खोलाले बगाएर दुई महिलाको ज्यान गयो



उदयपुर ।

उदयपुरमा अत्यधिक वर्षापछि नदीमा पानीको मात्रा बढ्नुका साथै पानीको प्रवाहमा शक्ति थपिएपछि तीन दिनको विचमा खोलाले बगाएर दुई जनाको ज्यान गएको छ ।

उदयुरको त्रियुगा नगरपालिका २ खैजनपुरकी ५० वर्षकी बेतनी सदालाई त्रियुगा नदी बगाएर चौदण्डीगढी ५ सिवाईमा निजको लास फेला परेको थियो । तीनदिन अघि सदा बेपत्ता भएकी थिइन । चौदण्डीगढी ५ सिवाई स्थित त्रियुगा नदीमा लास बेवारिसे अवस्थामा फेला परेको थियो ।

पछि सबैतिर सूचना गरी बेवारिसे लास त्रियुगा नपा -२ खैजनपुरकी बेतनीदेवी सदाको रहेको उनको छोरा २५ वर्षका सम्शेर सदाले आफ्नी आमाको लास पहिचान गरेपछि पोष्ट मार्टम पछि परिवारको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसरी नै मंगलबार उदयपुरको तापली गाउँपालिकाको वडा न १ मादलेकी ७१ वर्षिया पूर्णमाया राईलाई यारी खोलाले जेष्ठ नागरिक भत्ता लिन गएका समयमा खोला तर्दा बगाएको थियो । इलाका प्रहरी कार्यालय कटारीले दिएको जानकारी अनुसार सोमबार पूर्णमाया राई जेष्ठनागरिक भत्तालिन जाने क्रममा यारी खोलामा आएको बाढीले बगाउँदा उनको ज्यान गएको र पोष्ट मार्टमकालागि कटारी अस्पतालमा ल्याइएकोमा पोष्टमार्टमपछि लास आफन्तलाई बुझाइएको छ ।

ताप्ली गाउँपालिका वडा नं १ का वडाध्यक्ष उद्धव हमालले दिएको जानकारी अनुसार मृतक राई भत्तालिन पालिका केन्द्र रहेको वडा नं ५ स्थित रुपाटार बैंकमा जाँदै गरेको अवस्थामा नदी तर्ने क्रममा बाढी बढेकोले बगाएको थियो ।