिएको हो। राष्ट्रिय किताबखानाले त्यससम्बन्धी विवरण शुक्रबार आफ्नो वेभसाइटमार्फत् सार्वजनिक गर्ने तयारी गरेको छ।

‘यस वर्ष २१ सय कर्मचारीले अनिवार्य अवकाश पाउनुहुनेछ, त्यससम्बन्धी विवरण शुक्रबार वेभसाइटमार्फत् सार्वजनिक गर्नेछौं’ –राष्ट्रिय किताबखानाका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने । उनले अनिवार्य अवकाशमा जानेमा सबैभन्दा बढी श्रेणीविहीन कर्मचारी रहेको बताए।

यसै गरी विभिन्न सेवा र तहका कर्मचारी कुनै न कुनै संख्यामा बाहिरिने उनले बताए। राष्ट्रिय किताबखानाका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा अवकाशमा गएका कर्मचारीको संख्या २ हजार २ सय थियो। चालु आवमा भने अनिवार्य अवकाशमा जानेहरूको संख्या केही घटेको किताबखानाले जनाएको छ।

किताबखानाका अनुसार निजामती सेवाबाट बाहिरीनेहरूले ३० देखि ३३ वर्षसम्म जागिर खाएका छन्। पहिला पहिला बाहिरिनेहरूले झण्डै ४० वर्षसम्ममा नै जागिर खाने गरेका थिए। पछिल्ला समयमा निजामती सेवामा प्रवेश उमेर बढेकाले पनि जागिर खानेहरूले समय केही घटेको हो।

किताबखानाका अनुसार शुरूका वर्षहरूमा निजामती सेवामा प्रवेश गर्नेहरूको उमेर १७–१८ वर्षको हुने गरेको थियो भने पछिल्ला वर्षहरूमा भने निजामती सेवामा प्रवेश गर्नेहरूको उमेर २२–२३ वर्षको हुने गरेको छ।

राष्ट्रिय किताबखानाका अनुसार निजामती सेवाबाट अनिवार्य अवकाश पाउने हालसम्मको संख्या ६० हजार रहेको छ। हाल निजामती सेवामा ८५ हजार कर्मचारी रहेका छन्।