बुटवल बसपार्कमा बन्यो स्नानगृह, शौचालयको फोहोरबाट बायोग्यास उत्पादन गरिने


बुटवल ।

बुटवलको नयाँ बसपार्कमा सुविधासम्पन्न स्नानगृह सञ्चालनमा आएको छ । नयाँ बसपार्कलाई सुविधा सम्पन्न बनाउने बुटवल उपमहानगरपालिकाको योजनाअनुसार पहिलो चरणमा सुविधा सम्पन्न बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा आएको हो। स्नानगृहको बिहिबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे ।

उनले नयाँ बसपार्कलाई व्यवस्थित र सुविधासम्पन्न बनाउने उद्देश्यका साथ सुविधा सम्पन्न स्नानगृह सञ्चालनमा ल्याएको बताए । उनले बसपार्कमा हाइमास्ट लाइट, क्यान्टिन, चार्जिङ स्टेशन, कोशेली घर र बहुतले पार्किङ भवन निर्माण हुने बताए।

हाइमास्ट लाइट जडान भइसकेर परीक्षणको क्रममा रहेको छ । विद्युतीय गाडीहरुको चार्जिङ स्टेशन सञ्चालनमा आएका छ ।क्यान्टिन अब छिटै सञ्चालन हुनेछ भने कोशेली भवन र पार्किङ भवन निर्माणका लागि प्रक्रिया अघि बढिसकेको प्रमुख पाण्डेयले बताउनु भयो ।

बसपार्क सुरक्षित र सुविधासम्पन्न हुनुपर्ने भन्दै त्यसअनुसारका सुविधाहरु थप गर्दै लगेको बताउनु भयो । बसपार्कको सरसफाइ गर्ने र खाल्डाखुल्डी पुर्ने कामलाई हामीले छिटै नै अगाडि बढाउँछौं । कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले बसपार्क सुधार गर्ने बुटवल उपमहानगरपालिकाको अभियान राम्रो भएको बताउनु भयो । उहाँले बसपार्कलाई व्यवस्थित बनाउनका लागि आफुहरुको साथ रहने बताउनु भयो ।

बसपार्कमा निर्माण भएको स्नानघरमा ११ वटा शौचालय, १७ वटा युरिनल, ४ वटा बाथरुम २ वटा बालमैत्री, २ वटा अपांगमैत्री शौचालय रहेका छन्। स्नानगृहमा मौसमअनुसार चिसोतातोपानीका लागि सोलार प्यानल जडान गरिएको र शौचालयको फोहोरबाट बायोग्यास उत्पादन गरी स्नानगृहको उपयोगमा ल्याउने गरी व्यवस्था मिलाइएको बुटवल उपमहानगरपालिकाका इन्जिनियर रुक्मागत बस्यालले जानकारी दिनु भयो ।